site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
राउटेको नालीबेली : होइनन् ठकुरी !

काठमाडौं । जंगलबाट बस्तीमा बसेका राउटेको संख्या बढिसकेको छ एकातिर । जंगलमै छन् अर्कोतिर । फिरन्ते जीवनयापन राउटेको पहिचान हो । राउटे सबै घुमन्ते छन् भनेर बुझ्नु पनि गलत हो ।

देशका दुई भूक्षेत्रका राउटेबीच स्पष्ट भिन्नता छ । अर्थात्, व्यवस्थित बसोबासमा छन् केही, घुमीफिरीमै रमाइरहेका छन् कोही । त्यसो भए यी दुई राउटे अलग–अलग हुन् ? जानकार भन्छन्– होइनन् ।

नेपालको अन्तिम घुमन्ते समुदाय । बद्लिँदै छन् राउटे । बदल्ने प्रयास भइरहेको छ भन्न पनि सकिन्छ । त्यो भनेको उनीहरूमाथि अरू समुदाय हाबी हुँदै जानु हो । यसका पनि सबल र दुर्बल पक्ष औँल्याउँछन् जानकार ।

सबल पक्ष यो हो, घुमन्ते राउटेले पनि वैज्ञानिक पद्धतिको औषधि उपचार गराउन थालेका छन् । स्वास्थ्य संस्थामा जान्छन् । अप्ठ्यारो पर्दा अरू समुदायको मद्दत चाहन्छन् । उनीहरूको स्वभावमा यो देखिने परिवर्तन भएको राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का बताउँछिन् । ०६२ सालयता उनले राउटेलाई नजिकबाट नियालेकी छन् ।

“०६२ सालदेखि मैले भान्जी भएर (राउटेले उनलाई भान्जी भन्छन्) काम गरेँ राउटेहरूसँग । राउटेहरूलाई पूरा जिउभरि लुगा लगाउन सिकाउने, जुत्ता लगाउन सिकाउने यस्तो गर्दै ०६८ सालसम्म म व्यक्तिगत भान्जी भएर काम गरेँ,” उनले भनिन् ।

०६८ सालदेखि भने संस्था खोलेर राउटेका पक्षमा काम गरिरहेकी छन् ।

राउटेका विषयमा खड्कासित गरिएको कुराकानीको भिडियो हेर्नोस्–

पछिल्लो समय उनीहरूले सरसफाइमा ध्यान दिन थालेका कर्णाली प्रदेशमा राउटे समुदायलक्षित कार्यक्रम गरिरहेको गैरसरकारी संस्था (एनजीओ) सोसेक नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख हीरासिंह थापा बताउँछन् । सोसेक नेपालले ६ वर्ष भयो राउटेका क्षेत्रमा काम गर्न थालेको ।

“पहिला वर्षको एकपटक माघे संक्रान्तिका बेला मात्रै नुहाउने राउटेहरू अब प्रायजसो सरसफाइका कुरा गर्छन्, नुहाउँछन्,” उनले भने, “खाना खानुभन्दा अगाडि हात धुन्छन् । २५ जना बालबालिकाहरू लेख्ने भ’का छन् ।”

रोगव्याध लाग्दा उपचार गराउनु अरूका निम्ति सामान्य हो । राउटे समुदायमा यो पनि ठूलो परिवर्तन हुँदै गएको देख्नेहरू बताउँछन् । “पहिला औषधि लिन्थेनन्, अब हाम्रो अहेब त्यहाँ हुनुहुन्छ, उहाँसँग औषधि माग्छन् । परिवर्तन आ’को छ,” थापाले भने ।

उनीहरूबारे गहिरो अध्ययन गरेका प्रा. डा. नन्दबहादुर सिंहले राउटे समुदायमा सामाजिक–सांस्कृतिक रूपान्तरण भएको देखेका छन् । “केही त राम्रो छ, केही त विकृति छ,” उनले भने ।

परिवर्तनमै विकृति पनि छ । यसरी विकृति मौलाउनुमा बाह्य मानिसको अस्वाभाविक चलखेललाई उनी मुख्य कारण मान्छन् । “पैसा दिएर जाँडरक्सी खुवाएर, हुँदा नहुँदा काम गरेर, पैसा खाने राउटेका नाममा यस्ता धेरै विकृति भा’छन्,” उनले भने ।

राउटेका संस्कृति बचाएर व्यवस्थित गरिनुपर्नेमा उनी जोड दिन्छन् । “परिवर्तन गर्ने नाउँमा संस्कृति ध्वस्त गर्नु त राम्रो हुँदैन,” उनी सचेत गराउँछन् । हाल त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् ।

मध्यमपश्चिम विश्वविद्यालयका उपप्राध्यापक ललितजंग शाहीले पनि राउटेको जीवनशैली विस्तारै परिवर्तन हुन थालेको बताए । “पहिला एक्सचेन्जमा बढी जीपिकोपार्जन हुन्थ्यो । उहाँहरूले केही भाँडाकुँडाहरू बनाएर लेराउने, लेराएर समुदायमा बेच्ने र त्यसको साटो खाद्यान्न लिएर जाने प्रवृत्तिहरू थियो,” उनले भने, “अब विस्तारै क्यास (नगद)हरू माग्ने कुराहरूमा परिवर्तन भएको पाइन्छ ।”

दुई भूखण्ड– कर्णाली र सुदूरपश्चिम प्रदेशमा राउटे छन् । कर्णाली नदीवारिका राउटे विभिन्न जंगल वा त्यस आसपास घुमफिर गर्दै बस्छन् । कर्णालीपारिका अधिकांश राउटे व्यवस्थित बसोबासमा छन् ।

कर्णालीका राउटेमा अरू व्यक्तिहरूले विकृति बढाइरहेको नेपाल राउटे विकास संघका अध्यक्ष दानसिंह राउटेको पनि बुझाइ छ । “सुर्खेत (कर्णाली प्रदेश)मा कस्तो छ भने, रक्सी खुवाएर, त्यस्तो गरेर त्यहाँको जनसंख्या घटिरा’छ,” उनले भने, “धेरै ठूलो समस्या छ त्यहाँ त ।”

दानसिंह डडेलधुरामा व्यवस्थित बसोबासमा रहेका राउटे समुदायकै व्यक्ति हुन् । उनले कर्णालीको राउटे बस्तीमा प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत दुई साल नोकरी गरे । “०७६ र ०७७ । कोरोनाको बेला म त्यहीँ थिएँ,” उनले भने ।

आफूले त्यहाँ बढी समस्या देखेको उनी सुनाउँछन् । राउटे समुदायको अवस्थाप्रति उनी चिन्तित पनि सुनिन्छन् । “कहिले नाच्न लैजाने, कहिले सुटिङका लागि लाने,” उनले भने, “रक्सी बाँड्ने, चुरोट दिने, अलिअलि चामलसामल दिने ।”

राउटे विकास संघ जातीय संस्था हो । ०६२ सालमा दर्ता भएको यसले समुदायको भाषा–संस्कृतिको उत्थान र महिलाको पेसा संरक्षणका निम्ति काम गर्ने उनले जानकारी दिए ।

“राउटे समुदायमा एकल महिलाहरू १६ जना भएको पाइएको छ । पछिल्लो वर्षमा उनीहरूको जनसंख्या घट्दै गएको अध्ययनबाट देखिएको छ,” राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘राउटेको मानवअधिकार अवस्था अध्ययन प्रतिवेदन, २०८१’ मा उल्लेख छ ।

कर्णाली र सुदूरपश्चिमका राउटेमा के फरक छ ?

पहिलो त उनीहरूको बसोबासमै फरकपन छ । सुदूरपश्चिमका राउटे व्यवस्थित घरमा बस्छन् । कर्णालीका राउटे दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ, सल्यान, कालीकोटलगायत जिल्लाका जंगलछेउ, पहाडको खोच, टाकुरा र नदी किनारमा बसाइँ सर्दै बस्ने खड्का बताउँछिन् । यीमध्ये अछाम सुदूरपश्चिम र दाङ लुम्बिनी प्रदेशमा पर्छ । अछाम र दाङका सीमासम्म राउटे पुग्ने गरेका उनको भनाइ छ ।

सुदूरपश्चिमका राउटे विद्यालय जान थालेका छन् । अलिअलि पढिसकेका छन् । दानसिंहले स्नातकसम्म पढे । राउटे समुदायबाट एसएलसी उत्तीर्ण गर्ने आफू पहिलो व्यक्ति भएको उनी सुनाउँछन् ।

उनका अनुसार, सुदूरपश्चिमका राउटेका नागरिकता छ । बैंक खाता, मतदाता नामावलीमा नाम छ । तिनले मतदान गरेका छन् । “नागरिकता छ । जन्मदर्ता पनि गर्ने गर्‍या छ । विवाह दर्ता सबै गरिरा’छ,” उनले भने, “हाम्रो यहाँबाट ३०० जति भोट जान्छ ।” सरकारी सेवा (सुरक्षा निकाय)मा पनि कार्यरत छन् केही राउटे ।

यसको ठिकविपरीत कर्णालीका राउटेको जन्मदर्ता, नागरिकता समेत छैन । उनीहरू बनाउनै मान्दैनन् । औपचारिक शिक्षा स्वीकार गर्दैनन् । एक ठाउँमा बस्दैनन् । दैलेखको गुराँस गाउँपालिकाले दिएको राउटे परिचयपत्र भने छ ।

“तपाईं कोटको राजा, म बोटको राजा भन्छन् । म बिरुवाको राजा, म जंगलमा बस्छु, रुखबिरुवा काटेर मेरो जीवन चल्छ, त्यसकारण म बोटको राजा हुँ, शिक्षा लिन्नौँ हामी भन्छन्,” प्रा. डा. सिंहले राउटेका भनाइ उद्धृत गरे ।

कर्णाली प्रदेश सरकारले राउटेलाई घर बनाइदिने पहल गरे पनि उनीहरूले नमानेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली बताउँछिन् ।

प्रदेश सरकारले राउटेसँग यसबारे धैरैपटक छलफल गरेको उनको भनाइ छ ।

“मान्नुहुन्छ भने तपाईंहरूका लागि घर बनाइदिन्छौँ भनेर कुराकानी पनि गरेको उहाँहरू– हामी बस्दैनौँ, एक ठाउँमा बस्न सक्दैनौँ, हामी एक ठाउँमा बस्ने जाति होइन भन्ने कुराहरू गर्नुहुन्छ,” उनले भनिन् ।

कर्णालीका राउटेलाई पढाउन भने खोजिँदै छ । विद्यालय त उनीहरू जाँदैनन् । “त्यहीँ नजिक राखेर अनौपचारिक रूपमा, ल्यापटपहरू छन्, ल्यापटपहरूबाट कहिलेकाहीँ गीतहरू यस्तोबाट पढाउने काम गर्नुहुन्छ भने कहिलेकाहीँ अरू तरिकाले पढाउनुहुन्छ,” सोसेक नेपालका कार्यकारी प्रमुख थापाले भने ।

सुर्खेतबाट ल्याएर गएको माघ २४ गते काठमाडौंमा एउटा कार्यक्रममा उपस्थित गराइएका दीपक शाही (राउटे)ले आफूहरूलाई मुखिया (समूहका मुख्य व्यक्ति)ले विद्यालय जान नदिने बताए । “हामीलाई मुखियाले स्कुल जान दिँदैन, तर पनि क ख ग घ हामीले पढेका छौँ,” उनले भने, “नाम लेख्न आउन थालेको छ ।” उनी मुखियाकै छोरो हुन् ।

स्थानीय पालिकाका जनप्रतिनिधिसहित अरू सरोकारवाला पनि कर्णालीका राउटे अझै व्यवस्थित रूपमा बस्न राजी नभएको बताउँछन् । “पहिलेभन्दा अलिकति घुलमिल हुन्छन्, तर खासै छैन,” थापाले भने, “आफ्नै समुदायमा छन्, बाहिरसँग कमै छ ।”

राउटे परिचयपत्र

राउटेलाई ०७५ साल असार ३० गतेदेखि परिचयपत्र दिन थालिएको हो । उनीहरू बसाइँ सर्दै बस्ने गरे पनि दैलेखको गुराँस गाउँपालिका–८ का बासिन्दा मानेर परिचयपत्र दिइएको महाशाखा प्रमुख ज्ञवालीले बताइन् । किनभने, परिचयपत्र प्रदान गर्ने समयमा उनीहरू त्यहाँ बसेका थिए ।

“०७५ साल असार ३० गते गुराँस गाउँपालिकाको वडा नम्बर–८ बाट परिचयपत्र प्राप्त गरिसकेपछि उहाँहरू दैलेख जिल्लाको गुराँस गाउँपालिकाको नागरिक हुनुभयो,” उनले भनिन्, “त्यति बेला हामीले १५१ जनालाई परिचयपत्र दिएका थियौँ ।”

प्रदेशको सामाजिक विकास मन्त्रालय र गुराँस गाउँपालिकाको संयुक्त समन्वय र पहलमा ‘निकै लामो मिहिनेतपछि’ राउटे परिचयपत्र प्रदान गरिएको उनले जानकारी दिइन् । “उहाँहरू (राउटे)लाई एकदम सहमत गराएर,” उनले भनिन् । राउटेको वास्तविक विवरण राख्न परिचयपत्र प्रदान गरिएको उनले स्पष्ट पारिन् ।

जन्मिनेबित्तिकै राउटेलाई परिचयपत्र प्रदान गर्ने गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । गाउँपालिकाको रेकर्डमा कर्णालीमा हाल १३५ राउटे छन् । “हामीले आफ्नो रेकर्ड व्यवस्थापन गरेर उहाँहरूको सबै पञ्जीकरणकै मोडेलमा कामहरू राखेका छौँ । जन्म, मृत्यु, सराइ, रेकर्ड आदि,” उनले भने ।

आफ्नो र बुवाको नाम, उमेर, जन्ममिति आदि खुलाएर परिचयपत्र दिने गरिएको छ । “मोटामोटी नागरिकतामा जे कुराहरू हुन्छ, त्यो कुराहरू हाम्रो पालिकाबाट प्रमाणीकरण गरेर परिचयपत्र दिन्छौँ,” उनले भने ।

अर्को ठाउँमा बस्न गएको अवस्थामा के हुन्छ ? जहाँ गए पनि जन्म भएपछि रेकर्ड दर्ता गुराँस गाउँपालिकामै हुन्छ । त्यहीँबाट परिचयपत्र प्रदान गरिन्छ ।

“बसाइँसराइ त उहाँहरूको व्यक्तिगत हुँदैन, समूहगत हुन्छ । कुन ठाउँमा जानुहुन्छ त्यसको सबै हामीले रेकर्ड राख्छौँ फोटोहरूसहित,” बिसीले भने, “उहाँहरूको फ्रिंगर प्रिन्ट, उहाँहरूको पुस्ता पनि के कसो छ, सम्भव भएसम्म त्यो पनि राख्दिने गरेको छ ।”

परिचयपत्र र राउटेको रहनसहनका विषयमा अध्यक्ष बिसीको भनाइ (अडियो) सुन्नोस्–

समानता के छ, कर्णाली र सुदूरपश्चिमका राउटे अलग कसरी होइनन् ?

जानकारको सरल जवाफ छ– भाषा एउटै छ, खाम्ची । मूल पनि फरक होइन ।

प्रा. डा. सिंह जति पनि राउटे छन्, उनीहरू सबैको मूल एउटै भएको बताउँछन् । “नेपालमा बसेका वि.सं. १९७८ भन्दा अगाडिसम्म उनीहरू एउटै ग्रुपमा भएको देखिन्छ । पछि एउटा समूहलाई जोगबुढा भ्याली (डडेलधुरा)मा व्यवस्थित तरिकाले बसालियो । एउटा सानो समूहले त्यो व्यवस्थापन मन नपराएको र त्यहाँ जान छोडेको जस्तो देखिन्छ,” सिंहले भने ।

उनको भनाइमा सहमति जनाउँछन्, दानसिंह राउटे । “पहिले एउटै रहेछ । एउटा ग्रुप उहाँहरू (घुमन्ते) कर्णाली नदीदेखि उतातिर (कर्णाली प्रदेश) जानुभयो, एउटा ग्रुप कर्णाली नदीदेखि यता (सुदूरपश्चिम) आउनुभयो,” उनले भने, “यताका इन्डियातिर पनि बस्छन् ।”

कर्णालीका राउटे र आफूहरू (सुदूरपश्चिमका)बीच भाषा पनि मिल्ने उनले बताए । “समुदाय एउटै हो । भाषा एउटै हो हाम्रो,” उनले भने, “मूलहरू पूरै सबै एउटै भयो । १४औँ पुस्तामा पर्‍यौँ हामी त ।”

नेपालमा आफूले ६ ठाउँमा राउटे भेट्टाएको प्रा. डा. सिंह बताउँछन् । उनीहरू सबैको मातृभाषा खाम्ची हो । “बाँदरको सिकार गर्छन्, अरू हन्टिङ गर्दैनन्,” उनले भने ।

आफूहरूले पनि बेलामौकामा बाँदरको सिकार गरिरहेको दानसिंह सुनाउँछन् । “उहाँहरू (कर्णालीका राउटे) बाँदरको सिकार पनि गरिरहनुभा’छ,” उनले भने, “मूलको पानी खानुहुन्छ । हाम्रो पनि त्यही हो ।”

काठमाडौंमा कार्यक्रममा उपस्थित गराइँदा राउटे दीपक शाहीले भनेका थिए, “मासु मिठो त बाँदरकै हुन्छ ।” बाँदरको सिकार उनीहरूले पनि पहिलेजस्तो धेरै गर्न छोडिसके ।

दुवैतिरका राउटे अझै रुख काट्छन्, काठका सामग्री बनाउँछन् । “जंगलमा रुखहरू काट्ने हाम्रो अधिकार हो, काट्न दिनुपर्छ भन्छन्,” प्रा. डा. सिंहले भने, “साना रुख काट्दैनन्, ठूला रुख काट्छन् ।” यसलाई उनी सानालाई माया गर्नुपर्छ भन्ने चेत राउटेमा रहेको रूपमा अर्थ्याउँछन् ।

कर्णालीभन्दा सुदूरपश्चिमका राउटेले काठका सामग्री धेरै बनाउने दानसिंह जिकिर गर्छन् । राउटेको संख्या पनि कर्णालीभन्दा सुदूरपश्चिममा धेरै छ ।

“सामानहरू बनाएर बेच्ने प्रथा त्यहाँभन्दा यहाँ (सुदूरपश्चिम) ज्यादा छ,” उनले भने, “हाम्रोचाहिँ सेटलमेन्ट भएर यो ठाउँमा थायी (स्थायी) भएर बसिरा’छ । भाषाहरू त्यही छ, हाम्रोचाहिँ कपडा मात्रै चेन्ज भएको छ ।” भाषा एउटै भए पनि स्थानीय ठाउँअनुसार ‘टोन’ फरक पर्न सक्ने उनले बताए ।

भारतमा पनि राउटे, कहाँ कति छन् ?

राउटे नेपालमा मात्र छैनन्, भारतमा पनि छन् । प्रा. डा. सिंहले आफ्नो अध्ययनका क्रममा नेपालमा ६ र भारतमा ११ स्थानमा गरेर १७ ठाउँमा राउटे जाति भेटेका छन् । उनले भेटेका नेपालका ६ मध्ये पाँच स्थायी बसोबास र एक फिरन्ते समुदायका राउटे हुन् । “महाकाली नदीभन्दा पारि धार्चुला, इन्डियामा उनीहरू (राउटे)लाई रजवार भन्छन्,” उनले भने ।

मानव सभ्यता विकासको चरणमा राउटे समुदायको पनि उपस्थिति देखिने उनी बताउँछन् । “९०० देखि एक हजार वर्ष हाराहारीबीचमा राउटे जंगलमै भएको देखिन्छ,” सिंहले भने, “हिजो हामी जंगलमै थियौँ । विस्तारै विकास भएको हो । तीमध्ये एउटा जाति राउटे जंगलमै छ ।” अर्थात्, त्यो बेलादेखि उनीहरूको अस्थित्व कायम देखिन्छ ।

नेपालमा भन्दा भारतमा राउटेको बस्ती ठूलो रहेको भन्ने सिंहको भनाइमा दानसिंह सहमत छन् । “डक्टर नन्दबहादुर सर (नन्दबहादुर सिंह)लाई पनि थाहा छ, यहाँभन्दा ठूलो बस्ती इन्डिया (भारत)मा छ, महाकालीपारि बोर्डर छेउमा,” उनले भने, “अहिले पनि वैवाहिक सम्बन्ध हाम्रो वारिपारि चलिरा’छ । अहिले त इन्टरकास्ट पनि भइरा’छ ।”

प्रा. डा. सिंहका अनुसार, नेपाल र भारतका राउटेले एउटै भाषा बोल्छन्, खाम्ची । यस आधारमा दुवैतिरका राउटेको मूल एउटै भएको उनी तर्क गर्छन् ।

“नेपालका राउटेहरूले इन्डियामा विवाह गर्ने, इन्डियाका राउटेले पनि नेपालमा विवाह गर्ने पनि रहेछन्,” उनले भने, “जोगबुढा भ्यालीका मान्छेहरूले अहिले पनि गरिरहेका छन् । एकै भाषा बोल्छन् । यसबाट उनीहरूको ओरिजिन (उत्पत्ति) एउटै देखिन्छ ।”

नेपालमा हाल राउटेको संख्या करिब ६५० रहेको दानसिंह बताउँछन् । कर्णाली प्रदेशका घुमन्ते १३५ राउटे (गुराँस गाउँपालिकाको रेकर्ड) यही संख्याभित्रका हुन् ।

डडेलधुराको परशुराम नगरपालिका–४ र १२ नम्बर वडास्थित व्यवस्थित बस्तीमा हाल ४९७ राउटे छन् । तीमध्ये परशुराम–४ मा २२६ राउटे रहेको नगरपालिकाको तथ्यांक छ । परशुराम–१२ मा बाँकी अरू अर्थात् २७१ राउटे रहेका नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका कर्मचारी महेशराज अवस्थीले जानकारी दिए ।

“वडा नम्बर–४ को रजेउडामा छ एउटा बस्ती अनि वडा नम्बर–१२ को आम्पानी भन्ने ठाउँमा,” परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले भने । दानसिंह राउटे यही आम्पानीका हुन् ।

नेपाल सरकारले उनीहरूलाई जमिन दिएको छ । घर बनाइदिएको छ । “आम्पानीमा विद्यालय पनि बनेको छ, छोराछोरीलाई स्कुल पढाउने, राउटे बस्तीलाई नै केन्द्रित गरेर स्कुल पनि बना’को छ,” प्रमुख जोशीले भने, “दुइटै ठाउँमा स्कुल छ । अरू पब्लिकले जस्तै नर्मल लाइफ बिताइरहनुभा’छ ।”

दानसिंहका अनुसार, तत्कालीन राजा वीरेन्द्र शाहले उनीहरूलाई जमिन दिएका थिए । उनको बुवाको पालामा प्रत्येक परिवारलाई डेढ बिघा जमिन दिएर त्यहाँ राखिएको थियो । “हाम्रो सबैभन्दा धेरै बसोबास भएको क्षेत्र २०३९/४० सालमा राजा वीरेन्द्रले अहिलेको परशुराम नगरपालिकाको १२ नम्बर र ४ नम्बर वार्ड (वडा)मा २५/२० परिवारलाई जमिन दिएर बसोबास गराइएको थियो,” उनले भने, “जम्मा उति बेला हाम्रो ४५ परिवार मात्रै हो, दुई ठाउँमा ।”

पछि सरकारले सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत घर बनाइदियो । त्यस्ता घरको संख्या हाल ९० पुगेको उनले बताए । “०६८/६९ देखि सुरु भयो (घर बनाउन) । दुई ठाउँ गरेर ९० घर पुगेको छ,” उनले भने, “सम्पन्न भइसकेको हो ।” कञ्चनपुरमा पनि राउटे छन् । 

सिमेन्टका ब्लकले उनीहरूका घर बनाइएको छ । माथि (छत) जस्तापाता राखिएको छ । “दुई कोठासहितको घर हो, माथि जस्ता हालेको,” परशुराम नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिंहले भने ।

राउटे अरू स्थानीयसँग नाता लगाएर बोल्छन् । आफूहरूले पनि राउटेलाई नाता लगाएर बोल्ने गरेको प्रमुख जोशीले बताए । “हामीले उहाँहरूको बस्तीमा अरू योजनाहरू पनि गररा’हुन्छौँ, खानेपानीको, सिँचाइको,” उनले भने, “एकदम व्यवस्थित बस्ती छ उहाँहरूको, हामीसँग टच भ’को बस्तीहरू छ ।” 

सामाजिक सुरक्षा भत्ता र चिन्ता

जन्मदर्ता भएका सबै राउटेले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता पाउँछन् । जन्मदर्ता अनिवार्य गराइन्छ । “नागरिकता छ, उहाँहरूले नेपाल सरकारबाट भत्ता पनि पाउनुहुन्छ,” नगरप्रमुख जोशीले भने, “पालिकामार्फत प्रत्येक तीन महिनामा हामीले उहाँहरूको खातामा हालिदिन्छौँ । जन्मदर्ता भएकाले जन्मिनेबित्तिकै उहाँहरूले भत्ता पाउन सुरु गर्नुहुन्छ ।”

सामाजिक सुरक्षा भत्ता प्रत्येक तीन महिनामा एकमुस्ट दिइन्छ । मासिक ३३ सय ९० रुपैयाँका दरले हरेक तीन महिनामा प्रतिव्यक्ति १० हजार १७० रुपैयाँ दिने गरिएको पालिकाका कर्मचारी अवस्थीले बताए ।

“मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा राउटेहरूको सामाजिक सुरक्षा भत्ता १०० रुपैयाँबाट सुरु भा’को हो,” खड्काले भनिन् ।

भत्ता दुरुपयोग हुन सक्ने पालिकालाई चिन्ता पनि छ । त्यसैले यता गुराँस गाउँपालिका (कर्णाली)ले उनीहरूका मुख्य पर्वको अवसर पारेर भत्ता वितरण गर्दै आएको छ । “महिना/महिनामा दियौँ भने अन्त खर्च गरिहाल्नुहुन्छ, उहाँहरूले मुख्य खर्च गर्ने भनेको साउने संक्रान्तिमा हो,” अध्यक्ष बिसीले भने, “उहाँहरूले मुख्य साउने संक्रान्ति मान्नुहुन्छ, असार मसान्तमा भत्ता दिन्छौँ हामीले ।”

त्यसपछि राउटेलाई दसैँ, माघी र चैते दसैँको अवसर पारेर भत्ता दिइने उनले बताए । “दसैँ मान्नुहुन्छ भव्यसँग, फेरि असोजमा हामी भत्ता दिन्छौँ । अनि उहाँहरूको सबैभन्दा मुख्य चाड भनेको माघी पर्व हो, माघीमा हामी भत्ता दिन्छौँ । अनि त्यसपछि उहाँहरूले चैते दसैँ मान्नुहुन्छ, हामीले चैत्र मसान्तमा दिन्छौँ,” उनले भने ।

यही चार पर्वको नजिक–नजिक पारेर पालिकाले भत्ता वितरण गरिरहेको छ । “जन्मिएर हामीकहाँ रेकर्ड आयो भने चार हजारका दर (प्रतिव्यक्ति)ले दिन्छौँ,” उनले भने ।

भत्ताको दुरुपयोग नहोस् भन्नेतर्फ पालिका सचेत छ । केही मात्रामा दुरुपयोग भएको उनको भनाइ छ । “उहाँहरूले मुख्य गरी लगाउने कपडा र खाने अनाजमै खर्च गर्नुपर्ने हो,” उनले भने, “तर, अलिकति हामीलाई च्यालेन्जिङ के छ भने उहाँहरूले रक्सीमा खर्च गर्दिनुहुन्छ । हामी त्यो कुरा नियन्त्रणमा लागेको छौँ ।”

पहिले राउटे जंगली कन्दमूल खान्थे । भत्ता र बाहिरबाट सहयोग लिने भएपछि खाद्यान्न नै बढी खान थालेको उनले बताए ।

रीतिथिति, चलचलन

आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत ५९ जातिमध्ये राउटे समुदाय ४३औँ नम्बरमा छ । लोपोन्मुख समूहमा सूचीकृत १० जातिमध्ये राउटे पनि एक हो ।

राउटेका आफ्नै संस्कार, संस्कृति छ । तर, उनीहरूको रीतिरिवाज हिन्दु धर्मनिकट देखिन्छ । “उहाँहरूले प्रकृतिलाई मान्नुहुन्छ, धर्म हिन्दुसँग निकटतम छ,” महाशाखा प्रमुख ज्ञवालीले भनिन् ।

बिसी पनि भन्छन्, “उहाँहरूले मस्टो मान्नुहुन्छ । प्रकृति पूजा गर्नुहुन्छ । मस्टो देउता भनेको प्रकृति हो ।”

राउटेमा महिलाको कदर हुने खड्का बताउँछिन् । “मागेरै विवाह हुन्छ, राउटेको प्रायः भागेर विवाह हुँदैन,” उनले भनिन्, “विवाह गर्न सबैभन्दा केटीले मन पराउनुपर्छ । महिलाको कदर छ त्यहाँ ।”

विवाह गर्नेबित्तिकै उनीहरू बाबुआमाबाट अलग हुन्छन् । अर्थात्, छुट्टै बस्छन् । “मागेर विवाह गरेर ल्याएपछि त्यो घर (केटा बसिरहेको घर)मा भित्र्याइन्न,” उनले भनिन्, “दुलही लिन उता गा’छन् भने यता घर छुट्टै बनाइदिनुपर्छ । विवाह गर्‍यो भने छुट्टियो । अनि, दुलाहादुलही त्यतै बस्ने, बाबुआमासँग नबस्ने ।”

विवाह मुखिया बसेर गराइदिने र आफ्नै किसिमको संस्कार रहेको पालिकाका अध्यक्ष बिसीले बताए । “बाहिर हल्ला उनीहरूको ब्लड रिलेसनमै बिहेबारी चल्छ भनिन्छ, त्यस्तो होइन,” उनले भने, “उहाँहरूको गोत्र फरक–फरक छ, उहाँहरू एउटै गोत्रमा बिहे गर्नु हुन्न ।”

होइनन् क्षत्री !

राउटेहरू आफूलाई शाही ठकुरी भन्छन् । तर, उनीहरू शाही ठकुरी नभएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रा. डा. सिंह ठोकुवा गर्छन् । “राउटे क्षत्री, बाह्मण, ठकुरी हो भने पनि मैले गरेको डीएनए टेस्टबाट ऊचाहिँ ठकुरी होइन,” उनले भने, “क्षत्री, ठकुरी बाहुल्य क्षेत्रमा रहेकाले त्यस्तो रह्यो भन्ने लाग्छ मलाई ।”

खाम्ची मातृभाषा भएकाहरू क्षत्री, ब्राह्मण, ठकुरी हुनै नसक्ने उनी बताउँछन् । “ठकुरीहरूको आफ्नो भाषा भनेकै नेपाली भाषा हो । जब कसैले खाम्ची भाषा बोल्छ भने त्यो स्वाभाविक हिसाबले अर्को कुनै जाति हो,” उनले भने ।

राउटेबारे अध्येता सिंहको भनाइ (अडियो) सुन्नोस्–

०७७ सालमा प्रकाशित राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष खड्काद्वारा लिखित ‘राउटे समुदायको संक्षित परिचय’ पुस्तकमा उनीहरूको मूल रूप नेपालको जातजातिसँग जोडिएको बारे खासै अध्ययन नभएको उल्लेख छ । “मूलतः राउटे जातिभित्र रहेका तीन उपजातिहरूको अनुवंश वा डीएनए लिएर नेपालमा भएका अन्य जाति जस्तै, शाही, ठकुरी आदिको डीएनएसँग वैज्ञानिक रूपले राख्ने र अनुसन्धान गरेमा राउटेको मूलभूत सुरुआतबारे थाहा पाउन सकिन्छ,” पुस्तकमा उल्लेख छ ।

जनगणनामा राउटे

राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा राउटेको संख्या ५६६ छ । तीमध्ये २७७ महिला र २८९ पुरुष छन् । त्यसको १० वर्षअगाडि अर्थात् ०६८ को जनगणनाअनुसार २९८ महिला र ३२० पुरुष गरी राउटेको संख्या ६१८ थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, ०५८ को जनगणनामा राउटेको संख्या ३१२ महिला र ३४६ पुरुष गरी ६५८ थियो । यी संख्यालाई सही मान्दा ०४८ सालको जनगणनाको तथ्यांक भने भरोसायोग्य देखिँदैन । ०४८ को जनगणनामा राउटेको संख्या दुई हजार १२३ महिला र ७५५ पुरुष गरी दुई हजार ८७८ भएको कार्यालयको वेबसाइटमा उल्लेख छ ।

यस हिसाबले राउटेको संख्या १० वर्षमा दुई हजार २२० ले घटेको देखिन्छ । राउटे महिलाको संख्यामा त ठूलो गिरावट अर्थात् १० वर्षमा एक हजार ८११ ले घटेको देखिन्छ ।

तर, यो तथ्यांक गलत भएको प्रा. डा. सिंह जिकिर गर्छन् । आफूले लेखेको किताबमा त्यसबारे ‘करेक्सन’ गरेको उनको भनाइ छ । “त्यो डेटा हाँसोलाग्दो छ के ! २०४८ को त्यस्तो दुर्भाग्य पूर्ण डेटा कहाँबाट आयो ? गलतखालको डेटा हो,” उनले भने ।

त्यो अवधिमा संख्यामा यति कम हुने गरी विपद्, महामारी केही भएको नदेखिने उनले बताए । स्वाभाविक मृत्युबाट यस्तो तथ्यांक सम्भव नहुने उनले तर्क गरे ।

१० वर्षमा संख्यामा ठूलो अन्तर देखिनुमा राउटे समुदायले आफ्नो थर विभिन्न लेखाएको हुन सक्ने राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मी बताउँछन् । डडेलधुरामा व्यवस्थित बसोबासमा राखिएपछि त्यहाँ बस्नेले आफूलाई राउटे नभनेर शाही, क्षत्री, ठकुरी लेखाएको हुन सक्ने उनको अनुमान छ । “जंगलमा भएकालाई राउटे र गृहस्थी जीवनमा रहेकाले शाही, क्षत्री, ठकुरी लेखाउँदा त्यस्तो भएको भन्ने मैले सूचना पाएको छु,” उनले भने ।

हाल महालेखापरीक्षक रहेका पूर्वप्रमुख तथ्यांक प्रमुख तोयम राया पनि त्यस्तो हुनुमा गणनाको बेला जंगलमा गएको वा थर फरक शाही, ठकुरी लेखाएको हुन सक्ने बताउँछन् ।

तर, उनीहरूका भनाइ विश्वासिलो नभएको संख्याले नै पुष्टि गर्ने प्रा. डा. सिंह टिप्पणी गर्छन् । “राउतलाई राउटे बनाएर लेखेका हुन् भने पनि गल्ती हुनसक्छ । होइन, राउटे नै हो भने पनि, यो राउटे पनि जथाभावी हुन्छ नि, गलत तरिकाले लेखिएको हो,” उनले भने ।

Shiva-Adhikari-Raue-1739930810.jpg

राउटे बसोबास वा बसाइँ सर्ने क्रममा दाङभन्दा पूर्व कहिल्यै नआएको उनीसहित अरू जानकार बताउँछन् । तर, जनगणनामा राउटे झापासहित पूर्वका अरू ठाउँमा भएको, त्यतिबेलै स्नातक गरेको भनेर लेखिएको र त्यो असम्भव भएको उनले तर्क गरे । “त्यो नितान्त भ्रमपूर्ण र मिथ्या सूचना हो । यसलाई करेक्सन गर्नुपर्छ भनेर मैले मेरो किताबमा लेखेको छु,” उनले भने, “यी तथ्यहरू वैज्ञानिक छैनन् ।”

राउटेलाई भेटघाट, घुमाउने क्रममा भने अरू मानिसले देशका धेरै ठाउँमा पुर्‍याएका छन् । काठमाडौं आएर यसअघि नै उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री भेटिसकेका छन् ।

पेसा, आयआर्जन

खड्का र दानसिंहका अनुसार, स्थायी बसोबास गर्ने राउटे खेतीकिसानी गर्छन् । ज्यालादारी, नोकरी पनि गर्न थालेका छन् । यसरी पनि कमाइ गर्छन् । घुमन्ते राउटेले भने सामाजिक सुरक्षा भत्ताबाहेक काठका विभिन्न सामग्री बनाएर बेचेर आम्दानी गर्छन् । पहिलापहिला उनीहरू अन्नसित काठका सामग्री साट्थे, पछि बिक्री गर्न थाले । आधुनिकतासँगै काठका भाँडाकुँडाको बिक्री घटेको खड्का बताउँछिन् ।

राउटे काठका सन्दुक, थाल, खाट, पिर्कालगायत सामग्री बनाउँछन् । खड्काले उनीहरूले बनाएका सामग्री संकलन गरेकी छन् । त्यो भिडियोमा हेर्नोस्–

सबैभन्दा मिठो कुभिन्डोको तरकारी !

कर्णालीमा राउटेको संख्या घट्दै गएको अध्ययनमा देखिन्छ । “२० वर्षअघिसम्म उहाँहरू लगभग २५० देखि ३०० को संख्यामा (कर्णाली प्रदेशमा) हुनुहुन्थ्यो,” अध्यक्ष बिसीले भने, “वर्षैपिच्छे घट्दै आएर १३५ जनामा हुनुभो ।”

पछिल्ला वर्षमा कर्णालीमा राउटेको संख्या निरन्तर घटिरहेको मानवअधिकार आयोगको तथ्यांक छ ।

Shiva-Adhikari-Rautel-1739930810.jpg
 

“राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले अकालमा निधन भएको देखिन्छ,” आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

ननुहाउने हुँदा छालाको रोग, लुगा नलगाउनाले निमोनियालगायत स्वास्थ्य समस्या निम्तने सम्भावना हुन्छ । “खानपिनमा गडबड भयो । जंगलमा बस्दा चिसो हुँदा बच्चाहरू धेरै मर्ने सम्भावना देखिन्छ त्यहाँ मैले स्टडी गर्दा,” प्रा. डा. सिंहले भने ।

उनीहरूले कुभिन्डोको तरकारी बढी रुचाउने खड्का बताउँछिन् । “खानपानमा सबैभन्दा राम्रो भात हो । गेडागुडीको तरकारी भयो, तरकारीमा सबैभन्दा मिठो कुभिन्डोको तरकारी,” उनले भनिन्, “मूलाको तरकारी, मूलाको पातको साग ।”

उनका अनुसार, राउटेलाई माछामासु असाध्यै मन पर्छ । सिकार र बाँदरको मासु त विशेष !

“उनीहरू (राउटे महिला)ले प्रायः हातमा फलामका बाला लाउँछन् । हातमा औँठी लाउने चलन हुन्छ व्यापक,” उनले भनिन्, “हातमा सिक्का पैसाको औँठी लाउने महिलाहरूको सोख हुन्छ भने गलामा ठूलाठूला पोते लगाउने सोख हुन्छ उनीहरूलाई ।” कम्पनी, कौडाको माला पनि लगाउँछन् ।

राउटेका मुखियालाई उनी अरू समुदायको जनप्रतिनिधि अर्थात् वडाध्यक्षजस्तो मान्छिन् । सरल भाषामा त्यसै गरी बुझाउने कोसिस गर्छिन् । “राउटेको मुखिया र हाम्रो गाउँको मुखिया अथवा अहिलेको वडाध्यक्षको भूमिका हो,” उनले भनिन्, “मुखिया भन्नेबित्तिकै त्यहाँको, त्यो क्षेत्रको प्रतिनिधि हो, जनप्रतिनिधि हो । राउटेकै जनप्रतिनिधि हो मुखिया पनि ।”

कर्णालीका राउटेमा हाल तीन जातिका जातीय मुखिया छन् । मुखिया पुरुष हुन्छन् । “मेन (मुख्य) मुखिया मैनबहादुर शाहीचाहिँ उनी बितिसके,” उनले भनिन् । सुदूरपश्चिममा दुई जातीय मुखिया रहेका दानसिंहले जानकारी दिए ।

कर्णालीका राउटे कसरी बस्छन् ?

“सानोसानो छाप्रो, कपडाको पाल बनाएर त्यसरी बसोबास गर्नुहुन्छ,” सामाजिक विकास महाशाखा प्रमुख ज्ञवालीले भनिन् ।

राउटे तीन गोत्रका छन् । फरक–फरक बस्दैनन् । मिलेर सबै एकैठाउँमा बस्ने गरेका गुराँस गाउँपालिकाका अध्यक्ष बिसी बताउँछन् ।

प्लास्टिक वा आधुनिक त्रिपाल उनीहरू प्रयोग गर्न मान्दैनन् । ‘टेन्ट हाउस’मा बस्दैनन् । “तर, टेन्ट टाइपको सामान्य त्रिपालहरूमा डोरीले बाँधेर, काठले अड्याएर काठ र त्रिपालबाट बनाइएकाहरू, झुत्रा कपडाहरूलाई जोडेर, आफ्ना फ्यालिने कपडाहरूलाई पनि जोडेर त्रिपाल बनाएर बस्नुहुन्छ,” उनले भने । त्यसमा माथिपट्टि स्याउला, घाँसपातहरूले छोपेर उनीहरू बस्छन् ।

त्यसरी बनाइएको बस्ने ठाउँको उचाइ धेरै हुँदैन । सिँधा उभिएर प्रवेश गर्न पनि नसकिने खालको हुन्छ । “अग्लो हुँदैन । मान्छे झुकेर जाने हो,” उनले भने, “मान्छे लगभग उभिन पनि नमिल्ने खालको बनाउनुहुन्छ उहाँहरूले । लगभग सर्लक्क उभिन पनि मिल्दैन ।”

विभिन्न जिल्ला वा ठाउँमा बसाइँ सर्दै बस्ने क्रममा उनीहरूले अनुकूलानुसार धेरैथोरै समय बिताउँछन् । “उहाँहरू सरेपछि बढीमा ६ महिना, कम्तीमा १५ दिनदेखि एक महिना/दुई महिनासम्म – एभरेज (औसत)मा तीन महिना एक ठाउँ बस्नुहुन्छ उहाँहरू,” उनले भने ।

सोसेक नेपालका कार्यकारी प्रमुख थापाले भने कम्तीमा पाँच र एक ठाउँमा सबैभन्दा बढी ४५ दिनसम्म बसेका बताए । “सबै सँगसँगै जानुहुन्छ । आफैँ पाल हालेर बस्नुहुन्छ,” उनले भने, “सँगै जाने, सामान लिने/बोक्ने अनि त्यहीँ पाल हाल्ने बस्ने ।”

पहिला केही व्यक्ति गएर अर्को ठाउँमा बस्ने संरचना बनाउँदै गर्छन् । त्यहाँ बस्न उपयुक्त भयो भनेपछि पुरानो ठाउँबाट भाँडाकुँडा, आफ्ना सामान सबै बोकेर जाने गरेको बिसीले बताए ।

उनीहरू टुक्रिएर बस्दैनन् । सबैजना पूरै खाली गरेर एकबाट अर्को ठाउँमा जाने हुन् । “कहीँकहीँ राम्रो ठाउँ पर्‍यो भने ६ महिनासम्म बस्नुहुन्छ । नभए एभरेजमा दुई/तीन महिनामा सरिरहनुहुन्छ,” उनले भने ।

कर्णाली सरकारले राउटेबारे छुट्टै नीति बनाउने एकताका चर्चा थियो । तर, त्यसले मूर्तरूप पाएको छैन । “नीति बनाउने त भनेको तर पोलिसी भनेको राजनीति कुरा हो,” ज्ञवालीले भनिन्, “कार्यविभाजनमा प्रदेश सरकारको मात्रै होइन भन्नेजस्तो पनि देखियो । यी कुराहरूको कारणले गर्दाखेरि छुट्टै पोलिसी छैन ।”

दानसिंह राउटे भन्छन्– समस्या छ

नेपाल राउटे विकास संघका अध्यक्ष दानसिंह राउटे डडेलधुरास्थित आफूहरूको व्यवस्थित बसोबासमा पनि समस्या रहेको गुनासो गर्छन् । उनका अनुसार, त्यहाँका कतिपय राउटेले जमिन पाएका छैनन् । जमिन नभएकाहरू जंगलमै बसिरहेका छन् । ओढारमा बस्ने पनि छन् ।

बेरोजगारी समस्या, राउटे समुदायको जमिनमा अरू जातिका मानिस बसेका, उनीहरूका जग्गा किनबेच समेत भएको दानसिंह बताउँछन् ।

दलित, महिलालाई जस्तै लोपोन्मुख जातिलाई वडा सदस्यका निम्ति कम्तीमा एउटा कोटा छुट्ट्याउनुपर्ने उनी माग गर्छन् । “लोकतन्त्र मन पनि पर्‍या छैन, किनभने यहाँ जनप्रतिनिधिले हामीलाई सहयोग पनि गर्‍या छैनन्,” उनी भन्छन्, “योभन्दा त हामीलाई पहिलेकै बरु राजतन्त्र थियो, त्यही ठिक लाग्थ्यो ।”

डडेलधुराका राउटेबारे दानसिंहको भनाइ (अडियो) सुन्नोस्–

दानसिंहको भनाइका केही अंश पढ्नोस्–

जमिन नभएका मान्छेहरू त जंगलमा पनि बसिरा’छन् । अहिले पनि ६ नम्बर वार्डमा बस्छन् । अनि, यहाँ जमिन नभएका मान्छेहरू इन्डियातिर पनि छन् । एकदुइटा परिवार ओढारमै छन् अझै पनि ।

राउटे समुदायको जमिनमा दलितहरू, बाहुन–क्षेत्रीहरू बसेर, जग्गा किनबेच भा’छ । बेरोजगारी समस्या छ, वनमा गयो भने काठहरू मिल्दैन । अलग्गै आरक्षणको व्यवस्था हुनुपर्‍यो । दलित, महिलालाई जस्तै लोपोन्मुख जातिलाई वार्ड सदस्यका लागि भनेर कम्तीमा एउटा कोटा राख्नुपर्ने हो ।

लोकतन्त्र मन पनि पर्‍या छैन, किनभने यहाँ जनप्रतिनिधिले हामीलाई सहयोग पनि गर्‍या छैनन् । योभन्दा त हामीलाई त पहिलेकै बरु राजतन्त्र थियो, त्यही ठिक लाग्थ्यो । प्रत्यक्ष रूपमा हामीचाहिँ काठमाडौं गएर भेटघाट गर्न पाउँथ्यौँ । उहाँबाट आफ्ना कुराहरू माग गर्न पाउँथ्यौँ, उहाँबाट कुनै योजनाहरू ल्याउँथ्यो, हाम्रो कुरा सुनुवाइ हुन्थ्यो ।

योभन्दा त घुमन्ते जीवन राम्रो थियो भन्नुहुन्छ बुढापाकाले । ठीक छैन यो व्यवस्था, वनजंगलमा घुम्न पाइया थियो, आफ्नै हिसाबले रुखहरू काट्न पाइया थियो, गिठ्ठातरुल खान पाइया थियो, सिकार गर्न पाइया थियो – त्यही भन्ने छ ।

(भिडियो र सम्पादन हरिशजंग क्षेत्री र सचिन श्रेष्ठ/बाह्रखरी ।)

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro