
काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यूईएफए च्याम्पियन्स लिगको दोस्रो लेगअघि आफ्नो टोलीको अन्तिम–१६मा पुग्ने सम्भावना एक प्रतिशतमात्रै रहेको बताएका छन् ।
गत मंगलबार पहिलो लेगको अन्तिभम १० मिनेट बाँकी हुँदासम्म प्रिमियर लिग च्याम्पियन सिटीले इत्तिहाद रंगशालामा रियालविरुद्ध २–१ को अग्रता बनाएको थियो । तर, अन्तिम समयमा दुई नाटकीय गोल बेहोरेपछि सिटी घरमै स्पेनिस क्लबविरुद्ध ३–२ ले निराश बन्यो ।
घरेलु मैदानमै ३–२ ले पराजित भएपछि स्पेनिस राजधानीमा सिटीलाई क्वार्टरफाइनल पुग्न मड्रिडविरुद्ध २–० को सोझो जित वा निर्धारित र अतिरिक्त समयसम्म १–० को जितसँगै पेनाल्टीमा पनि विजयी हुनुपर्ने समीकरण छ । तर, ग्वार्डिओला यी दुवै कुरामा आशावादी छैनन् ।
“सबैलाई थाहा छ कि बर्नबेउमा खेल जित्न गोलअन्तर आवश्यक छ । अन्तिम–८ मा पुग्ने सम्भावना कति प्रतिशत छ त्यो मलाई थाहा छैन । हामी १ प्रतिशत सम्भावना लिएर आएका छौँ । तर, सम्भावना भएसम्म हामी प्रयास गर्नेछौँ,” सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ।
यी दुई टिमबीचको दोस्रो लेग फेब्रुअरी २० मा हुने तालिका छ ।