![के इजरायलले गाजामा फेरि आक्रमण गर्दै छ ? कस्तो छ तयारी ?](https://12khari.top/uploads/posts/gaja-Israeli-soldiers1-1700802644.jpg)
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले शनिबारसम्म बन्धकलाई रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । सुरक्षा क्याबिनेटसँगको चार घण्टा लामो बैठकपछि नेतान्याहुले शनिबार दिउँसोसम्म हमासले बन्धकहरूलाई एकैसाथ रिहा नगरे युद्धविराम समाप्त हुने बताएका हुन् ।
यद्यपि, नेतान्याहुले सबै बन्धकको रिहाइबारे भनेका हुन् वा शनिबार रिहा हुने तीन बन्धकबारेमा भनेका हुन् भन्ने अझै स्पष्ट भइनसकेको टाइम्स अफ इजरायलले जनाएको छ ।
हमासले युद्धविराम उल्लंघन गरिरहेको दाबी गरेका नेतान्याहुले सेनालाई तयार हुन निर्देशन दिएका छन् । "हमासले युद्धविराम उल्लंघन गरिरहेको छ । हाम्रा बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको छ । यसलाई ध्यानमा राख्दै मैले गाजा वरिपरि सेनाको संख्या बढाउन आईडफएफलाई आदेश दिएको छु । यदि हमासले शनिबारसम्म बन्धकलाई रिहा गरेन भने युद्धविराम समाप्त हुनेछ । हाम्रो सेनाले फेरि युद्ध सुरु गर्नेछ र हमासको अन्त्य नभएसम्म यो जारी रहनेछ," नेतान्याहुले भनेका छन् ।
इजरायलका रक्षामन्त्रीले पनि सेनालाई सतर्क रहन भनेका छन् । उनले 'गाजामा हुने कुनै पनि परिस्थिति'को सामना गर्न तयार रहन निर्देशन दिएका छन् । यस्तै, इजरायली सेनाले गाजा डिभिजनका सैनिकहरूको सबै बिदा रद्द गरेको छ ।
यसअघि, हमासले गाजामा सहायता अवरुद्ध गरेर इजरायली सेनाले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । यसैलाई कारण देखाएर हमासले शनिबार रिहा गर्ने भनिएका बन्धकलाई अर्को सूचना नभएसम्मका लागि रिहा नगरिने बताएको थियो ।
हमासको भनाइ आएको एक दिनपछि सुरक्षा क्याबिनेटको बैठक बसेको छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायलबाट अपहरण गरिएका सबै बन्धकहरूलाई शनिबारसम्ममा रिहा गर्नुपर्ने बताएका छन् । उनले शनिबार मध्याह्न १२ बजेसम्म सबै बन्धकलाई रिहा नगरे युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका छन् ।