
काठमाडौं । भारतले आफ्नो सीमा भित्रका केही स्थानहरूलाई चीनले आफ्नो दाबी गर्दै ती भू–भागहरूको नाम परिवर्तन गर्ने कदमलाई अस्वीकार गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लि जियानले बुधबार पत्रकार सम्मेलनमा भारतको अरुणाञ्चल प्रदेशभित्र पर्ने केही भूभागहरूको नाम परिवर्तन गरी एकरुपता बनाइएको बताएका थिए । चीनले ती भू–भागहरू चीनको सम्प्रभूताअन्तर्गत पर्ने पनि बताए ।
चीनले भारतको अरुणाञ्चल प्रदेशलाई जंगनान भनेर सम्बोधन गर्छ र उसले यसलाई स्वःशासित प्रदेश तिब्बतको एक अभिन्न भाग मान्दै आएको छ ।
“नामकरणले अकाट्य तथ्य र यथार्थ परिवर्तन गर्न सकिँदैन । अरुणाञ्चल प्रदेश भारतको अभिन्न र अविच्छिन्न हिस्सा थियो, छ, र सधैँ रहनेछ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार भने ।
गत वर्ष अप्रिलमा पनि चीनले यस्तै कदम चाल्दै अरुणाञ्चल प्रदेशका करिब ३० स्थानको नाम परिवर्तन गरेको थियो, जसलाई भारतले अर्थहीन भन्दै खारेज गरेको थियो र उक्त क्षेत्र भारतको अभिन्न हिस्सा हो भन्ने कुरामा जोड दिएको थियो ।