site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शेख हसिनाका छोराले लिए अमेरिकी नागरिकता

ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ । 

उनले वासिङ्टन डीसीमा अमेरिकी नागरिकताको शपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको बंगलादेश प्रतिदिनको रिपोर्टमा  उल्लेख छ । 

Argakhachi Cement Island Ad

“प्रमाणपत्र प्राप्त गरेपछि उनले पासपोर्टका लागि पनि आवेदन दिए,” दैनिक बंगलादेश प्रतिदिनले भनेको छ, “विभिन्न देशका कुल २२ व्यक्तिले शपथ ग्रहण समारोहमा भाग लिएका थिए ।” 

तीमध्ये जोयसहित तीनजना बंगलादेशी मूलका रहेको बताइएको छ । अवामी लिगका नेता एवं पूर्वसूचना राज्यमन्त्री मुहम्मद अली अराफातले भने, “सजीब वाजेद जोयको बंगलादेशी पासपोर्ट, जुन उनी यात्रा गर्न प्रयोग गर्थे, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो । यस परिस्थितिमा उनले अमेरिकी पासपोर्ट प्राप्त गर्नुपर्‍यो ।”

“ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन । जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ । हालको अवस्थामा उनले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो,” उनले भने । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएकी थिइन् । हसिना भारत भागेपछि त्यहाँ नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्