
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारूढ दलकै अनुभवी नेताहरू सक्रिय नभएको बताएका छन् । बिहीबार (जेठ १) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले प्रिबजेट छलफलमा सत्तारूढ दलकै वाक्पटु र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
“नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाक्पटु माननीयज्यूहरू र भेट्रान नेताज्यूहरूलाई सक्रिय देखिरहेको छैन । मलाई आश्चर्य लागेको छ,” उनले भने ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालक्षित उनले यस्तो टिप्पणी गरेका हुन् । उनले बजेट वक्तव्य जारी नहुँदै सत्तारूढ दलकै नेताले उक्त पुस्तक च्यात्ने धम्की दिने कुरा पनि आश्चर्य भएको बताए ।
“हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन,” उनले भने, “यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ ।”
बुधबार (वैशाख ३१) प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले आउँदो आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणनिम्ति रकम विनियोजन नगरिए उक्त पुस्तक च्यात्ने चेतावनी दिएका थिए । सांसद थापाले सत्तारूढ दलकै नेताले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले भने, “हामी नयाँ सांसदहरूलाई पुराना पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोस्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ?”
सत्तारूढ दलकै सांसदले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको उनले बताए । न्युज एजेन्सी नेपाल