
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो ।
सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र बोलाइन्छ । तर, ‘के घर के डेरा : घर नं २’ को प्रिमियरमा १८० जना सर्वसाधारण दर्शक थिए । जसले चलचित्र हेरेर प्रतिक्रिया दिएका छन् ।
आम सर्वसाधारण दर्शकले चलचित्र हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएको निर्माणपक्षले जनाएको छ । दर्शकले ‘के घर के डेरा : घर नं २’को तारिफ गरेका निर्माणपक्षको दाबी छ ।
घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनीहरूले बताएको निर्माणपक्षले बताएको छ ।
‘के घर के डेरा : घर नं २’ भोलिबाट रिलिज हुँदै छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।
‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।