site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी उत्पादनमा कर नलगाउन भारत तयार रहेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयात हुने सामानमा सबै प्रकारका भन्सार कर हटाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।

“भारत सरकारले हामीलाई कुनै शुल्क नलगाउने प्रस्ताव गरेको छ,” ट्रम्पले दोहामा आयोजित एक कार्यक्रम भने । भारत र अमेरिका हाल व्यापार सम्झौता गर्न वार्तामा जुटिरहेका छन् ।

ट्रम्पको भनाइमा भारत सरकारको भनिएको प्रस्तावबारे दिल्लीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीले यसबारे टिप्पणीका लागि भारतको वाणिज्य मन्त्रालयसँग सम्पर्क गरे पनि उक्त प्रस्तावित सम्झौताबारे थप विवरण हालसम्म सार्वजनिक गरिएको छैन ।

दोहामा व्यवसायीहरूका साथ आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको बोइङ जेटलगायत कतारसँग भएका विभिन्न सम्झौताको घोषणा पनि गरे ।

ट्रम्पको उक्त टिप्पणी एप्पल कम्पनीले भारतमा आईफोन उत्पादन गर्ने योजनाबारे कुराकानी गर्दै गर्दा आएको हो । 
उनले एप्पलका सीईओ टिम कुकलाई भनेको उल्लेख गर्दै भने, “मैले टिमलाई भनेँ– तिमीहरूलाई भारतमा कारखाना बनाऊ भन्न चाहन्नँ । भारत त संसारकै सबैभन्दा धेरै कर लगाउने देशमध्ये एक हो ।”

उनले थपे, “भारत हामीसँग यस्तो सम्झौता गर्न खोज्दै छ जसअनुसार उनीहरूले कुनै कर नलगाउने सहमति जनाएका छन् । मैले यो कुरा टिमलाई भनेँ– हामी तिमीलाई साँच्चिकै राम्रो व्यवहार गरिरहेका छौँ, तिमीले चीनमा धेरै कारखाना बनाएको कुरा हामीले वर्षौंदेखि सह्यौँ । अब तिमी भारतमा निर्माण गर्ने कुरा पनि म चाहन्नँ । भारत त्यो आफैँ गर्न सक्छ ।”
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्