site stats
बाह्रखरी :: Baahrakhari
खेल
अर्जुन ट्रफी : धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

काठमाडौं । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सीवाईसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा खेलमा डीसीए धनगढीलाई ६ विकेटले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो ।

जितका लागि १०८ रनको सामान्य लक्ष्य पाएको अत्तरियाले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । अत्तरियाका शंकर रानाले अर्धशतकीय पारी खेल्दै ५६ रनमा अविजित रहे । दिपेश कँडेलले २४, भीम सार्कीले १६ र विवेक यादव १२ रनमा नटआउट रहे ।

धनगढीका हिक्मत महराले दुई, ललित राजवंशी र भोजराज भट्टले एक–एक विकेट हात पारे । यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै १०८ रन बनायो ।

धनगढीका मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए । अत्तरियाका विकेक यादव र कमल गुप्ताले दुई–दुई विकेट हात पारे । अत्तरियाले उपाधिका लागि भोलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २३:२८
प्रतिक्रिया दिनुहोस्