
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक आजै (असार १५) टेबल गर्नुपर्ने मागसहित शिक्षक बिहानै सिंहदरबार पुगेका छन् । सरकारले यसअघि असार १५ भित्र उक्त विधेयक संसद्बाट पारित गरिने प्रतिबद्धता जनाएको थियो ।
यस दिन बिहानै आफूहरू सिंहदरबार पुगेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । “सरकारले आज शिक्षा ऐन प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता दिएको थियो । सोही अनुसार साढे ७ बजे शिक्षा समितिको बैठक बस्ने ठाउँसम्म पुगेका थियौँ । बैठक ८ बजेदेखि थियो । हामी सवा १० मा निस्कियौँ । एकछिनपछि फेरि जान्छौँ,” उनले बाह्रखरीसित भनिन् ।
गएको वैशाख १७ गते सरकार र शिक्षकबीच असार १५ भित्र ऐन जारी गर्ने सहमति भएको थियो । पराजुलीका अनुसार, केही विषयमा अझै छलफल नटुंगिएकाले आजै विधेयक प्रतिनिधिसभाबाट पारित हुने सम्भावना न्यून छ ।
तर, प्रतिनिधिसभामा टेबल गर्नेपर्ने शिक्षकको माग छ । “सरकारले आजै पारित गर्ने छाँटकाँट त देखाएन, हामी दबाबस्वरूप सिंहदरबार पुगेका हौँ,” उनले भनिन् ।