
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गरेका छन् ।
आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा बर्तौलाले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुन सक्ने बताए ।
"तपाईंको पृष्ठभूमि बिल्कुल राजनीतिक छ, त्यो पनि सक्रिय छ । सबैले जाने बुझेको कुरा हो । त्यसमा लाग्दिनँ भन्नु तपाईंको यहाँ बोल्दै गर्दा गर्ने कमिटमेन्ट हो । निष्पक्षता र तटस्थता त हुनैपर्छ । तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिका र जिम्मेवारीमा रहे पनि तर तपाईंको विशुद्ध हृदय चर्चित व्यावसायिक घरानाबाट हुनुहुन्छ भन्ने प्रश्न छ," उनले भने ।
उनले अगाडि थपे, "प्रस्तावित न्यायाधीश हुने बित्तिकै खुट्टा उचालेर लौ हुन्छ भनेर त्यत्रो सात महिनाअघि गरिएको कमिटमेन्ट, फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ? यदि त्यो च्यातेर हिँड्नुहुन्छ भने भोलिका दिनमा न्यायिक विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ? आज वकिलहरूको पद पाउनका लागि पद पाउने बित्तिकै जे पनि गर्न मिल्छ भन्ने मानक स्थापित गर्न खोजेका हौँ हामीले ? त्यस्तो गर्न मिल्छ ?"
न्युज एजेन्सी नेपालबाट ।