site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाल्पाबाट ५२ करोड ७६ लाखको सुन्तला बिक्री

रामपुर (पाल्पा) । यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार ८६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

अघिल्लो वर्षभन्दा यसपटक ३३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । 

६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

“सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ,” उनले भने, “अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ । बजारीकरण सहज भएको छ ।” 

रैनादेवीछहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिक टन, रिब्दिकोटमा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिक टन, बगनासकालीमा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार १९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । 

जिल्लाका दश पालिकामध्ये ६ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् । रासस

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्