site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कांग्रेसको स्टार्टअप तथा एसएमई सम्मेलनमा दर्जनौँ स्थानीय ब्रान्ड
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय परिसरमा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलनको आयोजना गरेको छ । सम्मेलन माघ १६ र १७ गते चल्नेछ ।

सम्मेलनमा उद्यमी, व्यवसायीसहित निजी क्षेत्रको विकासमा संलग्न सरोकारवालाहरूसँग छलफल कार्यक्रम छ । यस्तै, कांग्रेस पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित विभिन्न सामग्रीका दर्जनबढी स्टल पनि राखिएका छन् ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा निकै धेरै सम्भावना रहेको बताएका छन् । ‘नेपालमा लगानीः स्टार्टअप र एसएमईहरूको भविष्य’ शीर्षकको प्यानल डिस्कसनका क्रममा बोल्दै उनले नेपालकै पुँजीले पनि निकै धेरै विकासका कामहरू गर्न सकिने बताएका हुन् ।

Argakhachi Cement Island Ad

“नेपालमा सम्भावना छ र नेपालकै पुँजीले पनि निकै धेरै गर्न सकिन्छ” भन्ने कुरा बुझ्न जरुरी रहेको उनको भनाइ छ । नेपालमा सम्भावना नभएको भन्ने भाष्य फेर्न जरुरी रहेको उनले बताए ।

474464834_3541073592852683_8284423164701460242_n-1738147131.jpg
यस्तै, विदेशी लगानी (एफडीआई)ले मात्रै विकास सम्भव छ भन्ने नभएको र स्वदेशी पुँजीले पनि जलविद्युत्, प्रसारणलाइनदेखि उत्पादनशिल क्षेत्रलगायत विकासमा निकै धेरै गर्न सकिने ढकालको भनाइ छ ।

उनले देशभर सुगमदेखि दुर्गम क्षेत्रमा साना स्टार्टअप र उद्यममा लगानी गर्न यसमा इच्छुकहरूले संयुक्त रूपमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी खोलेको बताएका छन् । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दश अर्बको लगानी छ । “दार्चुलाको मान्छेले कुनै उद्यम गरिरहेको छ र उसलाई लगानीको आवश्यकता छ भने यसबाट लगानी गर्ने र त्यहाँका मान्छेसँग केही पुँजी छ भने त्यो लगानी यसमा गर्नसक्छ,” अध्यक्ष ढकालले भने ।

उनले नेपालमा अवसर रहेको, उद्यम गर्न सहज रहेको र छोटो समयमै राम्रो उपलब्धि प्राप्त गर्न सकिने सम्भावना रहेको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले साना स्टार्टअपको विकासका लागि ग्रुपले लगानी गर्नेदेखि तालिम प्रदान गर्ने काम गरिरहेको बताएका छन् । ग्रुपले नबिल बैंकमार्फत देशका दर्जनबढी अति विकट ठाउँमा उद्यमशिलता विकासका लागि काम गर्दै आएको उनले बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत प्रत्येक जिल्लाका साना उद्यमलाई पाँचदेखि दश लाख रुपैयाँ ऋण बिनाधितो उपलब्ध गराउन सकेमा उद्यम क्षेत्रको राम्रो विकास हुने बताए ।

“देशभर करिब पाँच हजार वटा बैंकका शाखाबाट पाँचदेखि दश लाख रुपैयाँ मात्रै पनि उद्यमीहरूलाई बिनाधितो ऋण दिने हो भने यसले वार्षिक हजारौँ उद्यम र लाखौँको संख्यामा रोजगारी सिर्जना गर्छ,” यसका लागि नीतिगत काम गर्न आवश्यक रहेको बताउँदै निर्देशक चौधरीले भने ।

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीलाई प्रोत्साहन गर्न थप काम गर्न आवश्यक रहेको बताएकी छन् । “नीतिगत रूपमा धेरै कामहरू भएको छ । तर दुर्गम क्षेत्रमा साना र महिला उद्यमीले पाउनुपर्ने सहजता उनीहरूले पाइरहेका छैनन् त्यो पाउन सकिने वातावरण मिलाउन आवश्यक छ,” उनले भनिन् ।

474897658_612325741755319_3389188797660147891_n-1738147132.jpg
नेपालको पहिलो प्राइभेट इक्विटी फन्ड बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले लगानी गरेर उद्यमको विकासमा काम गर्न ढिलाइ भएको बताए । “नेपालमा विकासका लागि एसएमई निकै महत्वपूर्ण हुन्छ । स्टार्टअप र साना उद्यम विकासका लागि लगानी जुटाउने र गर्ने काममा हामी निकै पछाडि छौँ र नीगित रूपमा पनि ढिलाइ भएको छ,” उनले भने ।

बिजनेस अक्सिजनले लगानी नभएका राम्रा परियोजनामा लगानी गर्ने गरेको उनले बताए । सरकारले समेत बिनाधितो परियोजनामा वा आइडियामा ऋण एवं लगानीको वातावरण मिलाउन आवश्यक रहेको पाण्डेको भनाइ छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले सरकारले स्टार्टअपलाई यस वर्ष एक अर्ब अनुदान उपलब्ध गराइरहेको बताए । स्टार्टअप उद्यम कर्जालाई निरन्तरता दिन यससम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाटै पारित गर्नेगरी काम भइरहेको उनले बताए । पूर्वबैंकर राजु नेपालले छलफल कार्यक्रम सञ्चालन गरेका थिए ।

समग्रमा स्टार्टअप र साना उद्यमको विकासले मात्रै बृहत्तर आर्थिक समृद्धि हासिल हुने किसिमको संकेत वक्ताहरूको थियो । यसैअनुसार सरकारबाट नीतिगत सुधार र निजी क्षेत्रले लगानी परिचालनको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

सम्मेलनको उद्देश्य आर्थिक रूपान्तरणको प्रवर्द्धन, लगानी प्रोत्साहन, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, नीति सुधारको वकालत र कांग्रेस पार्टीको सुदृढीकरण छ । कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलनको आयोजना गरेको हो ।

473109453_2353855864962077_7881828992258614111_n-1738147130.jpg
६ भन्दा बढी थिममा सेसन रहेको सम्मेलनका गोष्ठीमा ४० भन्दा बढी वक्ता सहभागी छन् । ८० भन्दा बढी स्टार्टअप तथा एसएमईका स्टल एवं उपस्थित रहने सम्मेलनमा करिब ६ हजार दर्शकको उपस्थिति हुने आकलन कांग्रेसको छ ।

कार्यालय परिसरमा रहेका स्थानीय ब्रान्डका स्टलमा खानेकुरा, लुगा, स्थानीय जडिबुटी, आईटी एवं फिनेटक स्टार्टअपलगायत छन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्