काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू)मा रहेको नेपाली वाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले कार्यालयको उद्घाटन गरेकी हुन् ।
त्यस क्रममा राजदूत यादवले आफू तन, मन र वचनले नेपाल र नेपालीको सेवामा लागिपर्ने बताइन् । उनले स्थानीय नेपाली समुदायसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि निरन्तर सक्रिय हुने बताइन् ।
"नेपाली समुदायसँगको सहकार्य, समन्वय र कूटनीतिक प्रयासले अस्ट्रेलियामा नेपाली पहिचानलाई थप बलियो बनाउने मेरो प्रयास हुनेछ," उनले भनिन् ।
उद्घाटन समारोहमा वाणिज्यदूत सञ्जीव शर्माले नयाँ कार्यालयबाट एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूको सेवामा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए । शर्माले अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका नयाँ पुस्तालाई मुलुकसँग जोड्ने आफ्नो प्रयास अगाडि बढेको पनि बताए । कार्यालयले नेपाली डायस्पोराका हकहितका लागि एक नयाँ आयाम थप्ने र समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उनको विश्वास थियो ।
कार्यक्रममा पूर्वमहावाणिज्यदूत दीपक खड्काले यो पद आफैँमा महत्त्वपूर्ण भएको बताए । यसलाई अधिकारसम्पन्न बनाएर सहजरूपमा सेवा सुविधा विस्तारमा राज्यले पहलकदमी लिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी तथा विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउँदले नवनियुक्त राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिए ।
यस्तै, अस्ट्रेलियन नेपाली समुदायका अगुवा नारायण प्रधानले ५० वर्ष अघिको आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा समुदायका अगुवा विष्णु हमाल, दोस्रो पुस्ताका सम्राट खड्का र आदित्य राउत तथा एनआरएनका अध्यक्ष अनील पोखरेलले शुभकामना दिए ।
यस्तै, एनआरएनका केन्द्रीय उपाध्यक्ष विनोद श्रेष्ठ, ओसेनिया संयोजक दिनेश पोखरेल, आईसीसी सदस्य डिल्ली ढकाल लगायतले कार्यालय पुग्दा नेपाल झल्किने भाव पाइएको बताए ।
कार्यक्रममा विभिन्न समुदायका नेता, व्यवसायी, पत्रकारका साथै सामाजिक अगुवाहरूको उपस्थिति थियो ।
नयाँ कार्यालय उद्घाटनसँगै वाणिज्य दूतावासले एनएसडब्लू क्षेत्रमा रहेका नेपालीहरूका प्रशासनिक तथा दूतावासीय सेवाहरू थप प्रभावकारी र सहजरूपमा प्रवाह गर्ने विश्वास गरिएको छ ।
सिड्नीको सबैभन्दा व्यस्त मानिने टाउनहलमा खोलिएको कार्यालयभित्र नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने गरी कलात्मक ढंगले सजावट गरिएको छ ।