काठमाडौं । सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगितामा कप्तान अन्जन विष्टको उत्कृष्ट दुई गोलको मद्दतले एनआरटी फाइनल प्रवेश गरेको हो ।
दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्यो । एनआरटीका लागि कप्तान अन्जनले दुई गोल र रिचार्ड विल्सनले एक गोल गरे । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए ।
पहिलो हाफमा कप्तान अन्जनले दुई गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो । खेलको २३औँ मिनेटमा एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट फिनिस गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोलमा परिणत गरे ।
दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३–० को अवस्थामा पुर्याए । उनले पेनाल्टी क्षेत्रभित्रबाट फार पोस्टमा सुन्दर फिनिस गरे ।
६५औँ मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे । त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए ।
८१औँ मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत देखाए । उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले सुन्दर फिनिस गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५:३० बजे खेल हुनेछ । दोस्रो सेमिफाइनल मंगलबार आयोजक वाग्मती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी