काठमाडौं । जापानको ओकिनावा प्रान्तीय पुस्तकालयभित्र नेपालबारे लेखिएका पुस्तकको छुट्टै 'पुस्तक कर्नर' स्थापना गरिएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सोमबार 'पुस्तक कर्नर'को उद्घाटन गरे ।
एलआरआई स्कुल काठमाडौं र ओकिनावा नेपाल फ्रेन्डसिप एसोसियसनको पहलमा नेपालबारे जानकारी दिने उद्देश्यले 'पुस्तक कर्नर' स्थापना गरिएको हो ।
'पुस्तक कर्नर'मा नेपालको संस्कृति, पर्यटन, इतिहास र शिक्षासँग सम्बन्धित पुस्तकहरू राखिनेछ । जसले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान दिने विश्वास लिइएको छ ।
'पुस्तक कर्नर'मा ५०० भन्दा बढी नेपाली भाषा, जापानी भाषा, अंग्रेजी भाषाका पुस्तक राखिएका छन् । राजदूत सुवेदीले आफूले थप ५०० पुस्तक लाइब्रेरीलाई प्रदान गर्ने बताएका छन् ।