काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)ले 'सन्तुलित, असंलग्न, विश्वसनीय, दिगो एवं पारस्परिक विश्वास र लाभ'माथि आधारित परराष्ट्र नीति चाहेको जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा परराष्ट्र नीतिबारे उल्लेख गरिएको छ ।
“कुनै पनि स्वतन्त्र राष्ट्रले अरूको आदेश, निर्देश वा हितका लागि काम गर्नुपर्ने बाध्यता अब नरहोस् । हामी स्वाधीनताको साँचो प्रयोगमा जोड दिन चाहन्छौँ,” ओलीले भनेका छन्, “राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर छिमेकीलगायत सबै मित्र राष्ट्रहरूसँग विश्वसनीय सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहन्छौँ ।”
प्रतिवेदनमा ओलीले नेपाल छिमेकीलगायत मित्र राष्ट्रका जायज चासो र सरोकारप्रति संवेदनशील रहेको जनाएका छन् ।
त्यसैगरी छिमेकी र सबै मित्र राष्ट्र पनि नेपालको राष्ट्रिय हित, यसको स्वतन्त्र विदेश नीति, बाह्य सम्बन्ध सञ्चालन र संवेदनशीलताप्रति संवेदनशील, सहयोगी र सकारात्मक बनून् भन्ने नेपालको चाहना भएको प्रतिवेदनमा उल्लेख छ ।
नेपालको बाह्य सम्बन्धको मूल आधार ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ हुनुपर्ने तर्क ओलीको छ ।
“गुण दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा हुँदैन भन्ने विषयमा नेकपा एमाले स्पष्ट छ,” प्रतिवेदनमा भनिएको छ ।