काठमाडौं । सुदूरपश्चिम कलाकार समाज काठमाडौंले पुस १५ पर्वका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले सोमबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानको डबलीमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
सुदूरपश्चिम, कर्णाली लगायतका ठाउँमा पुस महिनाको १५ गतेका दिन पर्व मनाउने चलन छ । पश्चिम नेपालका विभिन्न जिल्लामा यो चाड धुमधामले मनाउने गरिन्छ । पुस १५ को रातभर गाउँभरका सबै एकठाउँमा जम्मा भएर गाउँ खाने कथा, दन्ते कथा, आइन सुनाउँदै, देउडा खेल खेल्दै विभिन्न परिकार खाँदै रात बिताउने प्रचलन रहेको छ ।
पर्वको जगेर्ना गर्ने उदेश्यले सुदूरपश्चिम कलाकार समाजले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सांस्कृतिक कार्यक्रममा बैतडी र दार्चुलाबाट आएका कलाकारहरूले छलिया नृत्य समेत प्रस्तुत गरेका थिए ।