site stats
बाह्रखरी :: Baahrakhari
खेल
टेस्ट च्याम्पियनसिपको फाइनल पुग्न भारतलाई अरूको भर, अस्ट्रेलियालाई एक जित आवश्यक

काठमाडौं । बोर्डर–गाभास्कर टेस्ट शृंखलाको चौथो खेलमा घरेलु टिम अस्ट्रेलियासँग १८४ रनले पराजित भएसँगै भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । 

सोमबार अस्ट्रेलियाबाट पाएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले दोस्रो इनिङमा सबै विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो । 

Argakhachi Cement Island Ad

लक्ष्य पछ्याउने क्रममा भारतका ओपनर यशस्वी जयसवालले सर्वाधिक ८४ रन बनाए । ऋषव पन्तले ३० रन थपे । यसबाहेक, भारतका अन्य ब्याटर दोहोरो अंकसम्म पनि पुग्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्न घरेलु टिमका कप्तान प्याट कुमिन्स र स्कट बोल्यान्डले समान तीन विकेट लिए । नाथन लियोनले दुई विकेट लिँदा मिचेल स्टार्क र ट्राभिस हेडको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो । भारतले पहिलो इनिङमा ३६९ रनमात्र बनाएको थियो । 

दोस्रो इनिङमा अस्ट्रेलियाले सबै विकेट गुमाउनुअघि २३४ रन बनायो । पहिलो इनिङमा १०५ रनले अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा २३४ रन थपेपछि ३३९ रनको अग्रता बनाएको थियो । ३४० रनको लक्ष्यसहित मैदान उत्रिएको भारतले दोस्रो इनिङमा स्वभाविक ब्याटिङ गर्न सकेन ।

यो हारको अर्थ भारतले अब टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन अरू टिमको नतिजामा भर पर्नुपर्छ । बोर्डर–गाभास्कर शृंखलामा भने भारतको अझै मौका छ । भारतले पाँचौँ तथा अन्तिम खेलमा जित निकाले शृंखला बराबरी गर्नेछ । 

यो जितसँगै अस्ट्रेलिया भने च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ । अस्ट्रेलियाले यसै शृंखलाको अन्तिम खेलमा भारतविरुद्ध जित निकाले च्याम्पियनसिपको फाइनल यात्रा तय गर्नेछ । यसअघि, पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले च्याम्पियनसिपको फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्