site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा उज्वेकिस्तान ३–१ ले अघि, घरेलु टिमको खेलाडीलाई रातो कार्ड

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानले नेपालविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ । उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा जारी खेलमा घरेलु टिमले पहिलो हाफमा नेपालविरुद्ध सहज अग्रता कायम गरेको हो ।

नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । लुडमिला काराचिकले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाइएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै स्कोरलाई २–१ मा ल्याएकी थिइन् । तर, ३८औँ मिनेटमा नेपालकी सरस्वती हमालको ह्यान्ड हुँदा उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा उज्वेकिस्तानकी मफ्तुना सोयीमोभाले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् ।

पहिलो हाफको इन्ज्युरी समयमा नोजिमा इर्गासेभाले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै बाहिरिँदा उज्वेकिस्तान १० खेलाडीमा सीमित बनेको छ ।

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । 

उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हरायो । आफ्नो दोस्रो खेलमा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको थियो ।

समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेका छन् । गोल आधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्