
हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएको छ । उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।
हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अफ्ठयारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ,” उनले भने ।
सिमकोटमा हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयान कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । रासस