site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको निर्देशन : अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर होइन निर्णय गराएर आउनूस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप–३० मा जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताएका हुन् ।

सम्मेलनका दिइने तीन मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारीबिनै उत्कृष्ट रूपमा आफ्ना धारणा र एजेन्डाहरू प्रस्तुत गर्नुपर्ने बताए । उनले कोप–३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने उल्लेख गरे । नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्यूनीकरणका लागि ठोस नीति बनाउनुपर्ने बताए । कसको जिम्मेवारी के ? कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकूलनका लागि काम गर्ने बताए । अहिलेदेखि नै कोप–३० को तयारीमा लाग्न निर्देशन दिए ।

कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरूको प्रतिवेदन बनाउने र आफ्ना एजेन्डाहरू दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिए । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

"साझा प्रतिवद्धता सबैभन्दा महत्वपूर्ण कुरा छ । जसमा हामी जानुपर्छ । कोप ३० मा जाँदा विशेष तयारीका साथ जानुपर्दछ । लेक्चर सुनेर आउने होइन, निर्णय गराएर आउने । हामीले लिड गर्नुपर्छ, यी इस्यूहरूमा," प्रधानमन्त्री ओलीले भने, "नेपाल देखिने, सुनिने हुनुपर्छ । नेपाल बुझिने हुनुपर्छ । नेपालले प्रस्तावहरूमार्फत लिड गर्नुपर्छ, इन्भारोमेण्टल क्वेशनमा किनभने यसको मार सबैभन्दा बढी हामीलाई परेको छ । यसको समाधान यहाँबाट खोज्न प्रारम्भ गरिनुपर्दछ । हाम्रा मन्त्रालयहरूले ठोस योजनाहरू बनाउनु पर्दछ ।"

प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामूलक कार्यक्रमहरूमार्फत वातावरण सफा राख्नसक्ने बताए । वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro