काठमाडौं । बंगलादेशको राजधानी ढाकाको सेगुनबागीचा क्षेत्रमा रहेको सरकारको सचिवालयमा आगलागी भएको छ । गए राति सुरुमा सचिवालय भवन नम्बर ७ बाट आगलागी सुरु भएर फैलिएको ढाका ट्रिब्युनले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि झन्डै २० वटा दमकल खटाइएको थियो । तर, ठाउँ अभावका कारण १० वटा दमकलमात्र प्रयोग गरिएको थियो ।
आगो नियन्त्रणमा लिन २११ जना अग्नि नियन्त्रक परिचालन गरिएको थियो । झन्डै ६ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भवनको छैटौँ, सातौँ, आठौँ र नवौँ तलामा क्षति पुगेको समाचारमा उल्लेख छ । आठौँ र नवौँ तलामा बढी क्षति भएको छ । केही महत्त्वपूर्ण कागजात पनि जलेका छन् ।
यसैबीच, आगलागी नियन्त्रणमा खटिएका एकजना अग्नि नियन्त्रको मृत्यु भएको छ । ट्यांकरमा पाइप लगाउन जानेबेला ट्रकको ठक्करबाट उनको निधन भएको हो ।