आज पनि म
आफ्नै पहिचानको खोजीमा
हिँडिरहेछु,
आफूलाई आफैँभित्र खोजिरहेछु !
बित्यो तीन दशक
यसै खाल्टोमा
भाग्यले जता डोर्यायो
पाइलाले त्यतै पुर्यायो
तर, आज फर्की हेर्दा
‘सुप’कै पहिचानमा उभिइरहेछु ।
जाति, वर्ग, लिंगमा नभई
भेगमा उभिएको मेरो पहिचान
बोलीको लबजले नै
किनारा काट्दो रहेछ ।
यतैको हुँ भन्दा भन्दा नै
पहाड घर कता हो सोद्धा रहेछन् ।
हो, अर्काको पुर्खाको
थातथलो चिन्नु बेस
तर, कहिलेसम्मको बसाइ हेर्ने हो ?
नदी र बसाइ त सरी रहन्छन्
हिजो उत्तर हो कि दक्षिण, भन्नै मिल्दैन
आज यहाँ, भोलि कहाँ भन्नै सकिन्न !
ठाउँ, भेगभन्दा देश नै ठूलो
जताको फूल भए पनि फूलबारी त मेरै !
पहिचानको यस मुद्दामा
सुन्दर शान्त नेपाल हराउनु हुँदैन ।
जसले जे भने पनि
मैले भन्ने यति नै हो–
म पनि यही देशको,
चुच्चे नक्सातिरैको
सुपतिरैको,
कञ्चनपुरैको !