काठमाडौं । दक्षिण कोरियाली लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रले आग्रह गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले दक्षिण कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेको हो ।
दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेस्टर सेमिनार’लाई सम्बोधन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारतबाहेक सबैभन्दा राम्रो रहेकाले नेपालमा ढुक्कसँग लगानी गरी सहज र सुरक्षित प्रतिफल लिन आग्रह गरेका हुन् ।
नेपालको जलविद्युत् क्षेत्रमा कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण अघि बढाएकामा धन्यवाद दिँदै अध्यक्ष कार्कीले नेपालमा ऊर्जा उत्पादनको ठूलो सम्भावनालाई साकार पार्न कोरियाबाट धेरै ठूलो लगानीको अपेक्षा गरेको बताए ।
नेपालको जलविद्युत्को जडित क्षमता २०० आयोजनाबाट ३२ सय मेगावाट पुगेकामा झन्डै ८० प्रतिशत अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ ।
चार हजार मेगावाट निर्माणाधीन र त्यति नै क्षमताका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको, १० हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद विक्री सम्झौता (पीपीए)को पर्खाइमा रहेको र २८ हजार मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा रहेका छन् । यी आयोजनाको क्षमताले नेपाल विश्वबजारमा क्लिन इनर्जीको हबको रूपमा स्थापित हुने पनि उनको भनाइ थियो ।
नेपालले अहिले वर्षायाममा एक हजार मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिरहेको छ । भारतबाट हिउँदमा ७०० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ ।
सन् २०३५ सम्म नेपालले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएकामा १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५०० मेगावाट आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ । यसका लागि नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचना निर्माणमा लगानी चाहिने कार्कीले बताए ।