site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालागुरु षडानन्दको १९०औँ जयन्तीमा तीन पुरस्कार वितरण

काठमाडौं । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले बालागुरु षडानन्दको १९०औँ जयन्तीमा विशिष्ट तीन व्यक्तित्वहरूलाई पुरस्कृत गरेकाे छ । उक्त प्रतिष्ठानको १७औँ वार्षिकोत्सवका अवसरमा गत शुक्रबार पुरस्कार वितरण गरिएकाे हाे ।
 
यस वर्षकाे षडानन्द राष्ट्रिय पुरस्कार प्रा.डा.जगदीश चन्द्र रेग्मी (गोकर्ण, काठमाडाैं)लाई प्रदान गरिएकाे छ । त्यस्तै, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार सुश्री भद्रकुमारी घले (डिल्ली बजार, काठमाडौँ)लाई प्रदान गरिएकाे छ भने षडानन्द क्षेत्रीय पुरस्कार श्री कुन्ता शर्मा, (धरान)लाई प्रदान गरिएकाे छ । 

रेग्मी नेपालको इतिहास, संस्कृति, कला तथा वास्तुकलाका अनुसन्धाता हुन् भने घले वरिष्ठ समाजसेवी, कलाकार तथा साहित्यकारका रूपमा परिचित छिन् । त्यस्तै, शर्मा  सामाजिक जागृतिमूलक सशक्त कवि हुन् ।  

सो प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतमको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध वैज्ञानिक, वनस्पति तथा वातावरणविद् प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले एक लाख रुपैयाँ राशिको षडानन्द राष्ट्रिय पुरस्कार, एकाउन्न हजार रुपैयाँ राशिको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र एकाउन्न हजार रुपैयाँ राशिकै षडानन्द क्षेत्रीय पुरस्कार गरी तीन पुरस्कार प्रदान गरे । 

गतवर्ष षडानन्द राष्ट्रिय पुरस्कार प्राच्य दर्शन तथा तन्त्रशास्त्रका सुविख्यात विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई र षडानन्द अख्यानकार परशु प्रधानलाई र हरेक दुई वर्षमा प्रदान गरिने षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार यसअघि ०७९मा परोपकार संस्थालाई प्रदान गरिएको थियो ।

सो समारोहमा प्रमुख अतिथि प्राज्ञ डा. श्रेष्ठले पुरस्कृत व्यक्तित्व प्राध्यापक रेग्मी नेपालको राजनीतिक तथा सांस्कृतिक इतिहासका चर्चित अध्येता रहेको विचार व्यक्त गरे । उनले भने,“डा. रेग्मीका पुस्तकहरु सांस्कृतिक अध्ययन अनुसन्धानका प्रामाणिक उदाहरण बनेका छन्।” 

डा. श्रेष्ठले नेपाली समाजको विगत र वर्तमान चरित्रको तुलनात्मक समीक्षा गरे ।विगतमा भूमिदान अभियान चलाएर गुठी राखिने गरेकाे स्मरण गर्दै उनले अहिले भू–माफियाका हातमा जग्गा राखिने गरेकाले यस्ता विकृति विसंगतिविरुद्ध सामाजिक जागरण चाहिएको टिप्पणी गरे । 

षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कारबाट पुरस्कृत सुश्री घलेको समाज सेवा तथा साहित्य सिर्जनाको चर्चा भएको, तर कलाकार (फाइन आर्ट) व्यक्तित्वको चर्चा नभएको उनले बताए । “उहाँको एकल चित्रकला प्रदर्शनीमा मैले पनि चित्रहरू हेरेको छु, उहाँको कलाकार व्यक्तित्व बेजोड छ यस पाटोलाई पनि बिर्सनु हुँदैन,” श्रेष्ठले भने । उनले सामाजिक विकृति उन्मूलनमा कविता सशक्त माध्यम बन्ने धारणा राख्दै कुन्ता शर्माको कवितामा सामाजिक विकृतिको अन्त्यसँगै सुधारको चाहना रहेको धारणा व्यक्त गरे । 

षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित प्रा.डा.रेग्मीले षडानन्दजस्ता महात्माको प्रसाद पाउँदा आफू गौरवान्वित भएको विचार व्यक्त गरे । षडानन्दका कार्यको स्मरण गर्दै उनले भने,“गुरुले त्यो जमानामा विद्यालय तथा मठ मन्दिरको स्थापना र सञ्चालन जस्ता समाज कल्याणकारी कार्यमा लगाएका सम्पूर्ण प्रयास प्रशंसनीय छन् ।” उनले षडानन्दका कार्यलाई विस्मृतिमा जानबाट जोगाउन प्रतिष्ठानले सराहनीय भूमिका खेलेकाे बताए । 

समारोहमा सुश्री घलेले षडानन्दजस्ता महात्माको नाममा स्थापित संस्थाबाट सम्मानित हुनु गौरवको विषय मान्दै उनलाई प्रदान गरिएको पुरस्कार राशिमा थप १० हजार रुपैयाँ थपेर सोही संस्थालाई अर्पण गरिन् । 

षडानन्द क्षेत्रीय पुरस्कारबाट सम्मानित कवि कुन्ता शर्माले आफ्नो संघर्षको संस्मरण गर्दै बालागुरुको नाममा स्थापित पुरस्कार पाउँदा गौरवको अनुभूति भएको उल्लेख गरिन् । 

समारोहमा प्रतिष्ठानले प्रकाशित गरेका ‘षडानन्द संस्मरण ग्रन्थ’ र वरिष्ठ कवि माधव वियोगीद्वारा लिखित ‘कर्मयोगी षडानन्द महाकाव्य’ तथा शब्दयात्रा प्रकाशनबाट प्रकाशित र सुदीप अधिकारीद्वारा लिखित ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ नामका तीन ग्रन्थ लोकार्पण गरिएका थिए । लोकार्पित कृतिका बारेमा प्रतिष्ठानका उपाध्यक्ष प्रा. लालानाथ सुवेदी र महाकाव्यकार माधव वियोगीले प्रकाश पारे । 

सो समारोहमा ‘कर्मयोगी षडानन्द महाकाव्य’का महाकाव्यकार वरिष्ठ कवि माधव वियोगी र ‘आबाल ब्रह्मचारी षडानन्दको व्यवस्थापन कुशलता’ पुस्तकका लेखक व्यवस्थापनविद् यादव कुमार चापागाईंलाई सम्मान गरिएको थियो।

सो कार्यक्रममा प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने महानुभावहरुलाई दाता सम्मान पत्र र नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियाे । 

सो सभामा प्रतिष्ठानका सचिव प्रा.डा.बद्रीविशाल भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्री आत्मेश्वर चापागाईंले प्रस्तुत गरेको आयव्यय प्रतिवेदन पारित गरिएकाे थियाे । 

सभाध्यक्ष प्रा. चेतोनाथ गौतमको मन्तव्यसहित सम्पन्न समाराेहमा कार्यक्रमकाे सहजीकरण प्रतिष्ठानका सदस्य रवीन्द्र अधिकारीले गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro