site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनिता बन्नेछिन् गण्डकीको ‘नयाँ माननीय’

पोखरा । गण्डकी सरकारले गएको मंसिर २० गते राजपत्रमा प्रदेशसभा सचिवालयको सूचना प्रकाशित गर्दै गण्डकी प्रदेशसभा सदस्यको स्थान रिक्त भएको सूचना प्रकाशन गर्‍यो । उक्त सूचनामा, ‘म्याग्दीको बेनी नगरपालिका–८, निवासी प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य माननीय विमला गौचनको मिति २०८१/०७/२९ गते ग्राण्डी अस्पताल काठमाडौंमा मृत्यु भएकोले नेपालको संविधानको धारा १८० को खण्ड (च) बमोजिम गण्डकी प्रदेशसभा सदस्यको उक्त स्थान रिक्त हुन आएको व्यहोरा ... ।’ उल्लेख गरिएको छ ।

२०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गौचन नेपाली कांग्रेसको समानुपातिक प्रणालीको बन्दसूचीमा आदिवासी/जनजाति समूहको महिला क्लस्टरको पहिलो नम्बरमा थिइन् । उनै गौचन २०७९ पुस १४ गते शपथ लिँदै प्रदेशसभा सदस्य बनेकी थिइन् । तर, उपचारको क्रममा उनको गत कात्तिक २९ गते निधन भएको थियो ।

निधनपछि प्रदेशसभाले उनको स्थान रिक्त भएको सूचना प्रकाशन गरेको हो । समानुपातिक प्रणालीबाट निर्वाचित गौचनको निधन भएपछि २०७४ को समानुपातिकतर्फको बन्दसूचीको आधारमा उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा प्रदेशसभा सदस्य बन्ने भएकी छन् ।

सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापाको नाम अनुमोदन गरेको छ । कांग्रेसले गौचनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । सोही बैठकले समानुपातिकको बन्दसूचीको आदिवासी जनजाति समूह महिलातर्फ प्राथमिक क्रमसंख्या पाँचमा रहेकी थापालाई प्रदेशसभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो निर्णयअनुसार कांग्रेसले थापाको नाम आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगमा पत्राचार गर्नेछ । प्रदेशसभाले पनि सदस्य पद रिक्त भएको बारेमा निर्वाचन आयोगलाई लिखित रूपमा जानकारी गराइसकेको छ ।

नयाँ प्रदेशसभा सदस्यको रूपमा आउने थापा स्याङ्जाको चापाकोट नगरपालिका–९ की हुन् । २०४९ सालमा जन्मिएकी थापा गण्डकी प्रदेशसभाकै सबैभन्दा कनिष्ठ प्रदेशसभा सदस्य समेत बन्नेछिन् ।

थापा अपांगता भएका व्यक्तिहरूको हकहितमा सक्रियताका साथ काम गर्दै आइरहेकी छन् । कक्षा ६ मा पढ्ने बेलामा श्रवण शक्ति गुमाएकी थापा प्रदेशसभा सदस्य बनेसँगै गण्डकी प्रदेशसभामा अपांगता/अल्पसंख्यकको पनि प्रतिनिधित्व हुनेछ । स्नातकसम्म अध्ययन गरेकी थापा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् । राष्ट्रिय अपांग महासंघ, गण्डकी बहिरा संघलगायत संघसंस्थामा उनी क्रियाशील छन् ।

अपांगता भएका व्यक्तिको अधिकारको पैरवी गर्ने क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समेत सहभागी भएकी छन् । सांकेतिक रूपमा संवाद गर्ने थापा सदस्य बनेसँगै प्रदेशसभामा दोभाषेको व्यवस्था गर्नुपर्ने भएको छ । त्यसो त दोभाषेको प्रबन्ध गर्न प्रदेशसभा सदस्य सरस्वती गुरुङले विशेष र शून्य समयमा तीनपटकसम्म माग गरेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro