
काठमाडौं । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले सात करोड रुपैयाँ पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी ’बीएमडब्लू एक्स सेभेन एक्स–ड्राइभ ४० आई’ ल्याएको एक हप्ताभित्र बिक्री गरेको जनाएको छ ।
कम्पनीका अनुसार, यो मोडल गएको कात्तिक २९ गते नेपाल आयात गरिएको थियो । त्यसको एक हप्तामै गाडी बिक्री गर्न सफल भएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुत, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी नेपालमा आएको अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीले जनाएको छ ।
यो गाडी बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्टरूपमा उजागर गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले जनाएअनुसार, 'बीएमडब्लू एक्स सेभेन एक्स–ड्राइभ ४०आई'को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।
यस उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सको भनाइ छ ।