
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह (रेमिट्यान्स) एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । उक्त वैशाख मसान्तसम्मको तुलनामा यो वर्षको १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।
अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो ।