site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कान्तिपुर कन्क्लेभ कात्तिक २८ र २९ मा : लोकतन्त्रलाई समृद्ध बनाउने बहस

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले यही कात्तिक २८ र २९ गते कान्तिपुर कन्क्लेभको आयोजना गरेको छ । सूचना संयन्त्रलाई थप जिम्मेवार बनाउन, प्रश्न र बहसलाई सघन बनाउन, जवाफदेहीताको पक्षमा आवाज सशक्त बनाउन र समग्रमा लोकतन्त्रलाई समृद्ध बनाउन सार्थक बहस र हस्तक्षेपलाई प्रवर्द्धन गर्न कान्तिपुर कन्क्लेभ २०२४ को आयोजना गरिएको ग्रुपले बताएको छ ।

‘डेमोक्रेसी इन डिलिमा’ अवधारणामा आयोजना हुने चौथो संस्करणको कन्क्लेभको बहसका १२ सत्रमा ५० वक्ता छन् । तीमध्ये १० जना विदेशी पाहुना छन् ।

शासन प्रणालीमाथिका प्रश्न, सार्वजनिक सेवा प्रवाहका मुद्दा, आर्थिक विकासका अवधारणा, नवप्रवर्तनका आयाम क्षेत्रीय सहकार्य र भूमण्डलका चुनौतीमाथि सार्थक बहसका लागि कान्तिपुर मिडिया ग्रुपले कन्क्लेभ आयोजना गर्दै आएको बताएको छ ।

संसारका आधाभन्दा धेरै बालिग जनसंख्याले देशको नेता र नीति छान्ने निर्वाचनमा भाग लिएका कारण यस वर्ष सन् २०२४ लोकतन्त्रका लागि उत्सवमय बनेको बताइएको छ । भारतदेखि अमेरिका, रुसदेखि बेलायत तथा अफ्रिकाको नाइजेरियादेखि दक्षिण अमेरिकाको अर्जेन्टिनासम्मका जनताले मतदानमार्फत देशको मार्गचित्र कोर्ने यात्रामा भाग लिँदा मतदातालाई प्रभावित गर्ने पपुलिजमुको लहर पनि विश्वभर चलेको आयोजकको भनाइ छ ।

सूचना प्रविधिको विकास, सामाजिक सञ्जालको विस्तार र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षमता मानव जातिका लागि वरदान हुनुपर्नेमा प्रविधिको दुरुपयोग गरेर फेक न्युज, मिस्इन्फर्मेसन र डिस्इन्फर्मेसन फैलाएर समाजलाई दिग्भ्रमित गर्ने उद्यमले लोकतन्त्रको आयाममाथि चुनौती बढाएको ग्रुपको भनाइ छ । कन्क्लेभको बहस यिनै विषयमा केन्द्रित छ ।

कन्क्लेभको कि नोट स्पिचका लागि नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी छन् । कन्क्लेभको वक्ताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत छन् ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेशी, राजनीतिशास्त्री प्रताप भानु मेहता, विल्सन सेन्टर अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान, हुवाङचोङ विश्वविद्यालय चीनको इन्स्टिच्युट अफ स्टेट गभर्नेन्सका वाङ पेड द हिन्दुकी डिप्लोमेटिक अफेयर्स एडिटर सुहासिनी हैदर, भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादव, बेलायती लेखक तथा पत्रकार थोमस बेल र अमेरिकी पत्रकार पिटर गिल विभिन्न सेसनमा सहभागी हुने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

कन्क्लेभको पहिलो दिन बुधबार क्रमशः दोबाटोमा लोकतन्त्र, नीति र समृद्धि, लोकरिझ्याइँको लहर, सामाजिक सञ्जालः दुईधारे तरबार, कलम र शक्तिः नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक र प्रचण्डपथः सडक कि सत्ता ? शीर्षकमा बहस हुने बताइएको छ ।

दोस्रो दिन बिहीबार निर्वाचन सुधारः नीति कि प्रवृत्ति, भूराजनीतिक खलबल, मैदानमा महिला नायक, सीमापार समृद्धि, मुख्यमन्त्रीका मुख्य मुद्दा र प्रधानमन्त्रीसँग परिसंवाद शीर्षकमा सेनस हुने भएका छन् ।

वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला, विचारकहरूको बृहत् मञ्च कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र नभई समाधानको प्रारूपमा पनि बहस गरिने मिडिया ग्रुपले बताएको छ ।

कन्क्लेभमा एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्टस्को सह–प्रायोजन छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro