चार वर्षअघि हार ब्यहोरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शक्तिशाली कुर्सीमा दोस्रोपटक विराजमान हुन सफल भएका छन् । विश्वको धनी र शक्तिशाली राष्ट्र अमेरिकाको दोश्रो पटक राष्ट्रपति बनेसँगै ‘विश्व व्यवस्था’मा पार्न सक्ने असरबारे अनेकन कोणबाट विश्लेषण पनि गरिँदैछ ।
अर्काे त, कुनैबेला राज्यबाटै लेखेटे जस्तो स्थितिमा पुगेका ट्रम्पले यति धेरै मत ल्याएर विजयी होलान् भनी कसैले सोचेको पनि थिएनन् ।
चौतिस प्रकरणमा संलग्नता भएको अभियोग लागेका र अघिल्लो कार्यकालमा दुई–दुईपटक सिनेटमा महाभियोग प्रस्ताव खेपेका ट्रम्पलाई लोकतान्त्रिक शासन व्यवस्थामा जनताले मत दिएपछि कसैको केही लाग्दो रहेनछ ।
सिनेटमा पनि रिपव्लिकन पार्टीलाई बहुमत प्राप्त भएको छ भने प्रतिनिधिसभामा दुई सय बाह्र सिट प्राप्त भएको छ ।
तल्लो सभामा रिपव्लिकन पार्टीलाई बहुमत ल्याउन अब छ्र सिटको आवश्यक्ता पर्ने देखिन्छ । छ सिट पनि अन्तिम परिणामको घोषणा हुँदासम्म प्राप्त हुने अवस्था छ ।
कंग्रेसका दुवै सदनमा बहुमतसहित राष्ट्रपति निर्वाचित हुनु रिपब्लिकन पार्टी र ट्रम्पका लागि निकै झन् शक्तिशाली हुनेछन् । अब दुई वर्षका लागि राष्ट्रपति ट्रम्पलाई आफ्नो नीति, योजना, कार्यक्रम र बजेट पारित गर्न गराउन निकै सहज हुनेछ ।
प्रतिस्पर्धी कमला ह्यारिसले आफनो हार स्वीकार्दै ट्रम्पलाई बधाई पनि दिइन् । बधाई दिने क्रममा उन्ले दुईवटा महत्वपूर्ण कुरा भनेकी छन् ।
पहिलो, अमेरिकी लोकतन्त्रमा हुने गरेका निष्पक्ष निर्वाचन परिणामलाई सहर्ष स्वीकार्ने र दोस्रो शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने प्रक्रिया सम्झाएकी छन् । ट्रम्पले सन् २०२० को चुनाव परिणामलाई स्वीकार्न हिचकिचाएको र शान्तिपूर्ण किसिमले सत्ता हस्तान्तरण अवरोध गरेका थिए ।
वास्तवमा भन्ने हो भने अमेरिका जस्तो लोकतान्त्रिक शासन व्यवस्थाका लागि निष्पक्ष निर्वाचन परिणाम सहर्ष स्वीकार नगर्ने र शान्तिपूर्ण रुपले सत्ता हस्तान्तरण नगर्ने प्रवृत्ति देखाउनु राम्रो जायज थिएन । साथै उनले समर्थक र कार्यकर्ताहरूलाई धैर्य धारण गर्न र अझ मिहेनत गर्न पनि आग्रह गरेकी छन् ।
चुनावमा हार–जित हुनु सामान्य नियम हो । लोकतान्त्रिक देशमा जुनसुकै पार्टीको उमेदवारले पनि चुनाव परिणाम सहर्ष स्वीकार्न तत्पर हुनु पनि पर्छ ।
दुई सय ३५ वर्षको लोकतान्त्रिक इतिहास बोकेको अमेरिकाले आफ्नो लोकतान्त्रिक र उदार शासन व्यवस्थाका मूल्य–मान्यता र सिद्धान्त अझ परिस्कृत गर्दै जानु राम्रो हुन्छ ।
नेपाल जस्तो तेश्रो विश्का धेरै नेताले झैँ सिद्धान्त, नैतिकता र मूल्य–मान्यताभन्दा निजी र पार्टीगत स्वार्थको राजनीति गर्ने प्रवृत्ति अमेरिका तथा बेलायतका नेताहरूले देखाउन मिल्दैन । ती देशका नेताहरूको राजनीतिक सोच, व्यवहार र संस्कार धेरै उच्चस्तरको हुनुपर्छ ।
अमेरिकी लोकतन्त्रको विशेषता र सौन्दर्यता भनेकै वास्तवमा नागरिक स्वतन्त्रता, मानव अधिकारको सम्मान, निष्पक्ष र स्वतन्त्र (धाँधलीरहित) निर्वाचन, आवधिक निर्वाचन हो । त्यसअतिरिक्त न्यायिक सर्वोच्चता, राज्यका तीन अंग (कार्यकारिणी, संसद् र न्यायपालिका) बीच तथा संघीय सरकार, राज्य सरकार र स्थानीय सरकारबीचको अधिकार र शक्तिको संवैधानिक बाँडफाड र स्वतन्त्र किसिमको उपयोग हुन् ।
नेपालमा संघीय शासन व्यवस्था लागू भएको नौ वर्षको अवधिमा संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधानमै उल्लेखित अधिकार र शक्ति प्रयोगमा बाधा उत्पन्न गरिरहेको छ ।
अमेरिकाले ब्यक्तिगत र पार्टीगत स्वार्थ र हितभन्दा राष्ट्र र जनताको स्वार्थ र हितलाई हेर्दै संविधान बनाएकै कारण सफल भएको छ । त्यहीकारण २ सय ३५ वर्षदेखि एकै संविधान चलिरहेको छ, संशोधन गरिनुबाहेक ।
नेपालमा संविधान बनाउँदा राष्ट्र र जनताको स्वार्थ र हितभन्दा नेता र पार्टीहरूको स्वार्थ र हितलाई हेरिएकाले नौ वर्षमै संशोधन गर्नुपर्ने आवाज उठेको छ ।
सन् २०१६ मा हिलारी क्ल्न्टिनसँगको प्रतिस्पर्धा पनि ट्रम्प राष्ट्रपति चुनिन सफल भएका थिए । महिला उम्मेद्वारलाई भन्दा पुरुषलाई अमेरिकामा पनि बढी मन पराइनुलाई तेश्रो विश्वका मानिसले अचम्म मानिरहेका छन् ।
रिपब्लिकन पार्टीलाई यति धेरै जनमत प्राप्त हुनुका पछाडि राष्ट्र उम्मेदवार ट्रम्पको चुनावी एजेण्डा, गैरकानुनी रुपमा अमेरिकामा बसेका आप्रवासीहरूलाई सम्वन्धित देशमा फिर्ता गर्ने घोषणा हुनु हो ।
त्यसअतिरिक्त कर घटाउने, रोजगारी वृद्धि गर्ने, सीमामा पर्खाल लगाई अपराध र लागू ओषध तथा दुव्र्यसन नियन्त्रण गर्ने एजेण्डा पनि अघि सारेका छन् । उनले अमेरिकालाई फेरि महान राष्ट्र बनाउने, विदेशबाट आयात हुने वस्तुमा कर भन्सार बढी लगाई घाटा कम गर्ने तथा युद्ध र हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अमेरिकामा सिनेट र प्रतिनिधिसभामा बहुमत ल्याउनु जुनसुकै पार्टीका राष्ट्रपतिलाई पनि जरुरी मानिन्छ । बहुमत आयो भन्दैमा अमेरिकी राष्ट्रपतिलाई नेपालमा झैँ ह्विपको भरमा काम गर्न सजिलो हुँदैन ।
जे भए पनि दुई वर्ष राष्ट्रपति ट्रम्पलाई काम गर्न सहज त देखिन्छ । तर यसका लागि उनले पहिला रिपब्लिकन पार्टीका नेताहरूसँग समन्वय र सहकार्य गर्न जरुरी हुन्छ । साथै डेमोक्रयाट पार्टीका नेताहरूसँग पनि समन्वय र सहकार्य गर्न जरुरी हुन्छ ।
अमेरिकाको राष्ट्रपति वास्तविक कार्यकारी प्रमुख हो । उसले वा तिनले अमेरिकाको साथै विश्वकै नेता भएर काम गर्नुपर्ने प्रचलन बसिसकेको छ । तर पहिलो कार्यकालभन्दा यो राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय वातावरण र स्थिति बिग्रेका कारण र जताततै मन्दी र उत्पादकत्व तथा रोजगारी घटेको कारण त्यति सहज देखिँदैन ।
अर्को कुरा, रुस र युक्रेनबीच दुई वर्षदेखि जारी युद्ध र इजरायल तथा प्यालेस्टाइनबीच जारी युद्धले तेश्रो विश्व युद्ध निम्त्याउँछ कि भन्ने आशंका छ । यो अवस्थामा विश्व फेरि अमेरिकी र रसियन नेतृत्वको दुई धु्रवमा विभाजित भएको अवस्था छ ।
साथै राष्ट्रपति ट्रम्पले नाटोसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछन् भन्ने कुराले पनि विश्वमा आउने विभिन्न घटनामा सकारात्मक भूमिका खेल्छ ।
त्यो पृष्ठभूमिमा उनको सोच र दृष्टिकोण पहिलाभन्दा फरक र सकारात्मक हुनुपर्छ भन्ने तेश्रो विश्वका नेताहरूको धारणा देखिन्छ ।
ट्रम्पको पहिलो कार्यकालमा विश्वमा त्यति ठूला युद्ध र झगडा थिएनन् । अमेरिका र अन्य ठूला देशकै कारण विश्वमा जताततै अशान्ति, विद्रोह, लडाई भइरहेको छ ।
मध्यपूर्व एसिया, अफ्रिका, रुस र युक्रेनबीचका्े युद्धले तेश्रो विश्व युद्धको रुप लिने आशंका बढेर गएको अवस्था छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व शान्ति, जलवायु परिवर्तन तथा भातृत्व प्रवद्र्धनमा विशेष भूमिका र कार्य गर्नुपर्ने आवश्यकता छ ।
पहिलेभन्दा भिन्न सोच र दृष्टिकोणका साथ उनी दोश्रो कार्यकालमा लाग्नुपर्ने देखिन्छ । उनले विश्व शान्ति र भातृत्व प्रवद्र्धनमा अलिकति हेलचक्रयाई गरे भने भयंकर विनाशकारी तेश्रो विश्व युध्द हुने खतरा बढेर जानेछ ।
spjthapa@gmail.com