अमेरिकाको राष्ट्रपतिमा कस्ले बाजी मार्छन् भन्ने थाहा पाउन अब एक दिनमात्र कुरे पुग्छ । भोलि नोभेम्बर ५ तारिक मंगलबार हुने चुनावमा जस्ले इलेक्ट्रोल कलेज (निर्वाचक मण्डल) मत २७० कटाउँछ उही नै अमेरिकाको ४७ औं राष्ट्रपति हुनेछ । अनि आउँदो जनवरी २० देखि कार्यभार सम्हाल्नेछ ।
राष्ट्रपति हुन २७० इलेक्ट्रोल मत पाउनै पर्छ । अमेरिकाका सबै राज्यबाट जनसंख्याका आधारमा कम्तीमा तीनदेखि बढीमा ५४ इलेक्ट्रोल कलेज मतभार हुन्छ । हरेक १० वर्षमा हुने जनगणना र त्यसबाट राज्यको जनसंख्यामा हुने फेरबदलले इलेक्ट्रोल कलेजको संख्यामा पनि परिवर्तन हुने गरेको छ । सबैभन्दा बढी इलेक्ट्रोल मत क्यालिफोर्नियासँग ५४ रहेको छ भने थोरैमा वासिङ्गटन डिसी, भरमन्ट, डेलावरसँग ३/३ रहेका छन् ।
जित्नेले सबै लैजाने
अमेरिकाका हरेक राज्यमा राष्ट्रपतिमा जुन उमेदवारले बढी मत (चाहे एक मतनै किन नहोस्) ले जित्छ त्यो राज्यमा रहेका सबै इलेक्ट्रोल मत त्यही उमेदवारले प्राप्त गर्छ । अमेरिका संघीय राज्यहरूको एकीकृत रूप भएकोले संघीय राज्यमध्ये जुन राज्यमा जस्ले जित्छ त्यसैको प्रतिनिधित्व गर्ने इलेक्ट्रोलले राष्ट्रपति चुन्छन् । यस हिसाबले सर्वसाधारणले मतपत्रमा भोट हाल्दा राष्ट्रपति/उपराष्ट्रपतिलाई मत दिए पनि त्यस राज्यमा एक मतले मात्र पनि जुन दलले जित्छ जति पनि इलेक्ट्रोल छन् ती सबै जित्ने दलको पोल्टामा पर्छ । चयन भएका इलेक्ट्रोलहरूले डिसेम्बर १७ मा आफ्नो राज्यको राजधानीमा जम्मा भएर राष्ट्रपतिका उमेदवारलाई भोट हाल्छन् । त्यतिखेर जो उमेदवारले दुईसय ७० इलेक्ट्रोल मत प्राप्त गर्छन् उही राष्ट्रपतिमा निर्वाचित हुन्छ ।
इलेक्ट्रोलहरूले आफ्नो पार्टीको उमेदवार बाहेकलाई भोट हाल्ने संभावना हुँदैन । त्यसमा पनि ३८ राज्यका इलेक्ट्रोलहरूले आफ्नो पार्टीको उमेदवारबाहेक अरूलाई भोट दिन पाउँदैनन् । बाँकी राज्यका भने आफूले चाहेका राष्ट्रपतिका उमेदवारलाई भोट दिन स्वतन्त्र हुन्छन् । तर यो संभावना निकै झिनोमात्र हुन्छ ।
इलेक्ट्रोल कलेज कसरी तोकिन्छ ?
यो छनोटको मापदण्ड हरेक राज्यका सिनेटर, अमेरिकी तल्लो सदन हाउसको सदस्य संख्या र राजधानी वासिङ्गटन डिसीको लागि छुट्याइएको तीनजना बराबर रहन्छन् । यस हिसाबले अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा हरेक राज्यबाट दुई दुई जनाको दरले एकसय सदस्य हुन्छन् । त्यस्तै तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिवमा चारसय ३५ सदस्य हुन्छन् ।
त्यस्तै डिसीबाट तीनजना गर्दा कुल पाँचसय ३८ हुन आउँछ । तर यी भनेका सिनेटर, कंग्रेसम्यानभन्दा फरक हुन्, एकै होइनन् ।
अमेरिकी तल्लो सदनको सिट संख्या हरेक १० वर्षमा हुने जनगणना र त्यसले जनसंख्यामा हुने फेरबदलमा आधारित हुन्छ । जनसंख्या बढेको राज्यमा कंग्रेसम्यानहरू थपिन्छन् भने जनसंख्या घटेको राज्यमा कंग्रेसम्यान घट्छन् । समानुपातिक आधारमा जनसंख्या घटेको राज्यबाट सिट खोसेर बढेको राज्यमा दिइन्छ ।
सन् २०२० मा भएको जनगणनाका आधारमा क्यालिफोर्नियाको मत एकले घटेको छ । टेक्ससमा जनसंख्या बढेकोले इलेक्ट्रोल मत दुईले बढेर अहिले ४० पुगेको छ । सन् २०२० को दाँजोमा अहिले रिपब्लिकनको पक्का भनिएको इलेक्ट्रोल कलेज दुईले मतले बढेको छ भने डेमोक्रेटलाई एक नोक्सान पुगेको छ । न्यु योर्क र क्यालिफोर्नियाको जनसंख्या सन् २०१० को भन्दा २०२० मा घटेपछि ती राज्यमा इलेक्ट्रोल मत घटेको हो ।
अमेरिकाका दुई राज्यले भने इलेक्ट्रोल मत सबैभन्दा बढी मत पाउने एउटै दललाई एकलौटी रूपमा नजिताएर समानुपातिकरूपमा मतका आधारमा पठाउने गरेका छन् । नेब्रास्का र मइन राज्यले भने मत संख्या आधारमा समानुपातिक रूपमा इलेक्ट्रोल भोट निर्धारण गर्दैआएका छन् ।
अमेरिकाको यही इलेक्ट्रोल कलेज मत प्रक्रियाका कारणले राष्ट्रपतिको चुनाव संसारभरिका लागि अलग किसिमको बन्दै आएको छ ।
अमेरिकामा राष्ट्रपति चुनावमा मतपत्रमा उमेदवारको नाम भए पनि चुनिने इलेक्ट्रोल कलेज हो । त्यो राज्यभरिमा राष्ट्रपतिका उमेदवारमध्ये जसको बढी मत आउँछ राज्यलाई प्राप्त इलेक्ट्रोल कलेज मत सर्लक्कै त्यही उमेदवारले लैजान्छ ।
यो विधिलाई अझै सरलरूपमा यसरी बुझौँ । जस्तै, टेक्ससको इलेक्ट्रोल कलेज मत संख्या ४० छ र टेक्ससमा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उमेदवार कमला ह्यारिसले रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई एक मतको फरकले मात्र जितिन् भने पनि उनले टेक्ससको पूरै ४० मत पाउँछिन् । ट्रम्पले टेक्ससमा एक मतमात्रले पनि ह्यारिसलाई जितेको खण्डमा ४० मत पाउनेछन् । टेक्ससमा पुरातनवादी रिपब्लिकनहरूको बाहुल्य रहेकोले यो राज्यबाट सन् १९७६ यता कुनै पनि डेमोक्रेटिक राष्ट्रपतिका उमेदवारले इलेक्ट्रोल कलेज मत पाउन सकेका छैनन् ।
त्यस्तै क्यालिफोर्नियाको इलेक्ट्रोल कलेज भोट संख्या ५४ छ । यो राज्यमा एक मतले मात्र पनि डेमोक्रेटिकले जितेमा पूरै ५४ भोट ह्यारिसले पाउँछिन् । क्यालिफोर्नियामा सन् १९८८ मा जर्ज एचडब्लु बुसभन्दा पछि कुनै पनि रिपब्लिकन उमेदवारले जित्न सकेका छैनन् । यहाँ उदारवादी राज्य डेमोक्रेटिक पार्टीले जित्दै आएको छ ।
कुन राज्यको भागमा कति इलेक्ट्रोल भोट छ भन्ने बारेमा बक्समा राखिएको नक्साबाट पनि बुझ्न सकिन्छ ।
यो त भयो इलेक्ट्रोल कलेज मतको चर्चा । अब गरौं प्रत्यक्ष निर्वाचन अर्थात मतदाताले दिएको मतका आधारमा बढी मत पाउने व्यक्ति निर्वाचित हुने व्यबस्था, जस्लाई पपुलर मतका आधारमा निर्वाचित हुने व्यबस्था भयो भने कस्तो होला त परिणाम ?
यसपटकको चुनावमा १६ करोड १४ लाख मतदाता मताधिकारको लागि दर्ता भएका छन् । कानुन बमोजिम १८ वर्ष उमेर पुगेको र अमेरिकी नागरिक भएको व्यक्ति मतदानको लागि योग्य हुन्छ । कतिपय राज्यमा फौजदारी कसुर ठहर भएका व्यक्तिले मतदान गर्न पाउँदैनन् । कानुनबमोजिम मतदाता सूचीमा दर्ता हुन योग्य २४ करोड ४० लाख रहेको अनुमान गरिएको छ । तर सबै मतदाता सूचीमा दर्ता छैनन् ।
अमेरिकामा इलेक्ट्रोल कलेज प्रणाली हटेर प्रत्यक्ष मत अर्थात् सबैभन्दा बढी मत पाउने व्यक्ति राष्ट्रपति हुनेगरी कानुन संशोधन हुने हो भने चुनावी परिणाम अधिकांश समय डेमोक्रेटिक पार्टीको पक्षमा परिरहने विगतको मत प्रवृत्तिले देखाएको छ । सन् १९८८ देखि सन् २०२० सम्म (३२ वर्ष) को पपुलर मत संख्या विश्लेषण गर्दा यसबीचमा भएका नौ वटा चुनावमध्ये ८ वटामा डेमोक्रेटिक पार्टीका उमेदवारले बढी पपुलर मत पाएका छन् । सन् १९८८ मा रिपब्लिकन पार्टीका उमेदवार जर्ज एचडब्लु बुस (पिसता बुस) ले मात्र इलेक्ट्रोल कलेज र पपुलर दुवैतर्फ जितेका थिए । (हेर्नुस चार्ट)
त्यसपछि तीनजना रिपब्लिकन पार्टीबाट राष्ट्रपति भएका छन् । सन् २००० र २००४ मा जर्ज डब्ल्यु बुस (छोरा बुस), सन् २०१६ मा डोनाल्ड ट्रम्पले इलेक्ट्रोल मतले राष्ट्रपति जित्दा पपुलर मत भने डेमोक्रेटिक पार्टीका उमेदवारले बढी पाएका थिए । डेमोक्रेटिक पार्टीका उमेदवार सन् २००० मा एल गोर, सन् २००४ मा जोन केरी र सन् २०१६ मा हिलारी क्लिन्टनको पपुलर मतमा निकै ठूलो अग्रता थियो । सन् २००० मा एल गोर जितिसकेको अवस्थामा मुद्दा दायर गरेर फ्लोरिडाको अदालतबाट बुसलाई जिताएको फैसला गरिएको थियो ।
डेमोक्रेटिक पार्टी ठूला र घना आवादी भएका सहरहरूमा निकै बलियो छ । न्युयोर्क, सिकागो, लसएन्जलस, सानफ्रान्सिस्को, ह्युस्टन, सियाटल बोस्टन, ड्यालसजस्ता सहरमा डेमोक्रेटिक पार्टी निकै बलियो छ । कतिपय रिपब्लिकन बहुल राज्यका नगरहरूमा समेत डेमोक्रेटिक पार्टी बलियो छ । रिपब्लिकन बहुल टेक्ससको ह्युस्टन, अस्टिन, ड्यालस, सानएन्टेनियो जस्ता नगरमा डेमोक्रेटिक पार्टीका मेयरले अत्यधिक मतले जित्दै आएका छन् ।
उता ग्रामीण बस्ती, परम्परावादी सोचको बाहुल्य भएका स्थान भने रिपब्लिकन गढ मानिन्छन् । शिक्षित युवा, महिला, अश्वेत, हिस्पानिक (ल्याटिनो समुदाय) मा डेमोक्रेटिक पार्टीको पकड बलियो छ । यो समुदाय सहर र सहरउन्मुख स्थानमा बस्ने हुँदा यी क्षेत्रमा डेमोक्रेटिक पार्टी बलियो भएको देखिन्छ ।
सन् २०२० को चुनावमा जो बाइडेनले इलेक्ट्रोल र पपुलर दुबैमा ट्रम्पलाई पछि पारेका थिए । यसपटक चुनाव निकै प्रतिस्पर्धी र रोचक देखिएको छ । विभिन्न सर्वेक्षणहरूले कमला ह्यारिस थोरै अन्तरले जित्ने देखाइरहेका छन् । तर, ट्रम्पको पक्षमा यसपटक परम्परावादी श्वेतहरूको मत अत्यधिक खसेकोले चुनावी परिणाम यसै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । मत सर्वेक्षणहरू सन् २०१६ देखिनै अमेरिकामा अविश्वसनीय बन्दै गएका छन् ।
डेमोक्रेटिक पार्टी निकटहरूले भनिरहेका छन् - 'ह्यारिसले हार्ने संभावना छँदैछैन । हारिहाले पनि पपुलर मतमा त उनकै अग्रता हुनेछ ।'
पपुलर मतमा डेमोक्रेटिक पार्टी लामो समयदेखि बलियो हुँदै गएपछि इलेक्ट्रोल कलेज प्रणाली परिवर्तन गर्न आवाज उठ्न थालेको छ । केही समयअघि पिउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा ८७ प्रतिशत उदारवादी डेमोक्रेटहरूले पपुलर मत प्रणालीबाट राष्ट्रपतिको चयन हुनुपर्ने धारणा राखेका थिए । डेमोक्रेटिक पार्टीसँग निकट भए पनि परम्परावादी सोच बोकेका ७४ प्रतिशतको पपुलर मतमा जानुपर्ने धारणा छ । तर, रिपब्लिकन पार्टी निकट ६३ प्रतिशत भने इलेक्ट्रोल कलेजकै पक्षमा छन् ।
अमेरिकाको दुई शताब्दीभन्दा पुरानो इलेक्ट्रोल कलेज (निर्वाचक मण्डल) प्रणालीमा परिवर्तन गर्न भने सहज छैन । किनभने यही प्रणालीले पछिल्ला चार दशकदेखि रिपब्लिकन उमेदवारलाई ह्वाइट हाउसमा शासन गर्ने अवसर दिएको छ ।
(नक्सा साभारः https://www.270towin.com/)