site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूस–युक्रेन वार्तापछि पुटिनका माग र युक्रेनको अडानको संकेत

काठमाडौं । युक्रेनसँग तीन वर्षदेखि चलिरहेको युद्ध रोक्न र समग्र शान्ति सम्झौताका लागि रूसले आफ्ना शर्तहरू समेटिएको ‘मेमोर्‍यान्डम’ पेस गर्न हप्तौँ समय लियो । तर रुसका माग क्रेमलिनका यसअघिका विवादास्पद र अस्वाभाविक अडानहरू छन्, जुन युक्रेन र उसका पश्चिमी सहयोगीहरूका लागि स्वीकार्य छैनन् ।

युक्रेनले इस्तानबुलमा सोमबार सम्पन्न दोस्रो प्रत्यक्ष शान्ति वार्ताअघि नै आफ्नो रणनीति तय गरिसकेको थियो । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझावअनुसार कुनै पूर्वसर्त नराखी ३० दिने युद्धविराम घोषणा गर्न तत्परता जनाएको थियो । नेटो सदस्यताको दाबी छोड्न अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि रूसमा विलय गर्नुपर्ने मागलाई पनि अस्वीकार गर्‍यो । 

दुवै पक्षले परस्पर विरोधी ‘रेड लाइन’ तय गरेका छन्, जसले तत्काल कुनै सहमतिमा पुग्न सम्भव छैन । 

Argakhachi Cement Island Ad

रूसी सञ्चारमाध्यमका अनुसार मस्कोका मागहरूले के स्पष्ट पारेका छन् भने राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु गर्दा युक्रेनसमक्ष राखिएका लक्ष्यहरू हासिल गर्न दृढ छन् ।

रूस र युक्रेनका प्रमुख प्रस्तावहरू :–
३० दिने युद्धविरामका लागि मस्कोका सर्तहरू
रूसले युक्रेनसामु ३० दिने युद्धविरामको प्रस्ताव अघि सार्दै दुई विकल्प अघि सारेको छ । पहिलो विकल्पमा युक्रेनले आफ्नो सेना डोनेत्स्क, लुहान्स्क, जापोरिज्झिया र खेरसन क्षेत्रबाट फिर्ता लिनुपर्छ । यी क्षेत्रहरू रूसले सन् २०२२ सेप्टेम्बरमा अवैधरूपमा आफ्नो भाग बनाएको थियो । तर, अझै पूर्णरूपमा कब्जा गर्न सकेको छैन ।

दोस्रो विकल्पमा ‘प्याकेज’ प्रस्तावः मस्कोले युक्रेनलाई आफ्नो सैन्य संगठन भंग गर्न र पश्चिमा हतियारको आपूर्ति रोकिने व्यवस्था गर्न दबाब दिएको छ । यी सर्तहरू पुटिनले पहिले नै सार्वजनिक गरिसकेका थिए ।

थप मागहरूमा युक्रेनले आफ्नो सेना विघटन सुरु गर्नुपर्ने, सेनाको पुनर्संरचना र तेस्रो मुलुकका सैनिकहरूको उपस्थिति निषेध हुनुपर्ने छन् । प्याकेज प्रस्तावले युक्रेनमा सैन्य शासन अन्त्य गरी निर्वाचन गराउन सुझाव दिन्छ । त्यसपछि दुवै देशले व्यापक शान्ति सम्झौतामा हस्ताक्षर गर्न सक्छन् ।

युक्रेनको युद्धविराम सम्बन्धी दृढ अडान
वार्ताअघि युक्रेनले मस्कोमा पेस गरेको तथा आफ्ना सहयोगीहरूसँग साटासाट गरेको ‘मेमोर्‍यान्डम’ले पूर्ण र बिनासर्त ३० दिने युद्धविरामको आवश्यकता औंल्याएको छ ।

यसले रूसको ‘तटस्थताको’ मागलाई आफ्नो सम्प्रभुतामाथिको हमला ठानी निरन्तर अस्वीकार गर्दै आएको उल्लेख गरिएको छ । गठबन्धन छनोट गर्ने स्वतन्त्रताको आधारमा, युक्रेनले नेटो सदस्यतासम्बन्धी निर्णय आफ्नो नीतिमा आधारित हुने स्पष्ट पारेको छ ।
 
युक्रेनले आफ्नो सैन्य क्षमता र विदेशी सैनिकको उपस्थिति सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार नगर्ने अडान लिएको छ ।
 
युक्रेनी ‘मेमोर्‍यान्डम’ले रूसी अधिग्रहणलाई मान्यता दिन अस्वीकार गर्दै वार्ताको प्रारम्भिक बिन्दुको रूपमा ‘संपर्क रेखा’लाई परिभाषित गरेको छ ।
 
शान्ति सम्झौता कार्यान्वयन गर्न र थप आक्रमण रोक्न अन्तर्राष्ट्रिय सुरक्षा प्रत्याभूति आवश्यक रहेको पनि सो दस्तावेजमा उल्लेख छ ।
 
युक्रेनको शान्ति प्रस्तावको अन्य बुँदाहरूमा निर्वासित र अवैध रूपमा विस्थापित युक्रेनी बालबालिकाको फिर्ता, युद्धबन्दीहरूको आदानप्रदान, सम्झौता पालना भएमा रूसमाथिका केही प्रतिबन्ध क्रमिक रूपमा हटाउन सकिने सम्भावना खुला राखिएको आदि छन् ।
 
परस्पर विरोधी अडानले अप्ठ्यारो 
यस्ता कठोर मागहरूले वार्तामा प्रगतिका सबै आशाहरू लगभग समाप्त पारेका छन् । मस्कोले आफ्ना अस्वाभाविक अडानहरूमार्फत पश्चिमी प्रतिबन्धको कुनै असर नपरेको जस्तो देखाउने प्रयास गरिरहेको छ ।

केही विश्लेषकहरूले रूसी ‘मेमोर्‍यान्डम’लाई मस्कोले आफ्नो वार्ताको पोजिसन औपचारिक बनाउने उपायका रूपमा लिएका छन् ।

“यो हस्ताक्षर नभएको दस्तावेजले पनि क्रेमलिनलाई कूटनीतिक दृढता प्रदान गर्छ,” मस्कोस्थित रक्षा विश्लेषक सेर्गेई पोलेटाएभले भने । 

कार्नेगी रसिया–युरेसिया केन्द्रकी तातियाना स्तानोभायाले भनिन्, “यो दस्तावेजले पुटिनको मुख्य लक्ष्य युक्रेनसँग कुनै प्रकारको सैन्य वा राजनीतिक सम्बन्ध नराख्ने रहको प्रष्ट पार्छ ।” 

उनका अनुसार मस्कोले युक्रेनलाई दुई विकल्प दिए पनि व्यवहारिक रूपमा युक्रेनी सेनाले ती क्षेत्रहरू छाड्ने सम्भावना कम भएकाले मस्को दोस्रो विकल्पतर्फ धकेल्ने रणनीतिमा लागेको छ । केही स्रोतहरूको भनाइमा मस्को ‘मेमोर्‍यान्डम’मार्फत केही क्षेत्रमा नियन्त्रण नरहेको भूभाग युक्रेनलाई फिर्ता दिन पनि तयार रहेको संकेत दिन खोजिरहेको छ ।

स्तानोभायाले निष्कर्षमा भनिन्, “मस्कोका यी अस्वाभाविक मागहरूले लडाइँ जारी रहने संकेत दिन्छ । यद्यपि द्विपक्षीय सम्पर्कहरू भने कायम रहन सक्छन् ।” एपी

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्