site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण

सोल । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रमध्ये एकको परीक्षण गरेको जनाएको छ । यो उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उनको पहिलो हतियार परीक्षण हो ।

परमाणु–सशस्त्र उत्तर कोरियाले आउँदो हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) वा परमाणु परीक्षण समेत गर्न सक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।

यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टापछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिक रुसी बर्दीमा युक्रेनविरुद्ध सम्भावित कारबाहीका निम्ति तैनाथ गरिएको बताएका थिए ।

“अहिलेसम्मको प्रारम्भिक मूल्यांकनानुसार प्योङयाङले नयाँ ठोस चालित लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ,” सोलको सेनाले भन्यो ।

क्षेप्यास्त्र माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।

प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।

उत्तर कोरियाले प्रतिबन्धविपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमलाई उद्धृत गर्दै जनाएको छ ।

परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्ड अपडेट गरेको’ बताइएको छ । किमले आफ्नो देशले ‘परमाणु शक्ति बलियो बनाउने लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।

“यसको उडान उचाइ हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ,” जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई बताए ।

वासिङटनले यो प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लंघन’ भनेर निन्दा गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता शन सावेटले एक वक्तव्यमा बताए ।

प्रमुख क्षेत्रीय सहयोगीहरू सोल, वासिङटन र टोकियोले अमेरिकी रणनीतिक सम्पत्ति समावेश गरेर संयुक्त सैन्य अभ्यासद्वारा जवाफ दिने सोलले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युक सुक येओलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्ध लगाउने’ र साझेदार र राष्ट्रसंघसँग मिलेर प्योङयाङको ‘सुरक्षा परिषद् प्रस्तावको नियमित उल्लंघन’लाई दण्डित गर्न काम गर्ने बताए । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro