site stats
बाह्रखरी :: Baahrakhari
खेल
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । 

सन् २०१० मा बंगलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँचपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए पनि आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए । उनले भने, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।”

Argakhachi Cement Island Ad

प्रशिक्षक तामाङले बंगलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । यसअघिका  ५ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चारपटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । 

बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । 

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी (साम्बा)ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् । 

साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बंगलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ छ ।  

उनले भनिन, “यसअघि पाँचपटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहोर्याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।”

साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसर समेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् ।

युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् ।

उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् ।

त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बंगलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।”

सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । 

जारी प्रतियोगितामा नेपालले भारत र बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रंगशालामा हुनेछ । 

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० ले पराजित गरेको गरेको थियो ।

बंगलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्