
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार १२) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘सामान्य’ जोखिमको सम्भावना औँल्याइएको छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।