site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आजदेखि लाइसेन्स बोक्न नपर्ने ! डिजिटल लाइसेन्सलाई मान्यता

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ ।  वाग्मती प्रदेश सरकारले आज (आइतबार)देखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो ।

यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र –लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउन सक्ने भएका हुन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।

नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने भएको छ ।  ट्राफिक भोयलेसन रजिस्ट्रेसन  सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ ।  उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ ।

Argakhachi Cement Island Ad

डिजिटल लाइसेन्स सञ्चालनमा, चेक गर्न प्रहरीलाई दिइयो स्मार्टफोन 

यसरी कारबाही गर्नुपरेको अवस्थामा त्यहीँ स्थानमा ट्राफिक प्रहरीले अनलाइनबाट ट्राफिक नियम उल्लंघनको विवरण टिपी जरिबाना समेत अनलाइनबाट भुक्तान गर्न लगाउन सक्नेछ । अहिले वाग्मती प्रदेशले सुरु गरेको यो प्रणाली इन्टरनेट नभएको अवस्थामा समेत काम गर्छ । 

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले लाइसेन्स प्रिन्ट गर्ने झन्झटबाट मुक्त हुँदै यो प्रविधिमैत्री र सहज व्यवस्था अघि सारिएको बताएका छन् ।

“वाग्मती प्रदेशमा हामीले परिक्षणका रुपमा आजबाट सुरु गरेका छौं । काठमाडौ उपत्यकालगायत ट्राफिक प्रहरीसँग हाल १०४ वटा फोन उपलब्ध भएको छ । यस वर्ष करिब ५०० वटा स्मार्टफोन प्रहरीलाई उपलब्ध गराई यो सुविधा थप विस्तार र व्यवस्थित गर्दैछौं,” सचिव निरौलाले भने ।

नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीले यो सुविधाले कागजरहित लाइसेन्सलाई प्राथमिकता दिँदै नागरिकलाई नागरिक एपबाटै सबै सेवा दिने उद्देश्यतर्फ काम भइरहेको बताए । 

उनले इन्टरनेट नभएको अवस्थामा समेट ट्राफिक प्रहरीले जाँच गरी फोनबाटै कारबाही गर्नसक्ने भएका कारण डिजिटल लाइसेन्सलाई देशभर सञ्चालनमा ल्याउन सकिने बताए । करिब २० लाखबढी सेवाग्राहीले आफ्नो सवारीचालक अनुमतिपत्र पाउँन सकेका छैनन् । 

डिजिटल लाइसेन्सलाई सरकारले अँगालेसँगै कागजी नै खोज्ने सेवाग्राहीले त्यस्तो लाइसेन्स प्रयोग गर्नसक्नेछ ।  यस्तै नागरिक एप नचलाउनेको हकमा पनि कागजी वा स्मार्टलाइसेन्स नै जाँच गरी  ट्राफिकले चिट काटेर कारबाही गर्नेछ ।

वाग्मती प्रदेशमा यो व्यवस्था सफल भएर अघि बढेमा देशभर नै सुरु हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्