काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले सुरुमै भने, “प्रशिक्षकले प्रेरित गरेरमात्र हुँदैन, खेलाडी आफैँमा जित्छु भन्ने भावना हुनुपर्छ ।” प्रश्न थियो, साफ महिला च्याम्पियनसिपका पाँच संस्करणको फाइनलमा हार्यौँ । यो लय तोड्न खेलाडीलाई कसरी प्रेरित गरिरहनु भएको छ ?
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान एन्जिला तुम्बाप्पो सुब्बासँगै हुँदा खेलाडीको नाम तोकेरै गल्ती औंल्याइरहेका थिए । ‘प्रशिक्षणका लागि समय कम पायौँ, महिला लिगले गर्दा विभागीय टिमले प्रशिक्षणका निम्ति खेलाडी छोडेनन्, एन्फाले फिफा विन्डोमा कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलाउँदा समस्या भयो ।’ यस्तै, थुप्रै ।
तर, कप्तान एन्जिलाको प्रतिक्रिया भने यसको विपरीत थियो । उनी बारम्बार ‘परिस्थिति जस्तो भए विगत भुलेर अघि बढ्नुको विकल्प छैन’ भन्दै थिइन् ।
नेपाली महिला टिमले हालसम्म ११ फाइनल खेलिसकेको छ । साफमा मात्रै पाँच फाइनल खेलेको अनुभव नेपाली टिमसँग छ । फाइनलमा जहिल्यै पराजित हुनु परेको इतिहासले पनि प्रशिक्षक तामाङले खेलाडीप्रति पोखेको असन्तुष्टि जायज देखिन्छ । तर, विश्व फुटबलको उदाहरण लिँदा टिमले जतिसुकै निराशजनक नतिजा हात पारेको होस्, प्रशिक्षकले खेलाडीमा दोष थुपार्नु साटो आफूले जिम्मेवारी लिन्छन् । यस आधारमा पत्रकार सम्मेलनमा नाम तोकेरै खेलाडीको गल्ती देखाउनुले भने प्रशिक्षक तामाङको अपरिपक्क फुटबल व्यक्तित्व झल्काउँछ ।
तामाङको प्रशिक्षणमा नेपालले यसै वर्षको फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप खेलेको थियो । प्रतियोगिताको उपाधि भिड्न्तमा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा रक्षापंक्तिमा गीता रानाबाट गल्ती भएको बताइरहेका थिए ।
साफको तयारीमा पनि असन्तुष्टि
प्रशिक्षक र कप्तानका अनुसार नेपाली टिमले प्रतियोगिताका निम्ति १४ दिनको प्रशिक्षण समय पायो । त्यसमा पनि टिमका मुख्य दुई फरवार्ड सावित्रा भण्डारी (साम्ब) र रेखा पौडेल विदेशी लिगमा आबद्ध हुँदा उपस्थित हुन पाएनन् । रेखा केही दिनअघि टिमसँग आबद्ध भए पनि सावित्राले भने प्रतियोगिताको पहिलो खेल गुमाउने उच्च सम्भावना छ ।
नेपाली टिम साफअघि लेबनानमा हुने भनिएको चारदेशीय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा थियो । तर, मध्यपूर्वी एसियामा चर्किएको राजनीतिक तनावका कारण असुरक्षित बताउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगितामा सहभागिता नहुने निर्णय लियो । नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकियो । हाल दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिताका निम्ति नेपाली टिम १४ दिनयता तामाङको प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ । तर, तामाङ प्रशिक्षणबाट सन्तुष्ट छैनन् ।
“हामीले समग्रमा दुई हप्ता प्रशिक्षण गर्ने समय पायौँ । महिला लिग हुँदा सबै खेलाडीसँग राम्रोसँग काम गर्न पाएनौँ । स्ट्राइकर विदेशमा व्यस्त हुँदा पनि प्रशिक्षणमा समस्या भयो । तर, पनि हामी प्रतियोगिताका लागि तयार छौँ,” उनले भने ।
प्रशिक्षक तामाङले महिला लिगका कारण प्रशिक्षणमा समस्या भएको बताइरहँदा कप्तान एन्जिलाले भने फरक मत राखिन् । उनी महिला लिगले पनि साफको तयारीमा सहयोग पुगेको बताउँछिन् ।
“समय कम भए पनि हाम्रो प्रशिक्षण राम्रो भएको छ । मलाई लाग्छ महिला लिगले गर्दा टिमलाई केही सहयोग पुगेको छ,” एन्जिलाले भनिन् ।
११ फाइनलको निराशा
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।
सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन र नेपाल १९८० को दशकबाट नै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन् । तर, पछिल्लो चार दशकमा स्पेनले विश्वकप च्याम्पियन बन्ने गरी प्रगति गर्दा नेपाल त्यो मञ्चमा कहिले उक्लिन्छ भन्ने अड्कल काट्न सकिने अवस्था अझै छैन ।
पहिलो अन्तर्राष्ट्रिय खेलदेखि हालसम्म नेपालले ३८ वर्षमा कुल ११ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता ।
नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेलेका थिए । ती सबैमा हार बेहोरेको छ । ११ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार बेहोरेको छ । यसबाहेक, बंगलादेश, म्यानमार, ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।
सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।
त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार बेहोर्यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्यो ।
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हार बेहोर्यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार बेहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।
सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार बेहोर्यो । साफको यस संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराए पनि फाइनलको ‘डेढलक’ भने अझै तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो ।
कप्तान एन्जिला यसपटक नेपाली टिम साफको उपाधि घरमै राख्न तयार रहेको बताउँछिन् । “यसपटक हाम्रो टिम एकदमै सन्तुलित छ । हामी च्याम्पियन बन्नकै लागि खेल्ने हो । हामीले साफ च्याम्पियनसिप जित्नकै लागि मेहनत गरेका हौँ । यसपटक हाम्रो मेहनत खेर जाँदैन,” एन्जिलाले भनिन् ।