site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मौसमविद् भन्छन्– हिले दसैँ हुँदैन, मनसुन लम्बिन्छ, फेरि पानी पर्दै छ
SkywellSkywell

काठमाडौं । यसपालि हिले दसैँ नहुने मौसमविद्ले बताएका छन् । अब देशभर दसैँसम्म ठूलो पानी पर्ने सम्भावना हालको अवस्थाबाट विश्लेषण गर्दा नदेखिएको मौसमविद्ले स्पष्ट पारेका छन् ।

वर्षाका कारण दसैँमा असर पुग्नेजस्तो अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । महाशाखाले नियमित रूपमा दैनिक तीन दिनको मात्र मौसम पूर्वानुमान गर्दै आएको छ ।

तर, आफूहरूको विश्लेषणमा दसैँ आसपास ठूलो पानी पर्ने सम्भावना नदेखिएको उनले उल्लेख गरे । “अहिले हाम्रो विश्लेषणमा दसैँको आसपासमा त्यति ठूलो वर्षाहरू हुने सम्भावना देखिएको छैन,” उनले बाह्रखरीसित भने, “यद्यपि, यो पूर्वानुमान अपडेट भइरहन्छ । त्यही भएर स्पष्ट हुन केही दिन पर्खनैपर्छ ।”

KFC Island Ad
NIC Asia

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि दसैँमा ठूलो पानी पर्ने अवस्था नदेखिएको बताए । हिले दसैँको सम्भावना नरहेको उनको भनाइ छ । “दसैँमा ठूलो पानीको अवस्था अहिलेसम्मको हिसाबले देखिँदैन,” उनले भने, “हिले दसैँ टाइपको छैन ।”

उनका अनुसार, दसैँको फूलपातीभन्दा पछि पनि देशका केही स्थानमा हल्का वर्षा हुनसक्छ । तर, मानिसलाई खतरा हुनेखालको पानी पर्ने सम्भावना छैन । “सामान्य, हल्का वर्षा हुनसक्छ भनेको हो । खतरा हुने र मान्छेलाई यातायातमै खतरा हुनेखालको अवस्थाचाहिँ देखिँदैन,” उनले भने ।

मनसुन लम्बिने
यो वर्ष नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

यो वर्ष मनसुन ढिलो गरी बाहिरिने निश्चितजस्तै रहेको मौसमविद् अधिकारीले बताए । अक्टोबर २ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको उनले जानकारी दिए । “औसत मिति अक्टोबर २ सम्म मनसुन बहिर्गमन हुने सम्भावना त्यति छैन,” उनले भने, “त्यही भएर थोरै केही दिन ढिला हुन सक्ने देखिन्छ ।”

महाशाखाकै अर्का मौसमविद् मीनकुमार अर्यालले पनि नेपालबाट मनसुन बाहिरिन अब हप्ता–१० दिनजति लाग्न सक्ने उल्लेख गरे । “मनसुन कमजोर हुँदै छ । मनसुन बाहिरिन हप्ता–१० दिनजति लाग्छ,” उनले भने, “पश्चिमी वायु मजबुत हुँदै छ, पूर्वी वायु कमजोर हुँदै छ ।”

नेपालमा सुदूरपश्चिम प्रदेशबाट क्रमशः मनसुन बाहिरिन सुरु गर्छ । जुनमा यसको प्रवेश कोसी प्रदेशबाट हुन्छ । र, क्रमशः सुदूरपश्चिमसम्म फैलन्छ । नेपालमा करिब चार महिना मनसुनी वायुको प्रभाव रहन्छ ।

विज्ञ डा. उप्रेतीले पनि नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने स्पष्ट पारे । “मनसुनको विथड्रल (बहिर्गमन)चाहिँ अलिकति ढिला हुन्छ जस्तो देखियो संकेत,” उनले भने, “भारतबाट बाहिरिँदै सुदूरपश्चिममै आइपुग्नलाई पनि अझै लगभगलगभग चार–पाँच दिन लाग्नेजस्तो देखियो ।”

अधिकारीका अनुसार, भारतको राजस्थानबाट मनसुन बाहिरिन सुरु गर्छ । त्यहाँबाट क्रमशः नेपालमा सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन थाल्छ । भारतका केही ठाउँमा सेप्टेम्बर २३ बाटै मनसुनको बहिर्गमन सुरु भएको अधिकारीले बताए ।

हालसम्म भारतका राजस्थान, हरियाणा, पन्जाब र जम्मु कस्मिरका केही भागबाट पनि मनसुन बाहिरिइसकेको विज्ञ उप्रेतीले जानकारी दिए । “हिमाञ्चल प्रदेशसम्म पुग्नलाई दुई–तीन दिन लाग्ने भनेको छ । दुई–तीन दिन हिमाञ्चल प्रदेशमा लाग्ने भएपछि के हुन्छ भने, हामीकहाँ आइपुग्न अरू दुई–तीन दिन लाग्ने हुनाले अबको चार–पाँच दिनमा मात्रै सुदूरपश्चिममा बाहिरिने क्रम सुरु हुन्छ,” उनले भने ।

यस हिसाबले अनुमान गर्दा घटस्थापनाको दोस्रो वा तेस्रो दिन मात्र सुदूरपश्चिमबाट मनसुन बाहिरिने सम्भावना हुन्छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकानुसार, गत वर्ष (सन् २०२३) अक्टोबर १५ मा नेपालबाट मनसुन बाहिरिएको थियो । २०२२ मा अक्टोबर १६ मा मनसुन बाहिरिएको थियो । २०२१ मा अक्टोबर ११ मा नेपालबाट मनसुन बाहिरिएको थियो ।

देशभरबाट मनसुन एकैपटक बाहिरिँदैन । सुदूरपश्चिमबाट क्रमशः कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेश हुँदै मनसुन बाहिरिन्छ । आउँदो फूलपातीसम्म पश्चिम नेपालबाट मनसुन बाहिरिने सम्भावना विज्ञ उप्रेतीले सुनाए । “समग्र नेपालको हिसाबले अक्टोबरको १२/१३ तिर मात्रै मनसुन बाहिरिने अवस्था देखिन्छ,” उनले भने, “अक्टोबर १२ भनेको हाम्रो दसैँ हो यसपालि । त्यो हुँदाखेरि दसैँकै हाराहारीमा या दसैँ (टीका)को एक दिनअगाडि या एक दिनपछाडि मात्रै कोसी प्रदेशबाट बाहिरिने सम्भावना देखियो ।”

वर्षाको सम्भावना
बुधबार (भोलि) र बिहीबार (पर्सि) फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, खतरायुक्त वर्षा नहुने उनीहरूको भनाइ छ ।

भारतको असाम आसपास न्यूनचापीय क्षेत्र बनेको र मनसुनी वायुसँगै त्यसको प्रभावले पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए । त्यो पानी पार्ने मजबुत प्रणाली भने नरहेको उनले स्पष्ट पारे । यो अवधिमा स्थानीय वायुको पनि प्रभाव रहन सक्छ ।

त्यसले धेरै ठूलो र लामो समय वर्षा नहुने उनले बताए । केही बेर र कुनैकुनै भूभागमा पानी पर्ने उनले उल्लेख गरे । विशेष गरी त्यसको प्रभाव कोसी र वाग्मती प्रदेशमा रहने उनले जानकारी दिए । “भारतको असाम आसपास स्मल सर्कुलेसन बनेको छ । न्यूनचापीय क्षेत्र,” उनले भने, “बुधबार कोसी र वाग्मतीमा अलि वर्षाको सम्भावना छ । कोसीमा पनि सबै ठाउँमा होइन, केही ठाउँमा । खण्डित खालको वर्षा हुन्छ ।”

महाशाखाका अर्का मौसमविद् अधिकारीले पनि बुधबार, बिहीबार वर्षाको सम्भावना देखिएको बताए । “हल्कादेखि मध्यम वर्षाको क्रम केही बढ्नेजस्तो देखिन्छ,” उनले भने, “भारी, अति भारीको सम्भावना छैन ।”

मनसुन अब धेरै सक्रिय हुने अवस्था हाललाई नदेखिएको उनले सुनाए । तर, बुधबार राति आफूहरूले कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान बुलेटिनमार्फत औँल्याएको उनले स्पष्ट पारे । “विगतको जस्तो मनसुन त्यति धेरै एक्टिभ हुने अवस्था यतिखेरको विश्लेषणमा देखिँदैन,” उनले भने, “अस्तिको जस्तो दुई दिन, तीन दिन धेरै पानी पर्नेजस्तो छ नि, त्यस्तो छैन ।”

उनका अनुसार, उक्त अवधिमा पूर्वी र मध्य भूभाग (गण्डकी प्रदेशसम्म)मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विज्ञ उप्रेतीले असाममा विकसित पानी पार्ने प्रणालीले त्यहाँ भारी वर्षा हुन सक्ने बताए । भारतका केही राज्यमा त्यसको विशेष असर पर्ने उनले उल्लेख गरे । “एउटा सिस्टम डेभलप भएर असाममा ठूलै पानी पर्छ । चार–पाँच दिन नै पानी पर्छ भन्ने छ असाम, मेघालयमा,” उनले भने । कर्नाटका, गुजरातलगायत क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने उनले बताए ।

सोही प्रणालीले नेपालमा पानी पार्न सकारात्मक भूमिका निर्वाह गर्ने उनले सुनाए । नेपालमा आउँदो बुधबार र बिहीबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । “त्यसले (असामको प्रणाली) मनसुनी वायुसँग इन्टरर्‍याक्सन गर्छ र पानी पार्छ,” उनले भने, “तर, अबको पानी तसर्नुपर्ने अवस्था मचाहिँ देख्दिनँ । खासगरी बुधबार र बिहीबार हो । शुक्रबार कम हुन्छ । वाग्मतीदेखि पूर्व मात्रै हो । हल्कादेखि मध्यम मात्रै हो ।”

उनका अनुसार, ती दिन (बुधबार र बिहीबार) सामान्य वर्षाको सम्भावना छ । त्यो पनि लामो समय हुँदैन । एकछिन मात्र वर्षा हुन्छ । “बुधबारको अपराह्न २ बजेदेखि काठमाडौं, तराई होइन, वाग्मती प्रदेशको पहाडी जिल्ला र कोसीको लगभग सबै ठाउँमा जस्तो हल्कादेखि मध्यम वर्षा हुन्छ,” उनले भने, “बाँकीमा गण्डकीमा पनि हल्का वर्षा हुन्छ ।”

हाल देशमा पश्चिमी वायु भित्रिइसकेको उनले बताए । अब विस्तारै मनसुनी वायुको प्रभाव कमजोर हुँदै जान्छ । “अहिले पश्चिमी वायु आइरहेको छ यता,” उनले भने, “उताबाट सुक्खा वायु आइसकेको छ, अरबसागर र भूमध्यसागरबाट ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro