काठमाडौं । मौसमका विषयमा अक्सर प्रयोग गरिने शब्दावली हो, उच्च र न्यूनचापीय प्रणाली । यो हावासँग सम्बन्धित छ । हावा जहिल्यै उच्चबाट न्यून चाप भएतिर बहने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
न्यूनचापीय प्रणाली के हो त ? उनले भनिन्, “वायुमण्डलमा ‘हिटिङ’ हुन्छ । सतहसम्म हिट भइसकेपछि यहाँको हावा तातिएर माथि जान्छ । यहाँको हावा तातिएर माथि गएपछि यहाँचाहिँ हावाको चाप कम हुन्छ । त्यसलाई हामी न्यूनचापीय प्रणाली भन्छौँ ।”
अर्कोतर्फ, हावाको चाप बढी भएको स्थानलाई उच्चचापीय क्षेत्र भनिन्छ । त्यस्तो स्थानबाट न्यून चाप भएको ठाउँमा हावा आउँछ ।
“सामान्यतया वायुमण्डलमा जहाँ हावाको चाप कम छ, त्यहाँ हावाको चाप त फुलफिल हुनुपर्यो नि ! त्यही भएर उच्च चाप भएको ठाउँबाट न्यून चाप भएको ठाउँमा हावा आउँछ,” उनले भनिन् ।
न्यूनचापीय क्षेत्रमा बाहिरबाट हावा आइरहेको हुन्छ । उच्चचापीय क्षेत्रले हावा बाहिर फालिरहेको हुने उनले बताइन् ।
“यो न्यूनचापीय प्रणाली वायुमण्डलमा सामान्यतया घुम्ने कुरा गर्ने हो भने एन्टी क्लर्कवाइज (घडीको उल्टो चाल) घुम्छ,” उनले भनिन्, “हावा एन्टी क्लर्क वाइज घुम्यो भने त्यसलाई न्यूनचापीय क्षेत्र भनिन्छ । हावा क्लर्कवाइज घुम्यो भने त्यसलाई उच्चचापीय क्षेत्र भन्छौँ ।”
न्यूनचापीय रेखाचाहिँ के हो ? “न्यूनचापीय रेखा भनेको चाहिँ जहाँ न्यून चाप, न्यून चाप जोडिएको ठाउँ हुन्छ, त्योचाहिँ न्यूनचापीय रेखा हो,” मौसमविद् कँडेलले भनिन् ।
मनसुनको समयमा मनसुनको न्यूनचापीय रेखा पनि भन्ने गरिन्छ । यसलाई मनसुनी वायु समेत भन्ने गरिन्छ । उनले भनिन्, “यसरी हावा कताबाट कता घुमिरहेको छ भन्ने चिजले यो न्यूनचापीय प्रणाली हो कि उच्चचापीय प्रणाली हो भन्ने थाहा पाउन सकिन्छ ।”
पश्चिमी वायु के हो ?
पश्चिमी वायु सामान्यतया मेडिटेरिएन सी (भूमध्यसागर)बाट आउँछ । स्थानीयबाहेक अरू ठूलठूला प्रणाली बाहिरबाटै आउने उनले स्पष्ट पारिन् ।
“भूमध्यसागरबाट आउँदा सतहको पाँच किलोमिटरमाथि अथवा साढे पाँच किलोमिटरमाथिसम्म त्यो वायु हुन्छ । त्यो भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, इन्डिया, जम्मु काश्मीर हुँदै नेपालको पश्चिमी भूभागबाट छिर्ने भएर हामी त्यसलाई पश्चिमी न्यूनचापीय प्रणाली भन्छौँ,” उनले भनिन् ।
पश्चिमी वायुले पनि धेरै वर्षा गराउने अवस्था हुन्छ । “सतहबाट पाँच–सात किलोमिटरमाथि भएको वायु (सिस्टम) जब तलतिरसम्म ‘डिप’ हुँदै आउँछ, सतहसम्म डिप हुँदै आउँछ र जलवाष्पयुक्त हावा अरबसागरबाट जब भित्रिँदै आउँछ, त्यो अझ एक्टिभ (सक्रिय) हुन्छ,” उनले भनिन् ।
उनले अगाडि भनिन्, “यो पाँच किलोमिटरमाथि आसपासमा रह्यो, त्यो सतहसम्म आउन सकेन भने त्यसले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा लिन सक्दैन र त्यसले पर्याप्त मात्रामा वर्षा गराउन सक्दैन ।”
पूर्व र पश्चिमको वायु ‘मर्ज’ भए विपत्ति
मनसुन सिजनमा पूर्वीयसँगै पश्चिमी वायुको समेत प्रभाव पर्न सक्छ । पूर्व र पश्चिमको वायु ‘मर्ज’ भए विपद्का घटना निम्त्याउन सक्ने उनले बताइन् ।
“मनसुन सिजनमा पनि के हुन्छ भने पूर्वीय वायुसँगसँगै पश्चिमी वायुको पनि इन्फ्लुएन्स (प्रभाव) हुनसक्छ । पूर्वबाट आएको वायु र पश्चिमबाट आएको वायुचाहिँ एक ठाउँमा ‘मर्ज’ भयो भने त्यसले एकदमै ठूलो विपत्ति, वर्षाका घटनाहरू र विपद्का घटनाहरू निम्त्याउन सक्छ,” उनले भनिन् ।
मनसुन के हो ?
मौसमविद् कँडेलले स्पष्ट पारिन्– मनसुन भनेको वायु मात्रै हो ।
यो वायु अरबसागर र बंगालको खाडी हुँदै आउँछ । यसले जलवाष्पयुक्त हावा सँगै लिएर आउँछ । “हिमालयन रेन्जले त्यो वायुलाई छेक्ने हुनाले यहाँ मनसुनी वायु (जलवाष्पयुक्त हावा) कन्डन्सेसन हुन्छ र बादल बन्छ,” उनले भनिन्, “बादल बनिसकेपछि बर्सिन्छ ।”
जहाँ न्यून चाप बढी छ, त्यहाँ बादल बन्छ र वर्षा पनि त्यहीँ हुन्छ । “किनभने, बाहिरबाट हावा त त्यहीँ आएको हुन्छ,” उनले भनिन् ।
न्यूनचापीय क्षेत्र पनि सर्ने हुन्छ । “जहाँ दुईतीन दिन वर्षा गराउँछ, अलि चिसिन्छ, फेरि हिटिङ भएको ठाउँमा सर्छ । त्यहाँ वर्षा गराउँछ । न्यूनचापीय क्षेत्र जहाँ छ, त्यहाँ बढी वर्षा हुन्छ,” उनले भनिन् ।
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गर्छ । “मनसुन भनेको साउथ एसियामा हुने हो, नेपालमा मात्रै होइन,” उनले भनिन् ।
विस्तृत भिडियोमा हेर्नोस्–