site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंसहित यी स्थानमा सडक अझै अवरुद्ध

काठमाडौं । काठमाडौं उपत्यकास्थित विभिन्न खोला करिडोरका पुलमुनि लेदोसहितको माटो जमेका कारण सवारीसाधन चल्न सकेका छैनन् ।

काठमाडौंको टेकुस्थित विष्णुमती पुल, परोकार, बल्खु पुल, ललितपुरको सानेपास्थित कालोपुल र कुपण्डोलको वाग्मती पुलमुनिको बाटो हुँदै चल्ने सवारीसाधन चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

आइतबार बिहान साढे ११ बजेसम्मको ट्राफिक प्रहरीको विवरणानुसार, कीर्तिपुर–चोभार र बल्खु–चोभार सडकखण्ड पनि पहिरोको कारण अवरुद्ध भएको छ । ललितपुरको ताखेल हुँदै चल्ने सवारीसाधन पनि पहिरोका कारण प्रभावित भएका छन् ।

ललितपुरकै नख्खुडोलस्थित पुल भासिएकाले सवारी आवागमन बन्द भएको छ ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण नागढुंगा, सिस्नेरी, फर्पिङ, कान्ति लोकपथ, तीनपिप्ले र भीमढुंगा हुँदै चल्ने सवारीसाधन प्रभावित भएका छन् । योसँगै देशैभरका केही राजमार्ग पनि बाढीपहिरोका कारण अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थान र सिन्धुलीको सुनकोसी गाउँपालिका–१ र २ मा बाढीपहिरोले गर्दा बीपी राजमार्ग अवरुद्ध छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११, पहरीगाउँमा पनि पहिरो खस्दा अरनिको राजमार्ग हुँदै चल्ने सवारीसाधन पूर्ण रूपमा प्रभावित भएका छन् ।

रसुवाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङल्हामु राजमार्गमा सवारीसाधन प्रभावित भएका ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरेभीर, फिक्कल गाउँपालिका–२, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, बर्खेटार र हलेसी तुवाचुङ–१ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित भण्डारेखोलामा पहिरो खस्दा ओखलढुंगा–घुर्मी सडकखण्ड अवरुद्ध छ ।

रामेछाको मन्थली नगरपालिका–६ स्थित सुनकोसी नदीले पुल बगाउँदा सिन्धुली–रामेछाप चल्ने सवारीसाधनको आवागमन रोकिएको छ ।

उदयपुरको कटारी नगरपालिका–८ गेरुडाँडा र कटारी–११, गहुँबारीमा खसेको पहिरोले सिद्धिचरण राजमार्गमा सवारीसाधन प्रभावित भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–३, हिउँदेखोलामा  पहिरो खसेर कालीगण्डकी करिडोरमा सवारीसाधन प्रभावित भएका छन् ।

रुकुम–घोराही सहिद राजमार्गस्थित रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलाबाङमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro