काठमाडौं । लेबनानको अर्धसैनिक समूह हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकिटाकी शृंखलाबद्धरूपमा विस्फोट हुँदा ३२ जनाको मृत्यु भएको छ । विस्फोटबाट तीन हजारभन्दा बढी मानिस घाइते भएका छन् ।
हिजबुल्लाहले आफूले प्रयोग गर्ने पेजर र वाकिटाकी इजरायलले विस्फोट गराएको आरोप लगाएको छ । तर, इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । लेबनान सरकारले विमानस्थलमा प्रतिबन्ध लगाएको छ । सुरक्षाकर्मीहरूले पनि वाकिटाकी र पेजर प्रयोगमा आंशिक प्रतिबन्ध लगाएका छन् । हिजबुल्लाहले आफ्ना सदस्यलाई मोबाइल र पेजर तत्कालका लागि प्रयोग नगर्न निर्देशन दिएको छ ।
पेजर र वाकिटाकीलाई बमका रूपमा प्रयोग गरेर विस्फोट गराएपछि सुरक्षा र प्रविधि विज्ञहरूले दैनन्दिन प्रयोग भइरहेका मोबाइल, ल्यापटप, कम्प्युटर, एअरबड पनि यसैगरी विस्फोट गराउन सकिने खतरा औँल्याएका छन् ।
लेबनानमा विस्फोट भएका पेजर र वाकिटाकीमा विस्फोटक पदार्थ राखिएको आशंका छ । त्यसरी राखिएको विस्फोटक पर्दार्थ ‘कोडेड म्यासेज’मार्फत विस्फोट गराइएको बताइन्छ ।
क्यानडा रिसर्च सेन्टरकी अध्यक्ष तथा साइबर सुरक्षा विज्ञ हादिस करिमिपोर भन्छिन्, "लेबनानका विस्फोट घटना हेर्दा, हामीले बोकेका मोबाइल त्यसरी नै विस्फोट गराउन न सकिएला भन्न सकिँदैन । तर, मोबाइलको सुरक्षा प्रबन्ध पेजर, वाकिटाकीको भन्दा बलियो हुन्छ । त्यसैले मोबाइल विस्फोट गराउन सानोतिनो क्षमता र प्रविधिले पुग्दैन ।"
‘इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनियर’का प्राध्यापक जोसेफ जार्नेट भन्छन्, "वाकिटाकी र पेजरमा निकै पुरानो प्रविधि प्रयोग हुन्छ, मोबाइलमा आधुनिक प्रविधि । आधुनिक प्रविधि ह्याक गर्न सकिँदैन भन्ने अहिलेसम्म कुनै प्रमाण छैन ।"
हालसम्म मोबाइल, ल्यापटपजस्ता उपकरण योजनाबद्धरूपमा विस्फोट गराइएका घटना भएका छैनन् । तर, कसैले विस्फोट गराउन चाहेमा असम्भव नहुने बताउँछन्, बेलायतको चार्टड इन्स्टिच्युट अफ आईटीका अध्ययता ड्यानियल कार्ड । "मोबाइल फोनमा पेजर वा वाकिटाकि जस्तो विस्फोटक पदार्थ राख्ने खाली ठाउँ हुँदैन । तर, कसैले चाह्यो भने अरू कुनै उपायबाट विस्फोट गराउन सक्छ," उनी भन्छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, हिजबुल्लाह समूहले प्रयोग गर्ने पाँचहजार पेजरमा सानो मात्रामा विस्फोटक पदार्थ राखिएको थियो । त्यो विस्फोटक पदार्थ र पेजरमा रहेको ९० ग्रामको लिथियम ब्याट्री विस्फोट भएको विज्ञहरूले बताएका छन् । लेबनानस्थित संयुक्त राष्ट्रसंघको मिसनले लेबनानका हिजबुल्लाहसम्म पुग्नुअगावै पेजर र वाकिटाकीमा विस्फोटक पदार्थ फिट गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।
विस्फोटपछि लेबनानमा मात्र नभई संसारभर ब्याट्रीबाट चल्ने विद्युतीय सामग्रीको सुरक्षालाई लिएर चिन्ता बढेको छ । लेबनानमा भएको पेजर र वाकिटाकी विस्फोटलाई विज्ञहरूले ह्याक, साइबर युद्धका रूपमा मात्र नभई सप्लाई चेनमाथिको आक्रमण, औद्योगिक सुराकीका रूपमा पनि लिएका छन् ।
पेजर र वाकिटाकीपछि अब मोबाइल फोन, एअरपड, हेडफोन, ल्यापटपजस्ता विद्युतीय उपकरण पनि निसानामा पर्ने खतरा बढेको छ । ब्याट्रीमा आधारित यी साग्रिहरूले रेडियो सिग्नलबाट काम गर्छन् । रेडियो सिग्नलबाट काम गर्ने उपकरणहरू रिमोटमार्फत अपरेट गर्न सकिन्छ ।
समाचार संस्था अलजजिराका अनुसार, पेजर र वाकिटाकी विस्फोटपछि प्रविधि कम्पनीहरू आफ्नो सप्लाई चेनमा हुन सक्ने हमलाबारे चिन्तित भएका छन् । "प्रविधि उत्पादन गर्ने र सप्लाई गर्ने सबै कम्पनीहरू यो घटनाले चिन्तित भएका छन्," अलजजिराले लेखेको छ ।
विज्ञहरूका अनुसार, यस घटनापछि संसाभरका प्रविधि उत्पादक कम्पनीहरू आफ्नो सप्लाई चेन र उत्पादनको गलत प्रयोगबारे सचेत हुनुपर्ने बेला भएको छ ।
यस अगाडि नै सन् १९९६ मा इजरायलले हमासका मुख्य बम निर्माता याहया अय्याशलाई उनको मोबाइल फोन विस्फोट गराएर मारिसकेको छ । मोबाइलको बजेपछि उठाउन खोज्दा मोबाइल विस्फोट भएर उनी मारिएका थिए । सीएनएनका अनुसार, उनको मोबाइलमा ५० ग्राम विस्फोटक पदार्थ फिट गरिएको थियो । यसपछि पनि यस्तै प्रकृतिको विस्फोटमा चारजना हमासका मान्छे मारिएका छन् ।
इजरायलले यसअघि सन् २०१० मा इरानका न्युक्लियर वैज्ञानिकको कम्प्युटर विस्फोट गराएर हत्या गरिसकेको छ । कम्प्युटरमा भाइरस पठाएर कम्प्युटर विस्फोट गराएर ती वैज्ञानिकको हत्या गरिएको थियो । यही विस्फोटका कारण इरानको आणविक हतियार/ऊर्जा निर्माण गर्ने मुख्य प्रविधि पनि ध्वस्त गरेको थियो ।
त्यसैगरी, सन् २०२० मा मोहसेन फकहरिजादेह नामका अर्का न्युक्लियर वैज्ञानिकलाई इजरायलले एउटा गाडीमा कृत्रिम बौद्धिकता प्रयोग गरिएको मेसिन गन फिट गरेर मारेको थियो । जुन गनमा अनुहार पहिचान गर्न सक्ने प्रविधि थियो ।
शान्टा क्लारा विश्वविद्यालयमा प्रविधिमा नैतिकता विषयका प्राध्यापक ब्रिन प्याट्रिक पेजर र वाकिटाकी विस्फोटको घटनाले प्रविधिमाथि आममानिसको विश्वास कम गरेको बताउँछन् । उनी भन्छन्, "कसैले थाह नपाउने गरी हजारौँ उपकरणहरू हतियारमा परिणत गरिएको यो पहिलोपटक हो । यस आक्रमणले प्रविधिमाथिको मान्छेको विश्वास कम गरेको छ ।"
अक्सफोर्ड विश्वविद्यालयमा डिजिटल इथिक्स र सुरक्षा प्रविधिकी प्रोफेसर मारियारोसारिया टाड्डियो भन्छिन्, "लेबनानको पेजर विस्फोटलवे प्रविधिको दुरुपयोगको खतरा बढायो । यसले प्रविधिको प्रयोग गरेर हुन सक्ने छद्म युद्धतिर संकेत गर्यो ।"
लेबनानमा विस्फोट भएका पेजर ताइवानको कम्पनीले निर्माण गरेको हो । वाकिटाकीमा जापानको कम्पनीको नाम लेखिएको छ । ताइवानको पेजर निर्माता कम्पनीले आफूले हंगेरीको एउटा कम्पनीलाई लोगोमात्र प्रयोग गर्न दिएको र आफूले पेजर उत्पादन नगरको बताएको छ । त्यसैगरी, जापानको कम्पनीले लेबनानमा विस्फोट भएका वाकिटाकीमा आफ्नो नाम देखिए पनि आफूले ती वाकिटाकीको उत्पादन १० वर्ष अगाडि नै बन्द गरेको बताएको छ ।
‘द वासिङटन पोस्ट’को समाचार अनुसार, लेबनान विस्फोटले हामी आफ्नो साथमा एउटा बम बोकेर हिँडिरहेकोतर्फ संकेत गरेको छ । ‘टेक पोलिसी थिंक ट्यांक इन्फर्मेसन टेक्नोलोजी एन्ड इनोभेसन फाउन्डेसन’का उपाध्यक्ष ड्यानियल क्यास्ट्रोका अनुसार यदि सप्लाई चेनमा गडबडी गरेर लेबनानमा पेजर र वाकिटाकी विस्फोट गराइएको ग्लोबल बजारको स्पलाई चेननै खतरामा परेको छ । ग्लोबलाइजेसनको युगमा लाखौँ किलोमिटर टाढाबाट ल्याइने प्रविधियुक्त सामग्रीलाई बाटैमा बम बनाउन सकिने खतरा बढेको छ ।
सन् २०१४ मा ‘नेसनल सेक्युरेटी एजेन्सी अमेरिका’का एक कर्मचारी इडवार्ड स्नोडनले अमेरिकाले आफ्नो देशबाट बाहिर जाने विद्युतीय सामग्रिमा निगरानी गर्ने उपकरण राख्ने गरेको फोटो, भिडियोसहित कागजात सार्वजनिक गरेका थिए । इजरायलले पनि यस्तै गरेर पेजरमा विस्फोटक पदार्थ राखेको हुन सक्ने आशंका गरिएको छ ।
रुसमा शरण लिएर बसेका स्नोडकले एक्स (ट्विटर)मा आफूले १० वर्ष अगाडि नै सप्लाई चेनमा हुने गडबडीबा रे बताएको जानकारी दिँदै लेखेका छन्, "१० वर्षपछि पनि सिपमेन्टको सुरक्षामा कुनै सुधार भएन । यसले गर्दा संसारमा सबैजना असुरक्षित भएका छन् ।"
बेलायती पत्रिका इन्डिपेन्डेन्टका अनुसार, मोबाइल, कम्प्युटरजस्ता उपकरणको सफ्टवेर र हार्डवेर दुवै प्रयोग गरेर त्यसलाई विस्फोट गराउन सकिन्छ ।