काठमाडौं । नेपाली कांग्रेसले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको छ । त्यसका लागि कांग्रेसले संवैधानिक परिषद्बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको छ ।
कांग्रेसकै कोटामा सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको विषयमा समस्या देखिएपछि उनको नाम संसदीय समितिमा सुनुवाइका लागि नै पठाइएको थिएन । रिजालले इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगी स्वदेश नफर्काएको उजुरी परेपछि उनको नाम फिर्ता लिइएको थियो ।
पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । उनले पार्टीबाट आफू राजदूतमा सिफारिस भएको जानकारी आएको बताएकी छन् ।