site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जात–व्यवस्थाले निम्त्याएको क्रूरता : गाउँभरि मान्छे छन्, शव उठाउन मिल्दैन !

काठमाडौं । सिन्धुली तीनपाटन गाउँपालिका–७ तेश्रमखोला गाउँकी ६५ वर्षीय कृष्णमाया पहाडीको गत आइतबार मृत्यु भयो । मृगौलासम्बन्धी रोगले ग्रस्त पहाडीको मृत्यु भएपछि उनको शव घाटसम्म लैजान गाउँमा मान्छे नभएको भन्दै सामाजिक सञ्जालमा चर्चा भयो । गाउँमा मान्छे नभएकै कारण पहाडीको शव घाटसम्म लैजान चारजना मात्र जम्मा भएको भन्दै सामाजिक सञ्जालमा धेरैले लेखे । तस्बिर सेयर गरे । 

तीनपाटन गाउँपालिका–७ का वडाअध्यक्ष युवराज पहाडीका अनुसार गाउँमा मान्छेको अभाव भएको होइन । गाउँमा मान्छे हुँदा पनि जात–व्यवस्थाका कारण ‘शव उठाउने मान्छे नभेटिएको’ हो । मृतक पहाडीको शव बोक्नेमध्ये एक उनै वडाध्यक्ष पहाडी हुन् ।

उनले बाह्रखरीसँग भने, “आइतबार बिहानै उहाँको मृत्यु भयो । हाम्रो गाउँमा क्षेत्री/ब्राह्मणका ६ वटा मात्र घर छन् । घर भए पनि त्यहाँ बसोबास भने छैन । मृतक ब्राह्मण जातको हुनुहुन्थ्यो ।” 

गाउँपालिकाको वेवसाइटमा भएको विवरणअनुसार वडा नं ७ मा ४४४ घरधुरीमा २५ सय २६ जनसंख्या छ । मृतक पहाडीको गाउँ तोश्रमखोला बस्तीमा २९ घरधुरी छन् । यी घरधुरीमा कुल जनसंख्या १७० छ । 

गाउँपालिकाको विवरणअनुसार वडा नं ७ मा २ हजार ३५२ जना हिन्दू धर्मावलम्बी छन् । १७४ जना बौद्ध धर्मावलम्बी छन् । ७ नम्बर वडामा १४ सयभन्दा बढी जनसंख्या गैरक्षेत्री/ब्राह्मणको छ । 

वडाअध्यक्ष पहाडीका अनुसार उनको वडामा दलित र जानजातिको बाहुल्यता छ । “ब्राह्मणको शव दलित र जनजातीले छुन/उठाउन नहुने भन्ने रुढिवादी चलन छ । त्यहीकारण शव घाट लैजान मान्छे भएनन् ।” 

जात–व्यवस्थाको यो अभ्यासमा विश्वास नगर्न आफूले आग्रह गर्दा पनि गाउँलेले नमानेको उनको दाबी छ । ‘‘शव बोक्ने पनि मान्छे नहुने भएपछि मैले दलित तथा जनजाति साथीभाइलाई आउनुहोस् शव त बोक्नुपर्छ भनेको हुँ । तर, उहाँहरूले नै मान्नुभएन ।’’

पहाडीले स्थानीय दलित तथा जनजातिले ब्राह्मणको शव छोएमा कुलदेवता रिसाउने, अनिष्ट हुने भन्दै पन्छिएको बताए । ‘‘यो अन्धविश्वास हो, केही भएमा म जिम्मा लिन्छु भनेर भनेको पनि हुँ,”  वडाध्यक्ष पहाडीले भने, “तर कसैले मान्नु भएन ।” 

गाउँका दलित र जनजातिले शव छुन/बोक्न नमानेपछि मृतकका छोरा, आफू, एकजना महिला र अर्का एक छिमेकी गरी चारजना भएर दुई घण्टा टाढाको घाट पुर्याएको उनले सुनाए ।

दाहसंस्कारका लागि आवश्यक दाउरा भने ट्रयाक्टरमा हालेर घाटसम्म पुर्याएको उनले बताए । “दुई घण्टासम्म शव बोक्न सजिलो हुँदैन, गाउँका मान्छेहरू जातपातको अन्धविश्वास मान्दै शव बोक्न आउनुभएन,” उनले भने, “पहाडी भन्छन्, “कसैले नमानेपछि हामी चारजनाले शव घाटसम्म पुर्यायौँ ।” 

पहाडीले गाउँमा गैह्रक्षेत्री/ब्राह्मण मलामी गएको तर शव बोक्न र छुन नमानेको बताए ।  

मान्छे मर्दा पनि जातको कुरा हुँदा आफू सामाजिक चेतना देखेर लज्जित भएको बताउँदै उनी भन्छन्, ‘‘हामी राजनीति गर्नेले के भनेर राजनीति गरिरहने हो ? समाजको चेतनाको अवस्था यस्तो छ ।’’

युवराज पहाडी– वडा अध्यक्ष 
‘‘हाम्रो गाउँमा दलित र जनजातिको बाहुल्यता छ । क्षेत्री/ब्राह्मणका ६ घरमात्र छन् । ती घरमा पनि मान्छे छैनन्, कोही काठमाडौं, कोही तराइतिर छन् । आइतबार बिहान कृष्णमाया पहाडी आमाको निधन भयो । 

उहाँका छोरा, म, एकजना छिमेकी र मनमाया अधिकारी मात्र भयौँ । दुई घण्टा टाढाको घाटसम्म हामी चारजनाले मात्र शव पुर्याउन मुस्किल हुने भयो । मैले गाउँका दलित/जनजाति साथीभाइलाई खबर गरेँ । तर, उहाँहरूले हामीले त ब्राह्मणको शव छुने गरेका छैनौँ भन्नुभयो । 

मैले उहाँहरूलाई यस्तो जातका कुरा आजको जमानामा मान्नु हँदैन भनेर सम्झाएँ । तर, उहाँहरूले कुलदेवता रिसाउँछन्, अनिष्ट हुन्छ भन्न थाल्नुभयो । मलामी जान्छौँ तर शव बोक्न र छुन मिल्दैन भन्नुभयो । 

उहाँहरूले केही गर्दा पनि नमानेपछि मैले यस्तो केही हुँदैन केही भयो भने म जिम्मा लिन्छु पनि भनेको हो । तर, मेरो केही चलेन । त्यसपछि हामी चारजनाले पालैपालो शव बोकेर घाटसम्म पुर्यायौँ । यो घटना देखेपछि मैले अब यहाँ शवबाहन आवश्यक महसुस गरेको छु ।

तस्बिर : वडाध्यक्ष युवराज पहाडीको फेसबुक ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro