site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित राजदूत चौहानलाई प्रश्न– रुसी सेनामा नेपाली युवाको भर्ती रोक्न के छ योजना ? 

काठमाडौं । रुसको लागि नेपाली राजदूतमा सिफारिस भएका जंगबहादुर चौहान बुधबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उपस्थित भए । 

सुनुवाइको क्रममा अधिकांश सांसदको जिज्ञासा रुसी सेनामा भइरहेको नेपाली युवाको भर्ती, उनीहरूको फिर्ती र रुस–युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई उपलब्ध गर्ने क्षतिपूर्तिमा केन्द्रित थियो ।

“रुसी सेनामा नेपाली युवाको भर्ती रोक्न, भर्ती भएकालाई फिर्ता ल्याउन, रुस–युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन के गर्नुहुन्छ ? के छ योजना ?,” समितिमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे । 

नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाको प्रश्न पनि रुसी सेनामा नेपालीको भर्तीसँग केन्द्रित थियो । उनको प्रश्न थियो, “रुस–युक्रेन युद्ध र त्यसमा नेपाली युवाको सहभागिता के हो ? वस्तुगत परिस्थिति के छ ?” 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा नेपाली युवाको भर्तीलाई रोक्न र नेपाल रहेका उनीहरूको परिवारलाई भरोसा दिलाउने योजना बताउन आग्रह गरे । 

“रुसले नेपाली युवालाई बिनातालिम जोखिम ठाउँमा खटाउँदा धेरैले ज्यान गुमाएका छन् । यो जोखिम न्यूनीकरण गर्न र रुसी सेनामा भर्ती भएकालाई फिर्ता गर्न के गर्नुुहुन्छ,” नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले सोधिन् । 

चौहानले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा रुसी सेनामा भर्ती भएका युवालाई फिर्ता गर्ने योजना नसमेटिएकोमा असन्तुष्टि जनाइन् । 

“रुसी सेनामा नेपालीको भर्ती रोक्न, भर्ती भएकालाई फिर्ता ल्याउने कुरा जटिल छ । सामान्य अनुरोधमा हुँदैन, विशेष पहल गनुपर्छ,” नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले भने, “रुसलाई आवश्यकता छ, जानेहरूको इच्छा छ । हामी यहाँबाट भर्ती रोक्न सम्भव छैन । उतैबाट रोक्नुपर्छ ।” 

सांसदहरूको उठाएको प्रश्नको जवाफ दिने क्रममा रुसको लागि राजदूतमा सिफारिस चौहानले रुसी सेनामा भर्ती भएकालाई उद्धार गरी ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । 

“नेपालीहरू विचौलियमार्फत रुसी सेनामा भर्ती भएका हुन्, यसमा नेपाल सरकार जिम्मेवार छैन,” उनले भने । 

चौहानले हालसम्म रुसी सेनामा भर्ती भएका १७५ जना नेपाली युवा फर्किसकेको जनाए । रुसी सेनामा भर्ती भएकामध्ये ४३ जनाको मृत्यु भइसकेको, सातजनालाई युक्रेनले युद्धबन्दी बनाएको र ३० जनाको मृत्यु भएको आशंकामा डीएनए परीक्षण गर्ने कार्य भइरहेको बताए । 

“रुसी सेनामा कति भर्ती भएका छन् संख्या यकिन छैन । मृत्यु भएकाहरूको पनि शव नचिनिने अवस्थामा छन् भन्ने सुनेको छु । मृत्यु भएकाको परिवारले एक करोड ७० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ तर यो उपलब्ध गराउन गाह्रो छ,” चौहानले भने । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro