site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लिङदेनले संसद्‌मा सरकारलाई पहिला थर्काए पछि गरे आग्रह
राजेन्द्र लिङदेन । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताले व्यवस्थाको विकल्प खोजेको भन्दै राजनीतिक धम्की दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले केही युवाको आवाज दबाउन खोजेको जिकिर गरे । आवाज दमन गर्न नसकिने उनले चेतावनी दिए ।

उनले सरकारले देशका समस्याजस्ता महत्त्वपूर्ण विषयमा ध्यान नदिएको आरोप लगाए । “रुस–युक्रेन युद्धमा ४० जना नेपाली युवाको ज्यान गइसकेको छ । कति युक्रेन सेनाको नियन्त्रणमा छन् । विपीन जोशीको ओत्तोपत्तो छैन,” उनले भने, “गल्फमा मात्रै हजारौँ युवाहरू जेलमा छन् । यता चाडबाड नजिक आउँदा महँगी यसरी बढिरहेको छ कि यो किनेर खानेहरूलाई मात्र थाहा छ । महँगी चरम रूपमा बढेको छ । यी र यस्तो विषयमा सरकारको चासो छैन ।”

Dabur Nepal
NIC Asia

सरकार ठूला व्यापारी पोस्ने र आफ्नो दुनो सोझ्याउनेमै केन्द्रित बनेको पनि उनले आरोप लगाए । एनसेल धेरै देशमा काम गरेको ‘मल्टिनेसनल’ कम्पनी भएको भन्दै उनले नेपालमा नेताहरूका कारण बारबार विवादमा आउने गरेको बताए ।

“अस्ति एनसेललाई किस्ताबन्दीमा कर तिर्ने छुट दिने निर्णय सरकारले गर्‍यो । किन त्यस्तो हुन्छ होला ? किन व्यापारीहरू यहाँ मात्रै कर तिर्नै अप्ठेरो मान्छन् ? किन यहाँ मात्रै ती व्यापारीहरू विवादमा पर्छन् ?,” प्रश्न गर्दै लिङदेनले भने, “एनसेल एक्जिआटा कम्पनी हो । उसको व्यापार नेपालमा मात्रै छैन, उसको व्यापार मलेसियामा छ, कम्बोडियामा छ । अन्यत्र पनि छ । ती देशहरूमा विवाद आउँदैन, हाम्रोमा मात्रै किन विवादमा आउँछ ?”

उनले देश र सरकारको आवश्यकता अलग–अलग दिशामा देखिएको बताए । “यो सरकार कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गरिराखेको छ । हामीले त दुइटा ठूला पार्टी मिलिसकेपछि थुप्रै देश र जनताका लागि गर्नुपर्ने कामहरू थिए होलान् उनीहरूको दृष्टिकोणमा भनेका थियौँ,” उनले भने, “राम्रो काम त एनसेललाई करमा किस्ताबन्दी सुविधा दिने पो रहेछ !”

उनले यति भनेर सरकारलाई व्यवस्था नै समाप्त हुने राजनीतिक धम्की दिए । गौरा पर्वमा नेताको विरोध गर्नेप्रति सरकारको व्यवहारका विषयमा उनले प्रश्न उठाए ।

“अस्ति भर्खरै खुलामञ्चमा केही युवाहरूले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने, हामीले सुध्रनुपर्ने धेरै ठाउँ बाँकी रहेछ भनेर लिनुपर्नेमा त्यसमा सरकारको ठूलो आक्रोश पोखियो,” उनले भने, “जुन प्रकारको धरपडका प्रयासहरू भए, म सरकारमा रहनुभएका सबैलाई र सरकारको नेतृत्वलाई भन्न चाहन्छु– यो शुभसंकेत होइन । यसलाई तपाईंले पक्रेर र टेलिभिजनमा वा सार्वजनिक मञ्चमा ठूलो स्वरमा बोलेर दमन गर्न सक्नु हुन्न ।”

उनले जनताले सरकारको काम मन नपाइरहेको स्वीकार गर्न आग्रह गरे । नत्र व्यवस्थाको विकल्प खोजी गरिनेतर्फ उनले सचेत गराए ।

“तपाईंले स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको काममा अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइरहेका छैनन् र विकल्प खोजिरहेका छन् भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुस्,” उनले भने, “आफूलाई सच्याउनुस् र विगतका गल्ती–कमजोरीलाई नदोहोर्‍याउनुस् भनेर आग्रह गर्न चाहन्छु ।”

अनि, आग्रह
यति भनेपछि उनले सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका निम्ति जग्गा उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । “केही दिनअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर गएको थिएँ, जसले १२ वर्षदेखि सेवा दिइरहेको छ । गत वर्षदेखि वार्षिक २०० भन्दा बढी मानिसलाई सेवा दिइरहेको छ र शतप्रतिशत सफल छ । यो दुर्लभ प्रकारको उपलब्धि हो भनेर विज्ञहरूले भनेका छन्,” लिङदेनले भने, “तर, सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको भवन रहेनछ ।”

जग्गा पाए ६ महिनाभित्र भवन बनाउने र ५०० गुणा बढी सेवा दिने भनिएको उनले सुनाए । “उनीहरूले भनेका छन्– हामीलाई सरकारले जग्गा मात्र उपलब्ध गरायो भने हामीले ६ महिनाभित्रमा ३०० बेडको संरचना बनाउँछौँ र अहिले दिइरहेको सेवामा ५०० प्रतिशतले वृद्धि हुन्छ,” उनले भने, “त्यसको नजिकै भक्तपुर इँटाटायल कारखानाको जग्गा छ, तर सरकारले दिन चाहिराखेको छैन ।”

उनले प्रधानमन्त्रीलाई गम्भीर भएर निर्णय गर्न आग्रह गरे । “म प्रधानमन्त्रीजीलाई आदरपूर्वक स्मरण गराउन चाहन्छु, यो संवेदनशीलता उहाँमा हुनुपर्दछ । आफैँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ,” उनले भने, “कुनै पनि बहाना नगरीकन, तर्क–वितर्क नगरीकन मानव अंग प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउनुपर्छ । भक्तपुर इँटाटायल कारखानाको जग्गा उद्योग मन्त्रालयको नाममा छैन, गत पुसदेखि कसैको उपयोगमा पनि छैन । यसमा सरकारको ध्यान जाओस् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro