काठमाडौं । आज भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ ।
यसैबीच, बुवाको मुख हेर्ने दिन र कुशे औंशीको अवसरमा भक्तपुरको हनुमन्ते खोलामा पनि घुइँचो लागेको छ । स्नान गरी दिवंगत बुवाप्रति सम्मान गर्न सिदा दान गर्नेको भिड लागेको हो ।