-1748792209.jpg)
काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटो देखाइएकाे छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो । गुठी संस्थान ललितपुरका प्रतिनिधिले मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाएका हुन् ।
भोटो प्रदर्शनीमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए ।
भोटो प्रदर्शनपछि राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिहरूले रातो मच्छिन्द्रनाथको टीका र प्रसाद ग्रहण गरे । यो परम्परा करिब ८०० वर्ष पुरानो मानिन्छ । भोटो देखाउनुको पछाडि भूतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मच्छिन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ ।
मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।
भोटो जात्रा समापनसँगै रातो मछिन्द्रनाथलाई खटमा राखेर बुङ्मतीमा अवस्थित रातो मछिन्द्रनाथको मन्दिरमा लगिएको थियो । बाटोमा स्थानीयहरूले छवाली बालेर रातो मछिन्द्रनाथ को स्वागत गर्ने चलन छ । २०७२ सालको भूकम्पले भत्केको मन्दिर पुनर्निर्माणपछि आज नै पहिलोपटक मन्दिर प्रवेश गराएको थियो ।