site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले भनेको तिजमा ‘तडकभडक’ के हो ?

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार तिज पर्वका बारेमा एक सूचना जारी गर्‍यो । कार्यालयले अनावश्यक ‘तडकभडक’ र खर्चिलो हुनेगरी तिज पर्वका कार्यक्रम आयोजना गरे कारबाही गर्ने चेतावनी दियो । 
 
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जारी गरेको सूचनामा ‘कोही कसैले अनावश्यक ‘तडकभडक’ र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरूको आयोजना गरे/गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुने’ चेतावनी दिइएको छ ।

कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को आधार दिएको छ ।

के छ कानुनमा ?
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को परिभाषामा लेखिएको छ, ‘सामाजिक व्यवहार भन्नाले विवाह, ब्रतबन्ध, चुडाकर्म, पास्नी, न्वारन, जन्मदिनवस, छैठी, बुढो पास्नी र पितृकार्य समेतलाई जनाउँछ ।’ पञ्चायत कालमा ल्याइएको यो ऐन २०७२ को फागुनमा संशोधन भएको थियो ।

यही ऐनको दफा १४ मा ‘विवाह, ब्रतबन्ध, चुडाकर्म, पास्नी, बुढो पास्नी तथा पितृकार्य आदिमा गरिने खर्चको हदबन्दी लगाई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आदेश जारी गर्न सक्छ’ भन्ने व्यवस्था गरिएको छ ।

सामाजिक व्यवहार सुधार ऐनमा तिजपर्वका बारेमा कतै पनि उल्लेख छैन । यो ऐनले विवाह, ब्रतबन्ध, चुडाकर्म, बुढो–पास्नी, पितृकार्यका बारेमा मात्र उल्लेख गरेको छ । 

यही ऐन लागु गर्न बनेको नियमावलीमा भने तिजको कुरा उल्लेख गरिएको छ । नियमावलीको नियम १२ मा लेखिएको छ, ‘तिज पर्वमा दर पठाउँदा आ–आप्नो प्रचलन एवं परम्पराअनुसार मिठाई र फलफूलजस्ता चिजबिजहरू सबै गरी बढीमा दुई किस्तीबाहेक अन्य सामाग्री पठाउन हुँदैन ।’

अर्थात् नियमावलीले तिज पर्वमा दर पठाउने विषय मात्र बोलेको छ । दरका कार्यक्रम गर्ने वा अरु विषय नियमावली र ऐन कतै उल्लेख छैनन् ।

यसका वावजुद काठमाडौं जिल्ला प्रशासन कार्यालयले तिजलाई ‘तडकभडक’सँग जोडेर चेतावनी दियो । यो सूचना जारी गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगेलसँग हामीले सोध्यौँ ‘के हो ‘तडकभडक’ ?’ जवाफमा ढुंगेलले भने, “यो अमूर्त कुरा हो । यसको ठ्याक्कै परिभाषा छैन । यो सूचनामा हामीले समाजलाई दिग्भ्रमित पार्ने, भड्काउने कुरा गर्नु भएन भनेका हौँ ।” 

अघिल्लो वर्षको तिज भड्किलो देखिएको उनको भनाइ छ । “अघिल्लो वर्ष हामीले एक महिला पहेँलो सारी लगाएर भुइँमा उठबस गरेर नाचेको देख्यौँ । हामीले यसैलाई ‘तडकभडक’ भनेका हौँ । यस्तो गर्नुभएन,” उनले भने, “हामीले समाजमा असर नगर्ने, सामाजिक गतिविधि गर्नुहोस् भनेको हौँ । लुगा लगाउने, नाच्ने कुरा व्यक्तिगत भए पनि रत्नपार्कमा गएर नांगै उभियो भने त प्रहरीले समाउँछ ।” 

सहायक प्रमुख जिल्ला अधिकारी ढुंगेलले सूचनालाई शाब्दिक अर्थभन्दा पनि लाक्षणिक अर्थमा बुझ्न आग्रह गरे । 

सामाजिक सञ्जालमा काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचनाको विरोध भइरहेको छ । चाडपर्व मनाउने व्यक्तिको निजी विषयमा राज्यले हस्तक्षेप गरेको भन्दै आलोचना भइरहेको छ । 

समाजशास्त्री निर्मला ढकाल सरकारले आफ्नो उपस्थिति जनाउन यस्तो सूचना जारी गरेको बताउँछिन् । “जनताले यस्ता सूचना एक कानले सुनेर अर्को कानले उडाउँछन् भन्ने सरकारलाई पनि थाह छ,” उनले भनिन्, “तर पनि राज्यले आफ्नो उपस्थित देखाउन यस्तो सूचना निकाल्छ ।”

आफूले नियमन गर्न नसक्ने विषयका सूचना जारी गरेर सरकारले आफू पनि छु भनेर देखाउन खोजेको ढकालको बुझाइ छ । “सरकारको सूचना पढेर तिज कसरी मनाउने, कसरी नमनाउने भन्ने हुँदैन । त्यसैले यस्तो सूचना जारी नगरे पनि हुन्छ,” उनले भनिन् ।  

चाडपर्व मनाउने व्यक्तिको स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गर्न खाजेको भन्दै आलोचना भइरहँदा ढकाल भन्छिन्, “यस्ता विषयमा राज्यको हस्तक्षेपकारी भूमिकाले केही अर्थ राख्दैन । राज्यले चाडपर्व मनाउने तौरतरिका बनाएर सम्भव पनि छैन ।”  

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro