site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारको हदम्याद उत्तेजना फैलाउने विषय होइन : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌मा रहेका राजनीतिक दलको काम उत्तेजना फैलाउने नभएर समाधान खोज्ने भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारका मुद्दामा हदम्याद पनि उत्तेजना फैलाउने नभएर सच्याउने विषय भएको बताए ।

“म भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयकमा रहेको हदम्याद राख्नु हुँदैन भन्ने संशोधनकर्तामध्येको व्यक्ति हुँ,” उनले भने, “तर, मलाई कसैले सोध्दै गर्दा हदम्याद यो ऐन बन्दै गर्दा रहँदैन । पाँच वषै, १० वर्ष, १५ वर्ष होइन, हदम्याद भन्ने शब्द नै त्यहाँभित्र रहँदैन ।”

सदनभित्रै उत्तेजना फैलाउने प्रयास गरिएको उनको भनाइ थियो । “यहाँ त भन्दै जाँदा के पनि भन्न थालियो भने– अरूले पारित गर्न खोज्दै छन्, तर मेरो लासमाथि टेकेर भए पनि म रोक्छु रोक्छौँ,” थापाले भने, “यही हो भन्ने ? हामीमा कुनै जिम्मेवारी छैन ? हामी उत्तेजनाको व्यापार मात्र गरिराख्ने हो ?”

उनले भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयक ०७६ माघ ६ गते नेपाल कम्युनिस्ट पार्टीको सरकार भएको समयमा राष्ट्रियसभामा दर्ता गरिएको ख्याल गर्न पनि सबैलाई आग्रह गरे । त्यतिखेर विधेयकमा सार्वजनिक सम्पत्तिका विषयमा भएको प्रावधान कायम राख्ने र अवकाश लिएको व्यक्तिका हकमा पाँच वर्ष भनिएको उनले स्मरण गराए ।

“त्यो नियतका साथ हो वा त्यो सोचका साथ आएको थियो ?,” प्रश्न गर्दै उनले भने, “राष्ट्रियसभाले त्यसमा अलिकति मात्र सुधार गरेर थाहा पाएको मितिले पाँच वर्ष भनेको छ ।”

विधेयक ०७९ चैतमा पारित गरेर प्रतिनिधिसभामा आएको उनले उल्लेख गरे । गएको वैशाखमै संशोधन दर्ता गराइएको उनले बताए । उनले त्यस्तो संशोधन नेकपा (एमाले)का प्रमुख सचेतकसहितले दर्ता गराएको सुनाए ।

“विधेयक बनाउने तरिका यही होइन ? हामी सबैले जिम्मा लिएर भन्नुपर्ने होइन (जसले संशोधन दर्ता गराएका छौँ) ? नआत्तिनुस्, हामी छौँ, हामी एक ठाउँमा छौँ,” थापाले भने, “किनभने, यो गलत छ । हामीले जुन कन्भेन्सनमा हस्ताक्षर गरेका छौँ, युनाइटेड नेसन्स कन्भेन्सन एगेन्स्ट करप्सन । प्रस्टसँग हामीले हस्ताक्षर गरोका छौँ कि हामी यस्तो हदम्याद राख्ने छैनौँ भनेर ।”

उनले छलफल गर्नुपर्ने थुप्रै ठाउँ बाँकी रहेको बताए । नीतिगत निर्णयका नाममा भ्रष्टाचार ढाकछोप गर्ने गरिएको उनले जिकिर गरे ।

त्यस्तो नीतिगत निर्णयका आधारमा संघीयले मात्र नभएर प्रदेश सरकारले पनि उन्मुक्ति पाउनुपर्ने भनेर विधेयकमा राखिएको विषय चिन्ताजनक भएको उनले बताए । “नीतिगत निर्णयका नाममा उन्मुक्ति पाउनु हुन्न । त्यसका लागि नीतिगत निर्णय के हो भनेर छुट्टै कानुन बनाउनुपर्छ । त्योभन्दा बाँकी विषयमा मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन हुनुपर्छ,” उनले भने ।

सांसद थापाले स्वार्थको द्वन्द्व के हो भनेर कानुन बनाउनुपर्नेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग निजी क्षेत्रभित्र पस्न नहुने उनको भनाइ थियो ।

“निजी क्षेत्रलाई नियमन गर्ने निकायहरू यति बलियो बनाउनुपर्छ कि त्यहाँ केही तलमाथि भयो भने अख्तियारले समाउन सक्ने व्यवस्था गर्नुपर्छ,” उनले भने, “हामीले अख्तियारको अनुसन्धान गर्नका लागि विशेष सेवा बनाउनुपर्छ । अहिलेको अख्तियारजस्तो कर्मचारी लिएर जाने होइन ।”

उनले छुट्टै ‘गाइडलाइन’ र नियुक्तिको मापदण्ड पनि बनाउन जरुरी रहेको औँल्याए । यी सबै विषयमा आफ्नो मात्र नभएर धेरैजनाको संशोधन रहेको उनले बताए ।

संशोधनकर्ताले सान्त्वना दिनुपर्नेमा आफू मात्र छु भनेर उत्तेजना बाँड्ने प्रयास गरिएको उनले टिप्पणी गरे । “यहाँनेर पो मलाई फाइदा हुने रहेछ भनेर कुदिहाल्ने, नयाँका नाममा कुद्ने, पुरानाका नामम कुद्ने, कुदिहाल्ने ?,” थापाले भने, “त्यसको फाइदा लिइहाल्ने ? सभामुख महोदय, म नेपाली कांग्रेसको महामन्त्रीको हैसियतबाट र यो समितिको सदस्यको हैसियतबाट पनि म विश्वास दिलाउन सक्छु । म विश्वस्त पनि छु, माओवादी, एमाले रास्वपा, राप्रपा यसकै बेसमा छ भनेर ।”

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro